सूर्यचन्द्र विकास समाजद्वारा संस्कृत माविलाई सहयोग
पोखरा । सूर्यचन्द्र विकास समाज पोखरा ५ मालेपाटनले शुक्रबार संस्कृत माध्यमिक विद्यालयलाई शैक्षिक सहयोग गरेको छ । पोखरा १ बगरमा भएको कार्यक्रममा स्मार्ट टेलिभिजन, गुरुकुल पोशाक र विद्यार्थी प्रोत्साहनको लागि शैक्षिक सामग्री प्रदान गरिएको समाजका अध्यक्ष कमला गौतमले जानकारी दिइन् ।
पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष सहारा प्रधानले समाजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गरेको बताए । उनले विद्यालयलाई गरेको सहयोग प्रति वडा शिक्षा समितिको तर्फबाट आभार प्रकट गरे ।
पोखरा महानगरपालिका वडा नम्बर ५ का पूर्व वडाध्यक्ष धनबहादुर नेपालीले समाजले विद्यालयलाई सबैले सहयोग गर्नु पर्ने सन्देश दिने कार्यक्रम गरेको चर्चा गरे । उनले सहयोगले सामाजिक र शैक्षिक संस्थाबीच सम्बन्धको सुरुवात गरेको उल्लेख गरे । पोखरा ५का वडा सदस्य कल्पना भुंवाजी क्षत्रीले दुबै संस्थाले एक अर्काको परिपुरकको रुपमा काम गर्नु पर्ने सुझाव दिइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बाल विकास केन्द्रदेखि कक्षा १२सम्म संस्कृतमा पढाई भएतापनि विद्यालयले आधाुनिक शिक्षालाई जोड दिएको जानकारी दिए । विपन्न तथा दुर्गम क्षेत्रका ६० विद्यार्थीलाई गुरुकुलका निशुल्क पठन पाठनको व्यवस्था गरेको उल्लेख गर्दै उनले विद्यालयको आर्थिक पारदर्शिताको कारण सबै क्षेत्रको सहयोग रहेको दाबी गरे ।
विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण सिग्लेलले विस १९५८मा स्थापना भएको विद्यालयमा शैक्षक गुणस्तर अभिवृद्धि हुनुका साथै विद्यार्थी संख्या बढेको जानकारी दिए । उनले २सय १० जना विद्यार्थीले पठन पाठन गर्ने विद्यालयमा ६० लाखको अक्षयकोष खडा गरेको बताए ।
सूर्यचन्द्र विकास समाजका महासचिव महासचिव हेमराज भण्डारीले वार्षिक कार्ययोजना अन्तर्गत विद्यालयलाई सहयोग गरेको जनाए । ‘राष्ट्र, राष्ट्रियता, हाम्रो स्वाभिमान, परिवर्तन र विकास हाम्रो अभियान’ भन्ने नाराका साथ समाजले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया