विन्ध्यवासिनी माविमा पुरस्कार वितरण
पोखरा ।
पोखरा १६, बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । विद्यालयको ७८औं वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद सप्ताहअन्तर्गत विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुन सफल विद्यार्थीलाई बिहीवार पुरस्कार वितरण गरिएको खेलकुद संयोजक निर्मल भण्डारीले जानकारी दिए ।
विजयी विद्यार्थीलाई कार्यक्रममा पूर्वमन्त्री कुमार खड्का, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य मेहरमान नेपाली, विमला अधिकारी, ईन्दु भट्टराई लगायतले सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे । कार्यक्रमको क्रममा पूर्वमन्त्री खड्काले विद्यालयको शैक्षिक सफलता लोभलाग्दो रहेको भन्दै शैक्षिक सिकाइको अनुभव आदानप्रदान गर्न सुझाव दिए ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले सबैको समन्वयबाट नै विद्यालयले सफलता हासिल गरेको बताए । कार्यक्रममा विद्यार्थीले नेपालमा प्रचलित विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । दुई दिनसम्म भएको कार्यक्रमको सञ्चालन लेखा प्रमुख भीमबहादुर गायकले गरेका थिए ।
वार्षिकोत्सवकै पूर्वसन्ध्यामा शुक्रबार विद्यालयले पाँचौं संस्करणको रक्तदान कार्यक्रमसमेत गर्ने भएको छ । रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग, विद्यालयमा गठित रेडक्रस सर्कल र रेडक्रस सोसाइटी पोखरा १६ उपशाखाको सहयोगमा विद्यालय परिसरमा बिहान हुने कार्यक्रमको तयारी पूरा भएको संयोजक शिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
पोखरामा देखिएको रगतको अभावलाई केही हदसम्म न्यूनीकरण गर्न सहयोग पुर्याउने हुँदा सो कार्यक्रममा सहभागी भइदिन विद्यालयले आग्रहसमेत गरेको छ । सोही दिन विज्ञान तथा प्रविधि प्रदर्शनीसमेत गरिने बताइएको छ ।
शनिबार वार्षिकोत्सवको मुख्य कार्यक्रम हुने र सो कार्यक्रममा विभिन्न अक्षयकोषको पुरस्कार वितरण, अक्षयकोषदाता, उत्कृष्ट शिक्षक, कर्मचारी सम्मानसहित सांस्कृतिक कार्यक्रम गरिने विद्यालयले जनाएको छ । करिब १ हजार ५ सय विद्यार्थी अध्ययनरत सो विद्यालय सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट विद्यालयको रूपमा नेपाल सरकारबाट सम्मानित भइसकेको छ ।
तपाईको प्रतिक्रिया