स्याङ्जाली सम्पर्क सदनको ३०औं स्थापना दिवस मनाइयो
पोखरा । स्याङ्जाली सम्पर्क सदनको कार्यालय परिसरमा संस्थाको ३०औँ स्थापना दिवस वृहत सरसफाई, दीप प्रज्वलन, शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको छ ।
२०५० साल पुस २७ गते मालेपाटनस्थित वागवानी केन्द्र (तत्कालीन रेशमखेती रहेको स्थान) मा वनभोज कार्यक्रम आयोजना गरी २६ जना स्याङ्जाली कर्मचारीहरूबाट सुरु गरिएको सदनले २०५१ साल असार १० गते जिल्ला प्रशासन कार्यालय कास्कीमा आधिकारिक रूपमा संस्था दर्ता गरेको थियो।
सदनले मानव सेवाका क्षेत्रमा बेवारिसे मृत्यु भएकाहरूको दाहसंस्कार, असहाय बिरामीहरूलाई सहयोग, रक्तदान, मुस्ताङचोकमा प्रतीक्षालय निर्माण, फिल्म च्यारिटी शो, गण्डकी अस्पतालमा बिरामी कुरुवा खाट र पानीको फिल्टर वितरण, स्वास्थ्य शिविर, पारिवारिक वनभोज, नयाँ वर्षको शुभकामना आदानप्रदान, तीज विशेष कार्यक्रम, नेपालीहरूको महान् चाड दशैँ, तिहार, ल्होसार लगायतका पर्वहरूको शुभकामना आदानप्रदान, स्याङ्जाली सम्पर्क सदनका आजीवन सदस्यहरूको दुःखमा भेटी तथा भेटघाट जस्ता कार्य गर्दै आएको छ।
२५औँ वर्षको अवसरमा स्याङ्जालीहरूको पहिचानसहितको वृहत सांस्कृतिक कार्यक्रम, रजत महोत्सव एवम् चिट्ठा वितरण गरी अर्थ सङ्कलन गरी सदनको आर्थिक सबलीकरण जस्ता महत्त्वपूर्ण कार्यको थालनी गरिएको थियो। पूर्वअध्यक्षहरूको पहलमा सदनको पोखरा १७, छोरेपाटन शीतलचौतारी सामुदायिक भवन परिसरमा सुविधा सम्पन्न भवन निर्माण गरिएको छ।
संस्थाका कार्यवाहक अध्यक्ष धर्मराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सदनका आजीवन सदस्य प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले सदनले गरेको गतिविधि समग्र जिल्लावासीहरूको हितका लागि रहेको र सदनले स्याङ्जालीहरूको मिलन गराउने तथा दुःखमा साथ दिँदै आएको बताए। उनले एकता दिवसको अवसर पारेर सबैलाई समेटेर अगाडि बढ्न शुभकामना व्यक्त गरे।
सदनका पूर्वअध्यक्ष एवम् सल्लाहकार प्रेमप्रकाश गौतमले लुकेका प्रतिभा तथा स्याङ्जाका पर्यटन, धार्मिक तथा पुरानो इतिहासलाई समेटेर सदनले कार्य गर्नुपर्ने कुरामा जोड दिए। कार्यक्रममा अन्तरसमाजहरूको तर्फबाट भिरकोट पोखरा सामिप्य सदनका अध्यक्ष श्यामप्रसाद रेग्मी, सल्लाहकार प्रहरी नायव उपरीक्षक जगतबन्धु पोखरेल, आमा समूहको तर्फबाट शीतलचौतारी आमा समूहकी अध्यक्ष मीना पोखरेल, समग्र टोलको तर्फबाट शीतलचौतारी टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद पोखरेल, धार्मिक तथा पर्यटकीय स्थलबाट काला भैरव पुरातात्त्विक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङ लगायतका व्यक्तिहरूले सदनको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे।
सदनका महासचिवले भावी कार्यक्रम तथा विभिन्न समाजमा आबद्ध सम्पूर्ण स्याङ्जालीहरूको छाता संस्थाको रूपमा स्थापित गराउने र अन्तरसमाजको भवन कार्यालयहरू समेत यही भवनबाट चलाउने व्यवस्था मिलाउने बताए। सदनको भवनलाई व्यवस्थित बनाई भुइँतलामा कुलानन्द शर्माको संयोजकत्वमा सार्वजनिक पुस्तकालय र ज्येष्ठ नागरिक सेवा सञ्चालनमा ल्याइएको छ।
उक्त सेवा विस्तार गरी आवश्यकता र औचित्यता हेरी विभिन्न विधामा राखिएको अक्षयकोषबाट थप सुविधा सम्पन्न गराउने, साथै हाल भइरहेको भवनलाई व्यवस्थित गरी तला थप गरी स्याङ्जा जिल्लाबाट पोखरा आई बसोबास गर्ने विभिन्न समाजमा आबद्ध सम्पूर्ण समाजहरूलाई यस सदनले स्याङ्जालीहरूको छाता संस्थाको रूपमा स्थापित गराउने र अन्तरसमाजको कार्यालयसमेत यही भवनबाट चलाउने व्यवस्था मिलाउने योजना रहेको प्रतिवेदन पेस गरे।
सदनको भवनलाई व्यवस्थित बनाई तल्लो भुइँतलामा कुलानन्द शर्माको संयोजकत्वमा सार्वजनिक पुस्तकालय, ज्येष्ठ नागरिक सेवा सञ्चालनमा ल्याइएको छ। उक्त सेवा विस्तार गरी आवश्यकता र औचित्यता हेरी विभिन्न विधामा राखिएको अक्षयकोषबाट थप सुविधा सम्पन्न गराउने तथा स्याङ्जाको उत्पादन, प्रशोधन र बजारीकरणमा सहजीकरण गर्ने, जस्तै कृषि, पशुपालन तथा पर्यटन जस्ता कार्यमा कार्यक्रम ल्याउन, विज्ञ व्यक्तिलाई सम्बन्धित क्षेत्रमा लैजाने र उत्पादनमा वृद्धि गर्ने जस्ता कार्यमा सहजीकरण गर्ने योजना रहेको प्रतिवेदनमा उल्लेख थियो।
कार्यक्रममा स्वागत उपाध्यक्ष गोविन्द काफ्ले र कार्यक्रम सञ्चालन महासचिव शिवबहादुर थापाले गरेका थिए।
तपाईको प्रतिक्रिया