गुरुङ पर्यटन व्यवसायी संघ नेपाल गण्डकीमा किसमकुमारी

समाधान संवाददाता २०८१ पुष २७ गते १७:३५

पोखरा । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन) गण्डकी प्रदेशको चौथो अधिवेशनले पुनः किसमकुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

Advertisement

समितिको प्रथम उपाध्यक्षमा सूर्यबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा तुलबहादुर गुरुङ, सचिवमा विष्णु गुरुङ (एकता), कोषाध्यक्षमा मोहनराज गुरुङ र सह कोषाध्यक्षमा गंगा घले चयन भएका छन् ।

त्यसैगरी, सदस्यमा राजेन्द्र गुरुङ, कन्याप्रसाद गुरुङ, राजु गुरुङ, जगनराज गुरुङ, रुद्रकाजी गुरुङ, जीतमान गुरुङ, दिनेश गुरुङ, पदमबहादुर गुरुङ, रत्न गुरुङ र मधुमाया गुरुङ छन् ।

अधिवेशनका लागि जिटिनका संस्थापक केन्द्रीय अध्यक्ष कुलबहादुर गुरुङको संयोजकत्वमा जिटिन गण्डकीका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ र संस्थापक उपाध्यक्ष हर्कबहादुर गुरुङको सहभागितामा निर्वाचन समिति गठन गरिएको थियो ।
नव निर्वाचित पदाधिकारीलाई संघले गुरुङ सम्पदा पदमार्गबारे विस्तृत जानकारी दिएका थिए र सप्री ल्होसारका अवसरमा आयोजित विशेष समारोहमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले खादा र अविर लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा मन्त्री गुरुङले प्राकृतिक र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर त्यसबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका थिए । उनले गुरुङ पर्यटन व्यवसायी संघले अघि सारेको गुरुङ सम्पदा मार्ग पर्यटकीय विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको प्रवद्र्धन र विकासका लागि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

Advertisement

संघीय सांसद मनबहादुर गुरुङले गुरुङ सम्पदा पदमार्गलाई पदयात्रा पर्यटनको महत्त्वपूर्ण विकल्पका रूपमा प्रस्तुत गर्दै यसलाई पर्यटनको क्षेत्रका लागि महत्वपूर्ण अवसर बन्नसक्ने बताएका थिए । उनले गुरुङ समुदायका व्यक्तिहरूले शैक्षिक र अन्य विभिन्न दृष्टिकोणबाट सक्षम बनिनुपर्ने जोड दिएका थिए । गुरुङ पर्यटन व्यवसायी संघ गण्डकीका संस्थापक अध्यक्ष बोबरजंग गुरुङले संघले सम्पदा पदमार्गलाई पर्यटनको क्षेत्रमा प्रभावकारी ढंगले प्रवद्र्धन गर्ने उद्देश्यमा जुटेका छन् ।

संघका अध्यक्ष किसमकुमारी गुरुङले सम्पदा पदमार्गको प्रवद्र्धन र संरक्षणका लागि बिभिन्न तीन चरणमा काम गर्ने योजना रहेको बताएकी छिन् । उनले तीनवटै तहका सरकार र सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने कुरा स्पष्ट पारेकी छन् ।
गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले गुरुङ सम्पदा पदमार्गको पदयात्रा पर्यटनमा ठूलो सम्भावना रहेको बताउँदै यसको प्रवद्र्धन र विकासका लागि मन्त्रालयबाट निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका अवसरमा सम्पदा पदमार्गको प्रवद्र्धनमा विशेष योगदान पुर्याएका रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको थियो । उनले २५ हजार २५ रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका थिए । उक्त अवसरमा जिटिन नेपालका कार्यसमिति सदस्य एवं अन्वेषण विज्ञ सञ्जीव गुरुङलाई पनि सम्मानित गरिएको थियो ।

संघका अध्यक्ष किसमकुमारी गुरुङको सभापतित्वमा र महासचिव तुलबहादुर गुरुङको सञ्चालनमा भएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष विकास गुरुङले गरेका थिए ।

कार्यक्रममा जिटिन केन्द्रका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, मादी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष देवीजंग गुरुङ, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष शोभा गुरुङलगायत व्यक्तिहरूले गुरुङ सम्पदा पदमार्गको सम्भावनाबारे विचार व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया