कर्मचारी अभावले पोखराका स्वास्थ्य संस्था नै बन्द हुने अवस्था

कर्मचारी अभावले खोप अभियान प्रभावित हुने चिन्ता

समाधान संवाददाता २०८१ पुष २८ गते ४:३६

पोखरा । सरकारले आगामी माघ २२ गतेदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप लगाउने तयारी गरेको छ । देशभर करिब १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिने लक्ष्य सरकारको छ । तर, पोखरामा भने उक्त खोप लगाउने अभियान नै प्रभावित हुने देखिएको छ । पोखरा महानगरपालिकाको गत मंसिर २८ मा सम्पन्न विशेष नगर सभाले करार कर्मचारी हटाउने र तत्काल नयाँ कर्मचारी पदपूर्ति हुने अवस्था नरहेकाले खोप अभियान प्रभावित हुने भएको हो ।

Advertisement

विशेष नगर सभाले श्रेणीविहीन बाहेकका करार सेवाका कर्मचारीको म्याद पुस मसान्तपछि थप नगर्ने निर्णय गरेको थियो । नगर सभाले शहरी स्वास्थ्य केन्द्रमा १०४ जना, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा १८ जना, स्वास्थ्य महाशाखामा १४ जना गरेर १३६ जनाको दरबन्दी स्वीकृत गरेको छ । त्यसमध्ये हाल ५६ जना कार्यरत छन् । अर्थात् महानगरको हालसालै स्वीकृतभन्दा ८० जना कर्मचारी अहिले पनि अभाव छ । अहिले नै कर्मचारी अभाव रहेको र अर्को व्यवस्था नहुँदै ५६ जना प्राविधिक कर्मचारी रिक्त हुने भएपछि खोप अभियान नै प्रभावित हुने चिन्ता स्वास्थ्य महाशाखाका कर्मचारीमा छ । ‘नगर सभाले गरेको निर्णय ठिक हो । तर संस्था नै बन्द हुने भयो । खोप लगाउने अभियान नै प्रभावित हुने भयो । यो त साह्रै अनुत्तरदायी कुरा आयो,’ स्वास्थ्य महाशाखाका एक कर्मचारीले भने ।

विश्व क्यान्सर दिवस (फेब्रुअरी ४)को सन्दर्भ पारेर कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिने सरकारको तयारी छ । पोखरामा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राको संख्या करिब २३ हजार छ । करारका कर्मचारी बिदा भएपछि अन्य पालिकाबाट काज सरुवा गरेर स्वास्थ्यका कर्मचारी पोखरा ल्याउने योजनामा मेयर धनराज आचार्य छन् । माघदेखि पद रिक्त हुने र प्रदेश किताबखानामा पद दर्ता नभएकाले खोप लगाउने समयसम्म नयाँ कर्मचारी ल्याउन पनि सम्भव नरहेको ती कर्मचारीले बताए ।

पोखरा महानगरपालिकाका ५१ स्वास्थ्य संस्थामा ३ सय ४८ जना (संघीय सरकारबाट स्वीकृत १ सय ७८ जना र महानगरपालिकाको आन्तरिक स्रोतबाट थप १ सय ७० (१ सय ४० जना प्राविधिक, बाँकी कार्यालय सहयोगी) जना गरेर ३४८ जनाको दरबन्दी छ । यसमा समायोजन ऐन २०७५ अनुसार संघीय सरकारबाट समायोजन हुँदादेखि नै मेडिकल अफिसर, स्टाफ नर्स, एनेस्थेसिया सहायक, रेडियोग्राफरसहित १५ वटा पद रिक्त छन् । यसरी हाल महानगरको स्वास्थ्य संस्थामा करिब २ सय जना कार्यरत छन् । पुस मसान्तमा करार नथपिएपछि १ सय ६३ जना कर्मचारीले पोखराभित्रका स्वास्थ्य संस्था धान्नुपर्ने हुन्छ । जुन भनेको महानगरलाई आवश्यक कर्मचारीभन्दा आधा हो ।

महानगरपालिकाको प्रशासन महाशाखाले गत मंसिर २८ को नगर सभाको निर्णयबारे स्वास्थ्य महाशाखालाई गत पुस २१ मा पत्रमार्फत जानकारी गराएको छ । त्यसमा कार्यालय सहयोगीबाहेक करारका कर्मचारीलाई थप २ महिनाको पारिश्रमिक बराबरको सुविधा दिएर बिदा दिन भनिएको छ । ‘पुरानोलाई हटाएर बाहिरबाट कर्मचारी ल्याउने भन्ने पनि सुनेका छौँ । लोकसेवाले पनि तत्काल कर्मचारी दिने भन्ने हुँदैन । यसरी त हाम्रा २५ वटा स्वास्थ्य केन्द्रमा खोप अभियानको बेला ताला लगाउनुपर्छ,’ उनले भने ।

Advertisement

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले करार नवीकरण नहुँदा स्वास्थ्य संस्थामा समस्या हुने देखिएको स्वीकार गरे । तर, ती कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय भइनसकेको उनले बताए । ‘विशेष नगर सभाले म्याद नथप्ने निर्णय भइसकेको छ । त्यसले गर्दा स्वास्थ्य संस्थामा समस्या हुन्छ भन्ने कुरा छ,’ उनले भने, ‘यही गर्ने भन्ने निर्णय भएको छैन । लोक सेवा आयोगसँग कर्मचारीको अवस्था के छ हेर्छौं ।’ लोकसेवा आयोगले पदपूर्ति गर्न नसक्ने भएमा अन्य के गर्न सकिन्छ भन्ने छलफल गरेर विकल्पमा जाने प्रवक्ता तिम्सिनाले बताए ।

तपाईको प्रतिक्रिया