रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश (अदालतकाे आदेशसहित)

समाधान संवाददाता २०८१ पुष २५ गते १८:०१
फाइल तस्बिर

पोखरा । सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । कास्की जिल्ला न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

लामिछानेविरुद्ध पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । कात्तिक ३ गते काठमाडौंमा पक्राउ परेका लामिछानेलाई त्यसको भोलिपल्ट पोखरा ल्याएर प्रहरीले अनुसन्धान थालेको हो । रविबाट सूर्यदर्शन सहकारी ठगीमा १ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल गर्नुपर्ने मागदाबीसहित मुद्दा दायर भएको छ ।

लामिछानेसहित गोर्खा मिडियाका पूर्वसञ्चालक जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, सूर्यदर्शन सहकारी ठगीमा जोडिएको लीला पछाईं, सहकारीका सञ्चालक समिति सदस्य कृष्णबहादुर गुरुङ समेतलाई विपक्षी बनाएर मुद्दा दायर भएको थियो ।

सूर्यदर्शनसहित देशैभर जिबी राईको समूहले ५ सहकारी सञ्चालन गरी अर्बौं हिनामिना गरेको संसदीय विशेष समितिले निष्कर्ष छ । लामिछाने प्रबन्ध निर्देशक रहँदा गोरखा मिडिया नेटवर्कमा देशका विभिन्न भागमा रहेका ५ सहकारीबाट ६५ करोड ५४ लाख रकम गएको संसदीय छानबिन समितिले औंल्याएको छ ।

प्रहरी प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको थियो । ६५ जनाविरुद्ध अनुसन्धान भएकोमा ५१ जनालाई प्रतिवादी बनाउन प्रहरी प्रतिवेदनले राय दिएको छ । विपक्षी बनाइएकामध्ये प्रहरीको हिरासतमा ५ जना र ९ जना पुर्पक्षका लागि थुनामा छन् । प्रहरीले प्रतिवादी बनाएकामध्ये ३७ जना अझै फरार छन् ।

Advertisement

तपाईको प्रतिक्रिया