पोखरामा स्काइ डाइभिङ सुरु

समाधान संवाददाता २०८१ पुष २६ गते १९:२०

पोखरा । पोखरामा नेपाली प्रशिक्षकले स्काइ डाइभिङ सुरु गरेका छन् । विभिन्न मुलुकमा स्काइ डाइभिङमा काम गरी अनुभव लिइसकेका युवाले स्काइ डाइभिङ थालेका हुन् ।

Advertisement

यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भए पनि यस पटक नेपाली टोलीले मात्रै स्काइ डाइभिङ गराउने छन् । सिम्रिक एयर र इन स्काइ डाइभ कम्पनीले पोखरामा स्काइ डाइभिङ सुरु गरेका हुन् ।

शुक्रबारदेखि २१ जनवरीसम्म स्काइ डाइभिङ हुने इन स्काइ डाइभ कम्पनीका सञ्चालक तथा प्रशिक्षक एलिश थापाले जानकारी दिए । यस अवधिमा स्काइ डाइभिङ गर्नका लागि कम्पनीले भिआइपी र डिलक्स गरी २ प्याकेज बनाएको थापाले बताए । भिआइपीको १ लाख १५ हजार रूपैयाँ र डिलक्सको ९५ हजार रूपैयाँ पर्ने उनले जानकारी दिए ।

Advertisement

विदेशीलाई भने थप ५ हजार लाग्ने उनले बताए । स्काइ डाइभका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको छ । स्काइ डाइभका लागि पोखरा विमानस्थलबाट हेलिकप्टर उडान गरी पोखरा २३ लौराकको १३ हजार फिट आकाशबाट डाइभ गर्ने छन् ।

माथिबाट डाइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिने छन् । यो कार्यक्रमपछि यात्रुको माग आएमा कम्पनीले नियमित रुपमा स्काई डाइभिङ गराउने योजना बनाएको थापाले बताए । एलिसलाई सुवास थापा, मनिष हिराचन, आशीष थापा र नेपालको पहिलो महिला स्काइडाइभर यसोदा केसीले साथ दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया