पोखराको रामसार क्षेत्रमा भेटिए ५३ प्रजातिका जलपन्छी

पोखरा । तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचीमा सूचीकृत ९ वटा तालमा गरिएको गणनामा ५३ प्रजातिका जलपन्छी फेला परेका छन् ।
टाइगर माउण्टेन पोखरा लज र पोखरा पन्छी समाजको अगुवाईमा ४३ जना स्वयंसेवक गणकहरूबाट यही पुस २२ र २३ गते विभिन्न १२ वटा टोलीमा विभाजित भई गरिएको गणनामा ५३ प्रजाति अभिलेख गरिएको पोखरा पन्छी समाजका अध्यक्ष एवम् क्षेत्रीय संयोजक मनशान्त घिमिरेले जानकारी दिए ।
सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरूको वितरण, तिनीहरूको अवस्थाको जानकारी लिन, संख्याको अध्यावधिक, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि गर्दै संरक्षणमा हातेमालोका लागि सन् २००४ बाट पोखरा उपत्यकामा जलपंछी गणना गरिंदै आइएको उनले बताए ।
उहाँका अनुुसार पोखरा उपत्यका भित्रका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, गुंदे, खास्टे, न्यूरेनी ताल र कमल पोखरी तथा विजयपुर खोला करिडोरमा जलपन्छी गणना गरिएको थियो ।
गणनाका क्रममा फेवातालमा ५२ प्रजातिका २ हजार १२ जलपन्छी फेला परेका छन् । त्यस्तै बेगानास तालमा १४ प्रजातिका १ सय ५८, रुपा तालमा २६ प्रजातिका ३ सय ६४, गुँदे तालमा १३ प्रजातिका ३ सय १, खास्टे र न्युरेनी तालमा १६ प्रजातिका १ सय ८९, दिपाङमा १३ प्रजातिका २ सय १७, मैदीमा १० प्रजातिका १ सय २१, कमल पोखरीमा ५ प्रजातिका १४ र विजयपुर खोलामा १० प्रजातिका ४३ संख्यामा जलपन्छी भेटिएका छन् ।
गणनाका क्रममा फेवा र दिपांग तालमा चराहरूको संख्या यस अघिकोमा केही बृद्धि भएको भने रुपा र मैदीमा बराबर तथा अन्यमा घट्दो अवस्थामा रहेको छ ।
पछिल्लो समयमा सिमसार संकुचित हुँदै जानु, मानवीय गतिविधिहरू बढ्नु, अवैध चोरी शिकार, ध्वनी प्रदुषण, वासस्थानको व्यापक विनाश, पन्छी संरक्षणमा सचेतनाको कमी आदि कारणले केही तालमा थोरै बढेता पनि अन्यमा अघिल्लो वर्षको तुलनामा धेरै घटेको उनले जानकारी दिए ।
सन् १९८७ देखि नेपालमा नियमित रुपमा हुँदै आएको एशियाली जलपंछी गणनाले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको टाइगर माउन्टेन पोखरा लजका चरा विज्ञ एवम् क्षेत्रीय संयोजक झलक चौधरीले जानकारी दिए ।
उनका अनुुसार जलपंछी गणनाको मुख्य उद्देश्य पानीमा आश्रित बसाई सराई गर्ने र पानीमा र यस वरिपरी बस्ने चराहरुको संख्या र वितरणको बारेमा जानकारी संकलन गर्नु रहेको छ । यसबाट सिमसार क्षेत्रको अवस्था, जलपंछीको प्रजनन अवस्था र जलवायु परिवर्तनको असरबारे जानकारी पाइने उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया