लन टेनिसमा सर्मपित विनोद कायस्थ

रवीन्द्र माकाजु २०८१ पुष २५ गते ११:३४

भनिन्छ लगनशीलता, निष्ठा र सर्मपण नै सफलता हात लाग्छ । आज पोखरा लन टेनिस खेल प्रतियोगिताका लागि पूर्वाधार वातावरण बनेको छ । गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले पोखरामा लन टेनिस खेलको विकासमा पुर्‍याएको योगदान कुनै कथा, कहानी झै लाग्छ ।

Advertisement

वि.सं. २०२४ शाल पौष ४ गते पोखराको महेन्द्रपुलमा जन्मिएका विनोद कायस्थ गण्डकी बोर्डिङ स्कुलमा पढ्दा उनका मिल्ने साथी थिए अनु जोन (जोर्ज जोनका पुत्र) थिए । पृथ्वीनारायण क्याम्पस हातामा बस्दथे । उनी लन टेनिसका कुशल खेलाडी हुँदा विनोदलाई पनि खेल्न सिकाए । विनोदले यस खेलको रसस्वादन गर्न थाले ।


त्यस बेला पृथ्वीनारायण क्याम्पसभित्र ठिक्कको टेनिसकोर्ट थियो । त्यस बेला टेनिस खेलाडीका रूपमा पत्रकार नारायण कार्की, रन्जित गुरुङ, वीरेन्द्रसिंह गुरुङ महेन्द्रसिंह थापा आदि क्रियाशिल थिए । पछि विनोदले आफ्नै नीजि जग्गा पस्र्याङमा टेनिसकोर्ट बनाएर आफू पनि लन टेनिस खेल्थे र अरूलाई पनि खेल्न दिन्थे ।

Advertisement

त्यहाँ उनले विभिन्न समूहका खेलाडी विच प्रतियोगिता पनि गरे । उनलाई पछि के ज्ञान भयो भने अन्तर्राष्ट्रिय टुनामेन्ट गर्नका लागि न्यूनतम छ वटा टेनिस कोर्ट आवश्यक पर्छ । उनले सोचे यसका लागि व्यक्तिगत प्रयास भन्दा सामूहिक प्रयास आवश्यक हुन्छ । उनले २०५२ सालमा लनटेनिस तदर्थ समिति गठन गरे र विधिवत रूपमा भने २०७२ सालमा अध्यक्ष भए ।

टेनिस कोर्ट बनाउन जग्गा खोज्दै जाने क्रममा पोखरा रंगशालामा २० रोपनी जग्गा पाए । २५०० वर्ग मिटरमा जग्गा सम्याउन र टेनिस कोर्ट बनाउन दाताहरु खोज्न थाले । दाताहरुले मन फुकाएर सहयोग गर्न थालेपछि उनी हौसिएर झनै ठूलो गुरु योजना बनाए । खेलाडीहरुको विदेशबाट सहयोग आउन थाल्यो ।

Advertisement

उनी बालबालिकालाई फ्रि राकेट, बल, ड्रेस डाइट दिएर टेनिसमा सक्षम बनाएर नेपालको नाम फैलाउने सोचमा छन्


उनको खेलप्रतिको लगनशीलता र निष्ठा देखेर तत्कालीन संघीय खेलकुद मन्त्री राजन केसीले नेपाल सरकार मार्फत २ करोड ३० लास खर्चेर अर्को भवन थपिदिए । पछि गण्डकी प्रदेशका खेलकुद मन्त्री दीपक मनाङेले पनि सहयोगको हात बढाए । अहिले पोखरा रंगशालाभित्र ६ वटा अन्तर्राष्ट्रियस्तरका टेनिस कोर्ट छ भने दर्शक दीर्घाका लागि ३ वटा प्यारापिट बनाइएको छ । अर्को २ वटा हार्ड र मिनी कोर्ट थपिएको छ । अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका टुर्नामेन्ट भइरहेका छन् ।

पोखरामा लन टेनिस खेल्न, तालिम लिन चीन, कोरिया आदिबाट खेलाडी आइरहेका छन् । केही समय अगाडि माछापुच्छे« वैक पोखरा ओपन टुनामेन्टमा सहभागी हुन १०० जना देश, विदेश खेलाडी पोखरा भित्रिएका थिए भने इन्टरनेसनल टुर्नामेन्टका सहभागी हुन २०।२२ देशका डेढ सय भन्दा विदेशी खेलाडी पोखरा आएका थिए । अहिले यो खेलका लागि पोखरा हब बनेको छ । विदेशी खेलाडीहरु स्टार होटलमा करिब दुई हप्तासम्म बस्ने गरेको कायस्थ बताउँछन् । प्राय उनी हरेक दिन टेनिस खेल्न जान्छन् ।


पोखरेली टेनिस खेलको माध्यमबाट देशकै गौरव बढाएको उनको धारणा छ । उनको योगदानको नेपाल सरकारले उचित कदर गर्न नसके पनि गत २०२५ नववर्षमा भएको पोखरा सडक महोत्सवमा खेलकुदको माध्यमबाट पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानबारे कदरस्वरूप सार्वजनिक सम्मान गरिएको थियो । उनी यो खेलको विकासका लागि निकै दत्तचित्त छन् ।

उनले नजिकका बस्तीका बालबालिकालाई फ्रि राकेट, बल, ड्रेस डाइट दिएर यो खेलमा सक्षम बनाएर नेपालको नाम फैलाउने सोचमा छन् । उनको विचारमा यो खेलका कारण भविष्य उज्जल छ । अहिले प्रशिक्षकले राम्रै आम्दानी गरिरहेका छन् । खेलाडीका लागि विदेशमा समेत राम्रो अपरच्युनिटी भएको उनको दावी छ ।


कायस्थ पोखरा अक्सिजन कम्पनीका डाइरेक्टर हुन्, भने पिसिएम कलेजका पनि डाइरेक्टर हुन् । उनको विवाह २०५० सालमा वविता तुलाचनसँग भएको थियो भने कायस्थ दम्पतीका दुई पुत्र छन् । उनी टेनिस खेलप्रति सन्तुष्ट छन् र जीवनभर यही खेलको विकासका लागि प्रण पनि गर्दछन् ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया