लेखनाथ महोत्सव जारी, महोत्सव बन्यो भेटघाटको थलो

समाधान संवाददाता २०८१ पुष २६ गते १९:१६

लेखनाथ । पुस १८ देखि लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो बनेको छ । बर्सेनि आयोजना हुने महोत्सवमा विभिन्न जिल्लाबाट महोत्सव हेर्न आउनेका कारण आफन्त र साथीभाइको भेट हुने गरेको छ ।

Advertisement

पोखरा ३२ निवासी भरत ओझाले १४ वर्षपछि पुरानो साथी भेटेको सुनाए । पोखरा २७ का कृष्ण रानाभाटले ४८ सालमा भेटेका आफनोसाथी कृष्ण ठकुरीलाई अहिले महोत्सवमै भेटे । अरु दर्शकसमेत स्कुल पढ्दाका साथी र टाढाका आफन्त भेटेर खुसी छन् ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सव खालि महोत्सवका लागि मात्र नभएर आत्मीयता र भेटघाटको थलो पनि बनेको बताए । महोत्सवमा चर्चित दोहरी कलाकारबाट दोहोरी प्रस्तुति, हास्यव्यंग्य कलाकारबाट हास्य प्रस्तुति, पप कलाकारबाट पप कर्न्सटका साथमा मोडर्न नृत्यहरु प्रस्तुत भइरहेका छन् ।

Advertisement

शनिबार दोहोरीतर्फ बाल कलाकार सुप्रिम मल्ल ठकुरी, आशा बिसी, जीवन दाहाल, शिवहरि ढुंगाना, कृष्ण अखेली, रमा राना, माया केसी लगायतको प्रस्तुति रहनेछ भने बेलुका लाइभ कन्सर्टमा राजु लामा (मंगोलियन हर्ट)को प्रस्तुति रहने कलाकार व्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए ।

महोत्सव शुक्रबार २७ हजार दर्शकले अवलोकन गरेका छन् भने ७५ लाखको कारोबार भएको महोत्सवकी प्रचारप्रसार संयोजक जानुका पराजुलीले जानकारी दिइन् । हालसम्म १ लाख ५० हजारले अवलोकन र ४ करोड ५० लाख कारोबार भएको छ ।

Advertisement

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवका सहआयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन् । प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड छन् ।

तपाईको प्रतिक्रिया