मजदुर इलाकाको संयुक्त शाखा अधिवेशन

पोखरा । नेकपा (एमाले) मजदुर इलाका कास्कीको संयुक्त शाखा अधिवेशन शनिबार भएको छ । संयुक्त अधिवेशनले इलाका अन्तर्गतका यातायात, निर्माण, पर्यटन र अन्य गरी ६ शाखा कमिटीको नयाँ नेतृत्व चयन गरेको इलाकाका अध्यक्ष विष्णुबहादुर पराजुलीले जानकारी दिए ।
अधिवेशनले एमाले पर्यटन शाखा कमिटीका अध्यक्ष अमनसिंह दुलालको नेतृत्वमा सर्वसम्मत रुपमा ५ सदस्यीय कमिटी निर्माण गरेको छ । कमिटीको सचिव प्रेमराज दाहाल छन् । कमिटीको उपाध्यक्ष, उपसचिव र बाँकी सदस्य पछि मनोनयन गर्ने अध्यक्ष पराजुलीले बताए ।
एमाले निर्माण मजदुर (क्युपेक) शाखा कमिटीको अधिवेशनले अध्यक्ष चन्द्रबहादुर मोक्तानको नेतृत्वमा ५ सदस्यीय कमिटी निर्माण गरेको छ । कमिटीको सचिवमा विशाल चौधरी (श्रीप्रसाद) रहेका छन् ।
एमाले यातायात मजदुर ढुवानी शाखाको अध्यक्षमा टीकाराम अधिकारी र सचिवमा सन्तोष अधिकारी निर्विरोध भएका छन् । अधिवेशनले ५ सदस्यीय कमिटी चयन गरेको छ । एमाले यातायात मजदुर अन्तर्गतको स्कुल महानगर, नगर बस महानगर शाखा कमिटीको अधिवेशनले अध्यक्ष विनोदप्रसाद पौडेल, सचिव महेन्द्र पराजुली सहित ५ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।
नेकपा (एमाले) यातायात मजदुरको माइक्रो, स्थानीय मिनीबस, बेगनास, ट्याक्सी शाखा कमिटीको अधिवेशनले केशव खतिवडाको नेतृत्वमा ५ सदस्यीय कमिटी चयन गरेको छ । कमिटीको सचिव भानुभक्त सुवेदी छन् । एमाले मजदुर इलाका कमिटी अन्तर्गतको समग्र टे्रड युनियन, ब्युटिसियन, इम्प्रेसन, प्याब्सीयु, स्वास्थ्य र ओम्स लगायतको अन्य शाखा कमिटीको अधिवेशनले ५ सदस्यीय कमिटी चयन गरेको छ ।
शाखा कमिटीको अध्यक्ष मोतीप्रसाद पोखरेल, सचिव रमा रानाभाट छन् । कमिटीको उपाध्यक्ष, उपसचिव र बाँकी सदस्य पछि मनोनयन गरिने मजदुर इलाका कमिटीका अध्यक्ष पराजुलीले जनाए ।
नेकपा (एमाले)का केन्द्रीय कमिटीका सदस्य तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का राष्ट्रिय कमिटीका पूर्व उपाध्यक्ष चूडामणि जंगलीले अधिवेशन उद्घाटन गर्दै मजदुर इलाका एमालेको अधारभूत तहको कमिटी भएको बताए । उनले राज्यका सबै क्षेत्रमा मजदुरको सहभागिताका लागि पार्टीले ध्यान दिने उल्लेख गरे ।
एमाले जिल्ला कमिटीका सदस्य तथा मजदुर इलाका इन्चार्ज नन्दलाल अधिकारीले एमालेले जितेको पालिकामा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि इलाकाले दबाबमूलक कार्यक्रम गर्ने जानकारी दिए ।
संयुक्त शाखा अधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य रुद्रबहादुर खत्री, प्रदेश कमिटीका सदस्य विष्णुबहादुर खत्री, एमाले जिल्ला कमिटी कास्कीका सदस्य विजय केसी, मजदुर इलाका कमिटी कास्कीका निवर्तमान अध्यक्ष तुलसीप्रसाद सुवेदी लगायतले समसामयिक राजनीतिमा एमालेको भूमिकाको बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया