धरौटी बुझाएर ८४ दिनपछि हिरासतमुक्त भए रवि लामिछाने

समाधान संवाददाता २०८१ पुष २५ गते २०:३३

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरौटी बुझाएर हिरासतबाट मुक्त भएका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपित उनलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी हिरासतमुक्त भएका हुन् ।

आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम ६५ लाख रुपैयाँ बुझाएर लामिछाने रिहा भएका हुन् । उनीमाथि काठमाडौंमा समेत मुद्दा दायर भएकाले आफै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुने बताएका छन् ।

Advertisement

गोरखा मिडियाको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाताबाट रकम जम्मा भएको देखिएकाले उनी दोषी होइनन् भन्न सकिने आधार नभएको अदालतको आदेशमा उल्लेख छ ।

आदेशमा भनिएको छ, ‘प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर बाट सन् २०२१ को जनवरी २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी कार्यविधि संहिताको ०६८ र ०७२ समेतको आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैंक जमानत लिई वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू ।’

Advertisement

तपाईको प्रतिक्रिया