मैले गाउँ छाडें बा

डिल्लीप्रसाद ढुंगाना २०८१ पुष २५ गते ११:२५

कास्कीको पुरानो राजधानी कास्कीकोटबाट माछापुच्छ्रेतिर फर्केको एउटा गाउँ छ । त्यसको नाम हो धिताल । अछामी युवराज विनोदी शाहले उत्तर मध्य कालका कास्कीका घले राजालाई पराजित गरी राजा भएका रहेछन् । हाम्रा पुर्खाले पनि अछामीको ढुंगानी गाउँबाट नयाँ ठाउँको खोजी गर्दै जाँदा कास्कीका राजा कहाँ बसोबास गर्न पाऊँ भनी बिन्तीपत्र चढाए छन् । आफ्नो पुख्र्यौली थलोको पुजारीका खलकले याचना गरेकाले हालको धिताल गाउँ पूर्वमा वल्लो साँधी र पश्चिममा धम्पुससँगको पल्लो साँधीसम्म बसोबास गर्ने अनुमति पाएछन् ।

Advertisement


त्यसरी बसोबास गरेका धिताल थरका व्यक्तिको १६ औं पुस्ताको मैले यस लेखमा आफ्नो अनूभूति राख्ने जमर्को गरेको छु । गाउँघरका बुढापाकाले मलाई नामबाट त्यति चिन्दैनथे तर डडाली कान्छा पण्डितको कान्छो छोरा भनेपछि पहिचान गर्थे ।
हाम्रा पुर्खा अछामको राजदरबारका प्रमुख पुजारी थिए भन्ने कुरा विभिन्न खोज, अनुसन्धानले पुष्टि भएको छ । त्यति बेलाको समयमा पश्चिमबाट पूर्व सर्ने परम्परा थियो । त्यसैको परिणाम स्वरुप हाम्रा पुर्खा कास्की राज्यमा आइपुगे । सम्पत्ति भन्ने त त्यस्तै हो तर आफूसँग जे सीप र क्षमता छ, त्योसँगै लिएर लाने मानवीय गुण नै हो । हाम्रा पुर्खाले पनि आफूसँग भएको विद्वतासँगै लिएर आए ।


दरबारमा पुजारी हुने अवसर नपाए पनि पूरै गाउँ बिर्ता पाएपछि पुख्यौली पेशाले निरन्तरता पायो । अध्ययन आफ्नै तरिकाले चल्यो । प्राडा राजाराम सुवेदी कृति ‘कास्की राज्यको इतिहास’ भन्ने पुस्तकमा कास्कीका प्रख्यात स्थान र व्यक्तिको चर्चा गर्ने क्रममा धितालका पण्डित प्रख्यात भन्ने उल्लेख छ । तिनै प्रख्याती कमाएका पण्डितको सन्तान मैले बसाई सरी पोखरातर्फ आएको सन्दर्भ यहाँ उल्लेख गर्ने जमर्काे गरेको छु ।

Advertisement


अझै पनि गाउँमा हामीलाई बुढाघरे पुस्ताको खलक भन्ने चलन छ । बुढाघरे पण्डितमध्ये सोह्रै पुस्ताको म सबैभन्दा कान्छो हुँ । गाउँमा अझै पनि बुढाघरे स्याना मेरो नाउँ हो । जुनसुकै व्यक्तिको पनि पहिलो पाठशाला घर, परिवार नै हुने भएकाले मैले बुबाबाट नै पहिलो कखरा सिके । नजिकै प्राथमिक विद्यालय थियो । त्यही गएर आधुनिक शिक्षा हासिल गरें । कक्षा ४ मा भर्ना हुन बराह माध्यमिक विद्यालय नै जानु पथ्र्यो । त्यही भर्ना भएँ । त्यति बेला ४ कक्षाबाट अंग्रेजी विषय पढ्नु पथ्र्यो । मेरा बा मैले मैले अंग्रेजी पढेको देखेर छक्क पर्नु हुन्थ्यो । मैले पुख्र्यौली नासोका रुपमा रहेको संस्कृत नपढी फिरङुगीको भाषा अंग्रेजी पढेकोमा साह्रै नै दुःख मान्नु हुन्थ्यो ।


मलाई यो नपढ भन्न सक्नु हुन्नथ्यो तर आमा र दाइलाई यस्तो रोइलो पढाएका यस्का आमा छोराले भन्नु हुन्थ्यो । म पनि चर्को स्वरमा गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली .. भन्ने गीत गाउँथे । जन्मले बुबा बिसौं शताब्दीको हुनुहुन्थ्यो, म एक्काइसौ शताब्दीको भएर जन्में । विज्ञान र प्रविधिको विकास म्लेच्छहरुको देशबाट भएको थियो । त्यसको प्रभावहरु पनि नपर्ने कुरै भएन । ठाउँ ठाउँमा विद्यालय र कही महाविद्यालय खुलिसकेका थिए । म पनि गाउँमा माध्यमिक परीक्षा उत्तीण गरेपछि पोखरामा उच्च शिक्षा आर्जन गर्न अठार वर्षको उमेरमा पोखरा आएँ ।

Advertisement


संगते जायते फल भने झै त्यस्तै साथीहरुको संगत गरें । कलेजमा पढ्नुपर्ने कोर्स पनि पढें, पढाइको स्तरसँगै नोकरीको लागि पनि लोक सेवा आयोगबाट लिइने मुखिया, खरिदारको परीक्षामा सहभागी भएँ । फलस्वरुप प्रमाणपत्र तहको परीक्षाको अन्तिम दिन खरिदार पदको अन्तर्वार्ता दिन पुगें । परीक्षामा पास भएछु । लमजुङ गए । स्थानीय बहुमुखी विकास कार्यकर्ता एवं गाउँ पञ्चायत सचिव भन्ने झण्डै दुई लाइनको पदमा नियुक्ति पाएँ ।

जे छु, त्यसैमा सन्तुष्ट छु तर जिन्दगीमा एउटैमात्र पछुतो छ बालाई मैले सानै उमेरमा गुमाउनु पर्‍यो ।


तीन वर्षपछि स्नातक तहको अध्ययन सकिएलगतै नायब सुब्बा भए । राणाकालीन समयमा नायब सुब्बाको पद मर्यादा क्रममा दशौं स्थानमा पर्ने रहेछ । गाउँमा कान्छा पण्डितको छोरा त नायब सुब्बा भएछ भनेर अचम्म मान्थे । दैव संयोगले नै भन्नु पर्दछ गाउँमा एसएलसी पास गर्ने मेरो पुस्ताको म प्रथम थिएँ । आज पनि निवृत्तिभरण प्राप्त गर्ने म नै प्रथम भएको छु ।


बाले अंग्रेजीलाई गाई खाने विद्या भन्नु हुन्थ्यो । हाम्रो परम्परा पूर्वीय दर्शन परम्परा वेद पुराण महाभारत रामायणलाई मुल ग्रन्थ मान्ने तर अंग्रेजी अंग्रेजको मात्र हो भन्ने मान्यता थियो । दुखको कुरा पिताजीको स्वर्गबास भएको आठ वर्षपछि मैले सरकारी सेवामा प्रवेश गरें । तीस वर्षपछि अवकास प्राप्त गरें । त्यतिमात्र होइन, मैले गाउँ छाडे, बसाइसराई गरें ।


जिन्दगी सेवामा बित्यो, सधैं सेवाको भावना राख्दछु । सधैं आफ्नो लाभमात्र सोच्दिनँ र आफ्नै कुरामात्र माथि राख्न खोज्दिनँ । सबैलाई विश्वास गर्छु । कसैलाई पनि अविश्वासको दुष्टिले हेर्दिन । झुटो बोल्न जान्दिन, प्रत्येक कुरा खाँचो र सत्य बोल्छु । आजै हुने कामलाई भोलि कहिल्यै भनिनँ । कुनै पनि काम सकेसम्म समयमा नै गर्छु । मलाई कसैले सम्मान गरोस् नगरोस्, मतलब राख्दिनँ तर मैले कसैलाई सम्मान गर्नु पर्नेलाई सम्मान गर्छु ।


आआफ्नो विषयमा सबै ठ्ला छन् । आफूलाई मात्र ठूलो ठान्दिनँ र मानिस हुँ विगतमा जानेर होस वा नजानेर गल्ती, कमी, कमजोरी भए होलान र सकभर नदोहो¥याउने प्रण गर्दछु । जिन्दगी सुखदुखको संगम हो । कहिले दुख, कहिले सुख हुन्छ । त्यो स्वभाविक हो तर सुखको क्षणको मात्र कल्पना गर्दिनँ । निरास हुनुपर्ने पछुतो मान्न पर्ने केही छैन ।


सदैव स्वतः स्फूर्त रहन्छु । जाने बुझेर कसैको मन दुखाएको छैन र दुखाउनु पनि नपरोस् भन्ने ठान्दछु । अरुको धन प्रगति र उन्नति देखेर आफुलाई कमजोर ठान्दिनँ किनकि म आफूलाई कसैसँग तुलना गर्दिनँ । जे छु, त्यसैमा सन्तुष्ट छु तर जिन्दगीमा एउटैमात्र पछुतो छ बालाई मैले सानै उमेरमा गुमाउनु पर्‍यो ।


रोइलो र अंग्रेजी पढेको छोरो कस्तो हुँदो रहेछ देखाउन पाइनँ । नोकरी गर्दा घुम्ने कुर्चीमा बसेको देखाउन पाइनँ । मैले लेखेका कथा, कहानी, लेख, रचना सुनाउन पाइनँ र कहिले हिमाल, कहिले पहाड, कहिले तराई पुगें पिताजीलाई जीवन बताउन पाइनँ ।
प्रस्तुत लेख लेखिरहँदा बासँग बेलैमा गाउँ छाडे बा । अब मैले वेसीका गोठमा बस्न पदैन । बा तपाईलाई चिनाउने मसिन्डाँडाको खेत, सोत्ररे, टारी सबै बेचे । तपाईको पुख्र्यौली सम्पत्तिमध्ये आधी त स्वभावतः पाउनुपर्ने हो पाएर के गर्नु ? सबै बेचे । तपाई एक सय बिस रोपनीको धनी हुनुहुन्थ्यो म एक सय बिस मिटरको धनी भएको छु ।


बा तपाई गाउँको रैथाने हुनुहुन्थ्यो, म सहरको चारआने भएको छु । बा तपाईको छालामा मैले दुई वटा घर त बनाएको हुँ तर के गर्नु चराका चल्लाले बाआमाले बनाएको गुँडमा पखेटा लागेर उड्ने भएपछि त्यो गुडमा कहिलै फर्केर आउँदैन रे म त कहिलेकाँही जान्छु । तैपनि चरा जस्तै भएको छु बा मैले गाउँ छाडें ।


जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी भन्दथे । मेरी आमा मेरो लागि स्वर्ग समान हो । यसमा दुइमत छैन तर जन्मभूमि स्वर्ग छाडेर पर भूमिमा बसे पनि जन्मभूमिको याद आइरहन्छ र रमणियताको हिसाबले मेरो जन्मभूमिभन्दा अन्यत्र रमणीय ठाउँ विरलै होला । मेरो जन्म भूमिको सुन्दरताको वर्णन अहिले कुमारी हिमालले गरिरहेकी छन् ।


मेरो जन्मभूमि हुँदै आउने मर्दिखोलाको पानीले दिनहुँ आफूलाई शुद्ध गर्छु । मेरो जन्मभूमिको पानीले सहर नामको नरकमा बस्ने सबैको घाँटी भिजाएको छ । मेरो जन्मभूमि पानीबाट उत्पादित बिजुलीले गर्मीमा शितलता र जाडोमा न्यानो दिइरहेको छ । जताततै झलल पारिरहेकै छ । हाम्रो मर्दीखोला सेतीमा मिसिई गंगामा पुगेको छ । म त्यही सेतीको तिरमा दिनहुँ ओहरदोहर गर्छु र फेरि पनि भन्छु बा मैले गाउँ छाडें ।


कुनै पनि बाबुले छोराको कुभलो चिताउँदैन । सन्तानको सुख नै आफ्ना लागि सर्वस्व सम्झन्छ । मेरा बाले पनि मेरो भलो नै चिताउनु हुन्थ्यो । फरक यत्ति हो कि बाले देखेको, भोगेको बाटो अर्कै थियो, मैले रोजेको भनौं या समयले जुराएको बाटो अर्कै थियो । म समयले निर्देश गरेको बाटोमा हिडें, हिडिरहेको छु ।


पितृको आर्शीवादले होला हालसम्म बाटामा चिप्लिएको खुट्टामा ठेस लागेको अनुभव गरेको छैन । बरु जे जसरी भए पनि बा, बाजेको इज्जत र प्रतिष्ठा धानेको छु । म्लेच्छको देशमा सस्ता सस्ता कामदार चाहिएर हरेक वर्ष बिन्तीपत्र खुलाउँछन् डिभि नामको । उक्त पत्र हालसम्म चढाएको छैन र कहिल्यै पनि चढाउदिनँ पनि । हाम्रा बुबाका नातिनातीनीहरु पनि नेपालमै छन् कहँ गएका छैनन् । म्लेच्छको भाषा पढे पनि म्लेच्छको देशमा गएको छैन र यसलाई पनि पितृको आशीर्वाद नै सम्झेको छु ।

तपाईको प्रतिक्रिया