निजी क्षेत्र अर्थतन्त्रको ऊर्जाः प्रदेश प्रमुख

समाधान संवाददाता २०८१ पुष २७ गते १७:३९

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोत रहेको बताएका छन् । अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभामा भट्टले निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्ने उल्लेख गरे ।

Advertisement

‘आफ्नो दक्षताको क्षेत्रमा नाफा कमाउने उद्देश्यले वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने सरकार बाहिरको क्षेत्र निजी क्षेत्र होे । निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत हो । निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा पनि हो,’ प्रदेश प्रमुख भट्टले भने ।

आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिँदै उनले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव रहेको बताए । लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले सहज वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनुपर्नेमा जोड दिए ।

सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको र पछिल्लो तथ्यांक अनुसार नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा निजी क्षेत्रको योगदान करिब ८१ प्रतिशत तथा कुल रोजगारी सिर्जनामा ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको उल्लेख गर्दै उनले यस कारण नेपालको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको सुनाए ।

‘नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने यात्रा सहज तुल्याउन सबै पक्षको सहकार्य आवश्यक छ । यद्यपि, निजी क्षेत्रलाई संस्थागत सामाजिक जिम्मेवारी निर्वाह गराउन पनि सरकारले नियमन गर्नुपर्ने हुन्छ,’ उनले भने । एकै प्रकृतिका व्यवसायी एकीकृत भई उद्योगबाट उत्पादित एवं आयातीत सामग्रीहरू सर्वसुलभ रुपमा उपभोक्तासमक्ष उपलब्ध गराउने उद्देश्यका साथ २०६४ सालमा स्थापना भएको अधिकृत विक्रेता संघ पोखराले लक्ष्य अनुरुप काम तथा गतिविधि गर्दै आएकोमा आफू विश्वस्त रहेको भट्टको भनाइ छ ।

Advertisement

सभामा राज्यलाई सबैभन्दा बढी कर तिरिरहँदा ट्राफिक प्रहरीबाट दुःख दिने गरेको व्यवसायीहरुले गुनासो गरे । व्यवसायीहरुले राज्यले ढुवानी सेवाका लागि प्रयोग हुने सवारी करमा विशेष छुटको व्यवस्थापन गर ेपनि सडकमा भने निकै दुःख दिइरहेको बताएका हुन् ।

नेपाल वितरक महासंघका अध्यक्ष हरिराज पन्तले अधिकृत बिक्रेताको पेशा मर्यादित पेशा रहेको सुनाउँदै गुणस्तरमा लाग्न सुझाव दिए । राज्यले देशमा बेरोजगार बढिरहेको बताउँदा आफूहरुको क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएको उनको भनाइ छ । संघका पूर्व अध्यक्ष गोविन्द कर्माचार्यले अधिकृत बिक्रेताहरुले आपूर्ति व्यवस्थापनमा ठूलो योगदान दिदैँ आएका कारण सहर र गाउँमा सामानको मूल्य एकै भएको बताए ।

पोखरा इलेक्ट्रिक व्यवसायी संघ कास्की अध्यक्ष चिन्तामणि खरेलले व्यवसाय गर्दा सडकमा ट्राफिक प्रहरीको ज्यादति धेरै भएको दाबी गरे । नेपाल वितरक महासंघ गण्डकी प्रमुख बद्री ढुंगानाले कानुनी झन्झटले निकै सास्ती खेप्न बाध्य भएको सुनाए । आफूहरु राज्यलाई कर तिरिरहेको तर राज्यबाट सद्यैँ अपहेलित हुनु परेको उनको भनाइ छ ।

अधिकृत विक्रेता संघ पोखराका अध्यक्ष मनोज कुमार श्रेष्ठले अधिकृत बिक्रेताहरुलाई एकै ठाउँमा ल्याउनका लागि २०६४ सालमा संस्थाको स्थापना भएको जानकारी दिए । उनले एकै प्रकृतिका व्यवसायीलाई व्यवसायसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै व्यवसायमा आउने समस्याको न्युनिकरण गर्न संस्था अग्रस्थानमा रहेको सुनाए ।
सचिव दिलिप कुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा हिमालय एभरेष्ट इन्सुरेन्स प्रालि गण्डकीका प्रमुख शिव सुवेदी, अधिकृत बिक्रेता संघका निवर्तमान अध्यक्ष सुरेश अधिकारी र नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष माधव रेग्मीले धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया