पोखरा । पोखराको शान्त बस्ती ठूल्ढुंगामा बस्ने माइकल चौधरी र सविन तामाङका लागि जीवन कहिल्यै पहिलेजस्तो भएन । एउटा सामान्य दिन, खेल्न निस्किएका उनीहरूको जीवनमा आएको अप्रत्याशित घटनाले उनीहरूको बाल्यकाललाई सधैँका लागि परिवर्तन गरिदियो । खेलौना ठानेर उठाएको वस्तु विस्फोटक पदार्थ रहेछ । त्यो विस्फोटले उनीहरूको शरीरमा मात्र होइन, मनमा पनि गहिरो चोट पुर्यायो । अहिले पनि उनीहरू त्यो भयानक क्षणलाई बिर्सन सक्दैनन् । आँखा चिम्लिएर हेर्दा त्यो विस्फोटको आवाज कानमा गुन्जिन्छ, शरीरमा चोटका डामहरू झल्झल्झल गर्छन् । त्यसदिनको घटनाले उनीहरुलाई सुत्नसमेत मुस्किल बनाइदिएको छ ।
२०७९ फागुन ९ गते । सार्वजनिक बिदाको दिन । विद्यालय बन्द भएपछि पोखरा ३३ ठूल्ढुंगास्थित नदी किनारामा बस्दै आएका १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ खेल्न निस्केका थिए । दिउँसोको १२ बजेको थियो । नदी किनारासम्म पुग्ने सोचेका उनीहरु नजिकैको आर्मी तालिम केन्द्र गाउँखर्कमा पुगेका थिए । त्यहाँ पुग्दा क्रिकेटको बलस्तो खेलौना भेटे । खेलौना भेटेपछि उनीहरु हर्षित भए, अनि अचम्म माने । ‘गोलो’ ‘चेप्टो’ आकारको त्यो खेलौना माइकलले गोजीमा हाले । घरमा पुगेपछि खेलाउने सल्लाह भयो । तालिम केन्द्रमा केही समय टहलिए । त्यसपछि साढे १ बजे घर फर्केका थिए । घरमा फर्केपछि त्यो चप्टो आकारको वस्तुमाथि काँटी गाड्न खोज्दा एक्कासी पड्केको माइकल सुनाउँछन् । ‘काँटी ठोकिरहेका थियौं । पट्..पट्..पट् गर्न लागेपछि मैले हातले हुत्याए । फालिसकेको त्यो बारुदको छिर्काले लाग्दा म र सविनलाई चोट लाग्यो,’ माइकलले भने ।
नेपाली सेनाको तालिम केन्द्रमा भेटिएको खेलौनाजस्तो वस्तु घर लगेपछि विष्फोट हुँदा घाइते २ बालक अहिले पनि त्रसित छन्
घटनापछि सबिनले पोखरा छाडे । मामाघरमा बसेर पढ्दै आएका सविनलाई पोखराबाट धादिङ पुर्याइएको हो । उनको शरीरमा बारुदको छिर्काले ठाउँठाउँमा चोट लागेको छ । अहिले पनि खत छन् । ठूलो चोट नलागेकाले उनी ३ दिनमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट डिस्चार्ज भएका थिए । मामाघरमा बस्दै आएका उनलाई त्यसघटनापछि धादिङ पठाइएको हो । समाधानसँग कुरा गर्दै सविनले भने, ‘स्कुल त पोखरामै राम्रो थियो । यहाँ त राम्रो छैन । तर, बाबा आमाले बस्न दिनुभएन ।’
सविनका हजुरबुबा वुद्धिमान तामाङ नातिलाई जोगाउनै मुस्किल भएपछि धादिङ पठाएको बताउँछन् । ‘म त बालुवा चल्न नदीमा आएको थिए । घरमा बम पड्क्यो भन्छ । मैले आशा नै मारेको थिए । घरमा पनि जान सकिनँ । अस्पताल भेट्न पनि जान सकिनँ । रगत नै रगत भएको थियो भनेपछि म डराए । त्यसकै छोरी सविनकी आमालाई पठाएको थिए ।’
आर्मी तालिम केन्द्र नजिक र खुला भएकाले नातिलाई घर पठाएको उनी सुनाउँछन् । ‘कहिले के गर्ने हो । कहाँ पुगेर के चोट लाग्ने हो भनेर म त घर पठाए,’ उनले भने ।
माइकल भने पोखरा ३३ ठूल्ढुंगामै छन् । त्यहिँ सुकुम्बासी बस्तीमा हुर्के बढेका उनको घाउ भने अझै आलै छ । बेलाबेला बल्झिने माइकल बताउँछन् । ‘ खोइ निको त हुँदैन होला । दुखिरहन्छ । डाक्टरहरुले घाउ बल्झिन सक्छ भन्छन् । पेटको मासु हालेको हो । पेटमा पनि दुख्छ । हात पनि दुख्छ,’ माइकल भन्छन् । त्यसबेला डाक्टरले माझीऔंला काटेर फाल्नुपर्ने सुझाएका थिए । तर, अन्तिममा पेटको मासु राखेर औंलाको अप्रेसन भएको उनले बताए । ‘३७ दिन त अस्पताल बस्यौं । भएको पैसा पनि त्यो बेला सकियो । अहिले पनि घाउ दुख्छ । डर लाग्छ । स्कुल पनि पढ्न पाइनँ,’ माइकलले भावुक देखिए ।
त्यो घटनापछि माइकलको जीवन मोडियो । उनले कक्षा ९ मा स्कुल छाड्नुपर्यो । ‘जन्मदर्ता चाहिने रैछ । मेरो जन्मदर्ता पनि छैन । बुबा/आमाको नागरिकता नहुँदा जन्मदर्ता बनाउन सकिएन । सरहरुले जन्मदर्ता अनिवार्य भनेपछि स्कुल जान पाइनँ,’ माइकलले भने । माइकलका बुबा ११ वर्षको हुँदा पोखरा आएका थिए ।
महेन्द्रगुफामा उनले जीवनका ४ दशक बिताए । बिवाह पोखरामै भयो । परिवारका अन्य सदस्यका बारेमा थाहा नभएको माइकलका बुबा बताउँछन् । एकल परिवार अहिले पोखरा ३३ ठूल्ढूंगामा छ । तर, नागरिकता छैन । बुबाको नागरिकता नहुँदा आफूले स्कुल पढ्न नपाएको उनी सुनाउँछन् ।
माइकलका बुबा मिलच चौधरी भन्छन्, ‘यसले दुख्यो भन्छ् । अस्पताल पनि १ पटक लगेको हो । डाक्टरले ढिला आइस् भन्नुभयो । अहिले केही गरेको छैन । दुख्यो मात्र भन्छ । औंला दुख्यो भन्छ । के गर्ने केही थाहा छैन ।’ माइकल र सविनले त्यस दिनको घटनापछि आफूहरुलाई शारीरिक चोटसँगै मानसिक रूपमा असरको गरेको बताउँछन् । त्यस घटनापछि न उनीहरुलाई स्थानीय सरकारले घटना बारे सोधेको छ । न त उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा बुभेको छ । घटनाले उनीहरूको चेतना र भावनामा चोट पुगेको भेटेपछि प्रष्ट हुन्छ ।
सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया