सारंगी तारले जोडेको जिन्दगी

धनबहादुर गुरुङ २०८१ पुष २७ गते १७:१६

पोखरा ।

Advertisement

‘कुकुरलाई कुतीकुती बिरालोलाई सुरी
तिम्रो, मेरो माया बस्यो दाबाटोमा कुरी
रेशम फिरिरी, रेशम फिरिरी’

बुद्धि परियारका शब्द अनि सुन्दर श्रेष्ठ, द्वारिकालाल जोशी र उनै परियारको स्वरमा रहेको गीतमा भाका मिलाउन सुरु गरिहाल्छन्, बलराम र टीकामाया । टुक्कामा भनिए जस्तै छ, उनीहरुको माया, प्रिती, बिहे र जीवनसमेत ।

कास्कीका बलराम र भोजपुरकी टीकामायाको २०३६ साल छेक संयोगले मुग्लिनमा भेट भयो । कास्कीको लेखनाथदेखि सारंगीको धुन सुनाउँदै पूर्व लागेका बलराम र घुमघामसँगै दर्शनका लागि पश्चिम आएकी टीकामायाको परिवारको बास बस्ने थलो एकै ठाउँमा पर्‍यो ।

त्यही भेट नै पछि विवाहमा परिणत भएको बलरामले विगत सम्झन्छन् । ‘म पोखराबाट गीत गाउनकै लागि सारंगी भिरेर सिक्किम जान भनेर हिडेको थिएँ । ठाउँ ठाउँमा भुल्दै जाँदा मुग्लिनमा बास पर्‍यो,’ बलरामले भने,‘त्यही गाउने बजाउने क्रममा मेरो बुढी(टीकामाया) उसको आमा र दाइ काठमाडौं दर्शन गर्नका लागि आउनुभएको रहेछ । उहाँहरु पनि मुग्लिनमै बास बस्ने भएपछि हाम्रो भेट भयो ।’

Advertisement

टीकामायाको परिवार काठमाडौंबाट फर्केपछि पूर्व नै जाने अनि आफू पनि त्यतै जाने भएकाले एक दिन मुग्लिनमै पर्खेको सम्झनाको बलराम सुनाउँछन् । ‘मैले काठमाडौं घुमेर दर्शन गरेर आउनुहोस् भन्दा दाइ हिरालालले तपाई यहाँ बस्नुहोस्, हामी भोनि नै आउँछौं अनि सँगै सिक्किम जाउला भनेपछि म कुरेर बसें,’ उनले भने, भोलिपल्ट ३ बजेतिर उहाँहरु मुग्लिन आइपुग्नुभयो । त्यसको २ दिनपछि हेटौंडा गयौं । त्यहाँ ३ दिन बसेर चारै जना पूर्व लागियो ।’

सिक्किममै टीकामायाका भाइ भेट भएपछि ३ महिनासँगै उनीहरु घुमे । दाजुभाइले टीकामाया, आमा र आफूलाई छाड्दा जिन्दगीले अर्को मोड लिएको बलराम बताउँछन् ।‘मेरो बुढी, आमा र मलाई दाइ अनि भाइले हामी (बलराम र टीकामाया) बिचमा माया बसेछ । अब आमा र बहिनीलाई पाल्छ होला भनेर हिड्नुभयो,’ उनले भने, ‘हामी २ जनाकै उमेर १३/१३ वर्षको थियो । हामीबिच प्रेम बिहे भयो । अनि दुवै मिलेर सिक्किममै सारंगी बजाउने, गाउने गरियो ।’

यसरी संयोगले दोबाटोमा भेटिएर जोडिएको सम्बन्ध जिन्दगीको हरेका आरोह अवरोह एकसाथ छ । ‘त्यसपछि दाइसँग भेट भयो । राम्रै बोलचाल भयो र अहिलेसम्म पनि भइरहन्छ । त्यो बिचमा धेरै पटक सिक्किम नेपाल गरियो,’ उनले भने,‘खर्साङ (सिक्किम) मा काम गरेर ५ वर्षपछि घर आएँ । ३ महिना पछि फेरि उतै गएर ८ वर्ष बिताएँ । त्यसपछि यता (लेखनाथ) आएर बस्न थालेँ । सासूआमा मसँगै बस्न थालेको १८ वर्षमा मृत्यु भयो । जिन्दगीका धेरै उतारचढाव छन् ।’


उनीहरुले अहिलेसम्म सारंगी र त्यसबाट निस्कने धुनभन्दा अझ सुमधुर सम्बन्ध स्थापित गराइसकेका छन् । सिक्किम जाँदादेखिको संगीतको सम्बन्ध पोखराका हरेक गाउँबस्ती, कुना, कन्दरा र कुइनेटामा अहिले पनि उस्तै छ । उमेर ५८ वर्ष टेकिसक्दासम्म पनि उनीहरू लोकसंगीतमा अझै सक्रिय छन् । गन्धर्वको जोडी दोबाटोले छुट्ने र छुटाउनेमात्र होइन, जिन्दगी जोड्ने काम गर्छ भन्ने यो जोडीले देखाएको छ ।

टीकामायाले त महिलाले सारंगी बजाउनु हुँदैन भन्ने परम्परागत मान्यताविरुद्ध विद्रोह गरेकी थिइन् । साँढे चार दशकअघि सारंगी बजाएर गाउँघर डुल्दै उनले समाजलाई चुनौती दिएकी थिइन् । बलराम पनि श्रीमतीलाई साथ दिन्थे । गन्धर्व दम्पत्ति त्यस समुदायका प्रभावशाली प्रतिभा हुन् । उनीहरू कुशल सारंगी बादकमात्र नभएर सुमुधुर स्वरका धनी पनि छन् ।

चुनौतीका पहाड छिचोलेरअघि बढेकी टीकामायाले रेडियो नेपालमा गीत रेकर्ड गराउन पनि भ्याइन् । उनी गन्धर्व समुदायबाट रेडियोमा गीत रेकर्ड गर्ने पहिलो महिला बनिन् । ३० को दशकमा टीकामायाको स्वरमा ‘अमिलीको रस’ बोलको गीत रेकर्ड भएको थियो । त्यसपछि दोभानमा बिजुली दाइ साइँला, नौडाँडामा बस गीत गाएकी थिइन् ।

बलरामको स्वरमा पनि ३ ओटा गीत रेकर्ड भएका छन् । बलरामले रेडियो नेपालमा पहिलो पटक ‘काँचो सुन्तला, नटिपे यो चाला, टिपे कुन चाला ?’ बोलको गीत रेकर्ड गरेका थिए । गन्धर्वले दम्पत्तिले छिमेकी मुलुक भारतको खर्साङ रेडियोमा पनि सारंगी बजाएका थिए ।

अहिले पनि दम्पत्ति सारंगी बजाउँदै गाउँघर डुल्छन् । बलराम टाढा टाढासम्म पुग्छन् भने टीकामाया आफ्नै बस्ती वरपरमात्र हिड्छिन् । केही समयअघि पाठेघरमा समस्या आएपछि उनको उपचार गरिएको थियो । त्यसैले गाउँदै टाढा टाढा जान उनलाई गाह्रो हुन्छ । उनीहरूका ३ छोरी र छोरा छन् ।

सास रहँदासम्म सारंगी बजाउन र गाउन नछोड्ने उनीहरुको प्रतिवद्धता छ । लेखनाथको कुनामा बसेर गन्धर्व पेशा जोगाउन ठाउँ ठाउँमा कक्षा दिँदै हिडेको बलरामब बताउँछन् । पछिल्लो समय आधुनिक गीतसंगीतको मोह बढ्दा परम्परागत संगीत ओझेलमा परेको छ । लोक बाजाको संरक्षणमा तल्लीन दम्पत्ति राज्यको नजर लोकगीत, संगीत र बाजामा नपरेकोमा दुखित पनि छन् ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया