नागीधार महोत्सव माघ ४ देखि

पोखरा ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा माघ ४, ५ र ६ गते नागीधार महोत्सव आयोजना हुने भएको छ ।
नागीधार गाउँको विकासमा सक्रिय सामाजिक संस्थाहरू नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरा लगायतका संस्थाहरूको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।
महोत्सवको सन्चालन संयुक्त मुल आयोजक समितिका संयोजक तथा मादी–८ का जनप्रतिनिधि ओमप्रकाश गुरुङले जानकारी दिए ।
नागीधार गाउँ र त्यस आसपासका क्षेत्रको पर्यटन प्रवर्धन, खेलकुद प्रवर्धन, संस्कृति संरक्षण र मनोरञ्जनको उद्देश्यले महोत्सव आयोजना गरिएको नेदा तमु सेवा समाज पोखराका अध्यक्ष राजकुमार गुरुङले बताए ।
महोत्सवमा खेलकुद प्रतियोगिताहरूमा खुल्ला सेभेन ए साइड पुरुष फुटबल, खुल्ला पुरुष छेलो फाल्ने, र पुरुष तथा महिला रसी तान्ने समावेश हुनेछ । सांस्कृतिक कार्यक्रमहरूमा खुल्ला सामुहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँका आमा समूहको नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृस्न चलित्र नाच, र चर्चित गायक तथा गायिकाको प्रस्तुति रहनेछ ।
त्यस्तै, शैक्षिक कार्यक्रमहरूमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूको लागि खुल्ला श्रुति लेखन प्रतियोगिता र कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूको लागि मादी–८ को समृद्धि र पर्यटन प्रवर्धनका लागि सम्भावनाबारे खुल्ला वक्तृत्व कला प्रतियोगिता राखिएको छ, सबुदुम्हर्सो तमु समाज नागीधारका अध्यक्ष होम बहादुर गुरुङले जानकारी दिए ।
महोत्सवलाई सफल पार्न विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ । महोत्सव सञ्चालनका लागि अनुमानित ७ लाख रुपैयाँ खर्च हुने सबुदुम्हर्सो तमु समाज नागीधारका सचिव नरेश गुरुङले जानकारी दिए ।
३ दिनसम्म चल्ने उक्त महोत्सवमा ५ हजार जना दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिताहरूमा सहभागिताका लागि फुटबलमा ३० टिम, सामुहिक नृत्यमा १५ टिम, रसी तान्नेमा १० टिम र छेलो फाल्नमा धेरै जनाको सहभागिता रहने आशा गरिएको खेलकुद संयोजक तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले बताए ।
पोखरा–१३ भद्रकाली काँहुखोलाबाट भैंसे, भगवतीटार, थुम्सीकोट, गहते, मिजुरे, पाखुरीकोट गाउँ हुँदै ३५ किमीको दुरीमा नागीधार गाउँ सवारी साधनबाट सजिलै पुग्न सकिने नागीधार सिर्जनशील युवा क्लबका उपाध्यक्ष बसन्त गुरुङले जानकारी दिए ।
पोखरा–२६ विजयपुरबाट कालिका, सौरे, भगवतीटार भएर पनि पुग्न सकिन्छ, भने पोखरा–३१ बेगनासबाट सौरे, भगवतीटार थुम्सीकोट भएर पनि नागीधार गाउँ पुग्न सकिन्छ । पोखरादेखि थुम्सीकोटसम्म २० किमि सडक पिच छ भने बाँकी १५ किमी कच्ची छ । हाल नागीधार र पाखुरीकोट गाउँमा केही होमस्टे र स्थानीय होटेल पनि सञ्चालनमा छन्।
तपाईको प्रतिक्रिया