होस्टेल टु ब्यारेक एन्ड ब्यारेक टु होस्टेल

यथार्थ लामिछाने २०८१ पुष २८ गते ११:५४

नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं. ५० जुनियर डिभिजन तालिमका लागि २०८१ असारमा गण्डकी बोर्डिङ स्कुलमा इच्छुक विद्यार्थीहरुको नाम संकलन भयो । मैले पनि नाम टिपाएँ । सय दिने उक्त तालिमका लागि छनोटमा परे । असार १४ गतेदेखि स्कुलमै अतिरिक्त समयमा तालिम सञ्चालनमा रह्यो । अन्तिम चरणको बिस दिने तालिम नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दलमध्ये तालिम शिक्षालय हात्तिखोर ब्यारेकमा सम्पन्न भयो । सोही समय र सन्दर्भमा कक्षा नौमा पढ्ने म चौध वर्षीय बालकको उक्त ब्यारेक बसाइ केन्द्रित बिस दिनका दैनिकी यसरी प्रस्तुत गरेको छु ।

Advertisement

२५, कात्तिक २०८१
गण्डकी बोर्डिङ स्कुल, पोखरा लामाचाौरबाट विहान ७ः ३० मा हिँडेको बस दिउसो ३ः ३० मा राष्ट्रिय सेवा दल, मध्यतालिम शिक्षालय हात्तीखोरमा छिर्‍यो । पहिलो दिनै स्वास्थ्य जाँच भयो । मौखिक रिपोर्ट तुरुन्तै आयो । ‘सबै ठिक छ’ भन्ने सुन्दा शरीरमा स्फूर्ति नबढ्ने कुरै भएन । एक सैनिक जवानले ब्यारेक घुमाइ त्यहाँको आधारभूत जानकारी दिए । खाना पछि स्लिपिङ ब्यागभित्र छिरियो । ब्यागमा सुत्दा बाक्लो ज्याकेट र टोपी लगाएर सुते जस्तै अनुभूति भयो ।

२६ कात्तिक २०८१
विहान सबेरै उठे । प्रथम प्रवचनमा सहभागिताका लागि हलमा लगियो । करीब ६०० जना रहन सक्ने क्षमताको रहेछ हल । त्यसपछि खुकुरी ड्रिलका लागि चौरमा गयौं । रुखहरुले घेरिएको चौर नै मेरो कर्मथलो बन्यो । खाजापछि तेक्वान्दो खेल्यौं । निकै थाके । यत्तिकै सधैं कसरी गर्ने होला त ? साँझ हलमा विभिन्न विद्यालयको तर्फबाट आ—आफ्नो नृत्य प्रस्तुत भयो । हाम्रो प्रस्तुति मध्यम रह्यो ।

२७ कात्तिक २०८१
‘सबै जना उठ ! उठ !’ भन्ने आवाजले बिहानै ब्युँझायो । साथीहरुसँगै मैदानमा गए । पहिला सिकेका विविध कलाको परीक्षा भयो । धेरै काम गर्न नपरेकाले त्यति थाकेको महसुस गरिनँ । साँझपख गत वर्षका क्याडेटहरुको भिडियो रेकर्ड प्रस्तुति हेर्‍यौँ । हामीले गर्दै आएको भन्दा त त्यो प्रस्तुति निकै आकर्षक लाग्यो ।

२८ कात्तिक २०८१
हिजो बाँकी रहेको एरोविक्सको परीक्षा आज गराएँ । दिउसो स्पोर्टको सुरुआती परेडको तयारी भयो । त्यो परेडले निकै थकायो । साँझ खाएको मासुभातले भने दसैंको झल्को दियो ।

Advertisement

२९ कात्तिक २०८१
घाम नउदाउँदै म उठिसकेको थिए । चौर पुरै कुइरोले ढाकेको थियो । विहान स्वास्थ्य शिक्षाको कक्षा भयो । दिउसो खेलको सुरुआत । आजको खेलकुद प्रतियोगितामा दिनभर दर्शक नै बनियो । हिजो स्वादिष्ट लागेको यस्तै खाना आज रुच्दै रुचेन । भोजन भन्दा भोक मिठो त्यसै भनिएको रहेनछ ।

३० कात्तिक २०८१
विहान एउटा मात्र कक्षा भयो । प्राय हामीलाई कक्षा भन्दा खेल नै मन पथ्र्यो । दिउसोभर खेल हुने जानकारीले मन हुरुक्कै भयो । आजको फुटबल र भलिबल प्रतियोगितामा हाम्रो विद्यालय विजयी भयो । जिबिएस परिवारका लागि उपलब्धिमूलक रह्यो ।

१ मंसिर २०८१
व्यारेकभित्रको व्यवहारसँग बानी परिसकेको थिएँ । बिहान उठ्ने, कवाज खेल्ने, नाच्ने । तुलनात्मक रुपमा बढी खेले पनि थकाइ भने झन कम लाग्न थालेको थियो । त्यसैले होला साँझको साँस्कृतिक कार्यक्रममा मज्जैले नाचियो ।

२ मंसिर २०८१
बिहानी व्यामाय स्वरुप कपडा धोएँ । खाजापछि कवाजका लागि मैदानमा गयौं । खाना लगत्तैको लेक्चर लागु पदार्थ केन्द्रित थियो । दुव्र्यसनिले ल्याउने दुर्घटनाबारे प्रशस्तै जानकारी पाइयो । त्यसपछि निकै प्रतिश्पर्धात्मक भलिबलको फाइनल हेरियो । स्पोर्टस च्यानलमा जस्तै प्रतिस्पर्धात्मक खेल मैले आँखै अगाडि पहिलोपटक देखेको थिएँ ।

३ मंसिर २०८१
आजदेखि पास आउट परेडको अभ्यास सुरु भयो । दीक्षान्तको दिन गरिने कवाजलाई पास आउट परेड भनिँदोरहेछ । खानापछिको लेक्चर त्यति आकर्षक लागेन । त्यसपछि सुरु भयो, फुटबलको सेमिफाइनल । उक्त खेलमा जित हासिल गर्दै हाम्रो विद्यालय फाइनलमा प्रवेश गर्‍यो ।

४ मंसिर २०८१
आज एकै दिन दुई महत्वपूर्ण कार्यक्रमहरु थिए । एकातिर तालिम सम्बन्धि लिखित परीक्षा । र, लगत्तै फुटबलको फाइनल । म पनि एक खेलाडी । जाँगर र जोशले भरीपूर्ण थिए । परीक्षा मात्र गरियो होला । तर फुटबलमा सर्वोत्कृष्ट हुन सफल भयौं । एक दुई गोल त मेरै डिफेन्समा रोकिएको लाग्छ ।

५ मंसिर २०८१
ब्यारेकमा गोजीमा हात राखी हिँड्नु सजायलाई आमन्त्रण गर्नु जस्तै थियो । घडी नहेरेको पनि १० दिन भएछ । सधैंको झैं विहान पास आउट परेडको अभ्यास भयो । खानापछि त्यही गतिविधि दोहोर्‍यायौं । टन्टलापुर घाममा परेड खेल्न अल्छि लाग्यो । त्यहि कारण सामान्य भाटा पनि खाइयो । मनमनै सेवा दलको शिक्षार्थी मात्र नभएर नेपाली सेनाको सदस्य नै भएको अनुभुति हुन थालेको थियो । साँझको सांस्कृतिक कार्यक्रमको अन्त्यमा भोलि हाइकिङ हुने सूचना आयो । सबै रमाए ।

६ मंसिर २०८१
‘सल्ला धुपैले, सानु निन्द्रामा ब्युँझायो तिम्रो रुपैले’ भनेझैं हाइकिङले रातमा पटक पटक ब्युँझायो । विहान सात बजे यात्रा सुरु भयो । बाटोको रमणीय दृश्य र सामूहिक गानले यात्रालाई थप रोचक बनायो । हप्तौंको थकाई आज एकै दिनमा हरायो ।

७ मंसिर २०८१
कसैले मलाई हिजो र आजमा फरक छुट्याउ भन्यो भने त्यो मिति मात्र हुन्छ । आजको दिन पनि नियमित गतिविधि मै वित्यो । आखिर तालिम भनेको एउटै जस्ता गतिविधि नियमित अभ्यास गर्दै बानीका रुपमा विकास गर्नु नै त हो नि ।

८ मंसिर २०८१
खाजा लगत्तै पाउस आउट परेडको अभ्यास भयो । आज सबैले राम्रो प्रस्तुति गरे । त्यसैले केही समय ब्रेक पनि पायौं । त्यो ब्रेक मैले व्यक्तिगत सरसफाइमा सदुपयोग गरे । साँझको साँस्कृतिक कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारीहरु दर्शकका रुपमा पाएर हामी हर्षित भयौं ।

९ मंसिर २०८१
आज उल्लेखनीय त्यस्तो केही भएन । होस्टेल फर्कने उल्टो दिनगन्ति सुरु भइसकेको थियो । तर होस्टेलबाट घर जाने दिनको भने कुनै निश्चितता थिएन । जे होस् विभिन्न विद्यालयका शिक्षार्थीहरु वीचको बृहत परिवारमा रमाएकै थियौं ।

१० मंसिर २०८१
आजका लागि अरु दिनको भन्दा छुट्टै पोषाक उपलब्ध थियो । ‘डिजिटल चुस्ता’ भनिने यस्तो पोशाक लगाउँदा आफू बढुवा भएको झैं लाग्यो । थप बलियो भएको र जिम्मेवारी बढे झैं लाग्यो । परेडपछि दिउसो केही बेर ब्रेक मिल्यो । अनि सुरु भयो पुरस्कार वितरण समारोह । फुटबलमा प्रथम हुुँदा मेडल र ट्रफी पायौं । पुरस्कार लिन जाँदा साथीहरु बेग्लै जोशमा देखिन्थे ।

११ मंसिर २०८१
सबेरै उठ्ने बानी परिसकेको थियो । विहानको अभ्यास पछि आज फेरि रेस्ट पायौं । ब्रेकको सदुपयोग सधै एकै तरिकाले हुन्थ्यो । नुहाउने, कपडा धुने र बुट पोलिस गर्ने । नृत्यको पोसाक लगाएँ । आज नृत्य तयारीको अन्तिम दिन थियो ।

१२ मंसिर २०८१
साढे पाँच भित्र उठ्नुपर्ने अनिवार्यता आज थिएन । छ बजे सम्म सुत्न पाउनु भनेको असामान्य घट्ना जस्तै थियो । खानापछि पाएको ब्रेकमा कपडा धोएँ । केही बेर अध्ययनमै रमाए । बुट चम्काउनु त दैनिकी नै थियो । आज साँझ साँस्कृतिक कार्यक्रम नहुँदा चिनीबिनाको खल्लो चिया पिएजस्तै भयो ।

१३ मंसिर २०८१
आजको हाम्रो परेड तालिमको अन्तिम अभ्यास थियो । दिउँसो खाना पछिको ब्रेकमा म निदाएछु । कतिपय साथीहरुले त त्यही बखत भोलि होस्टेल फर्कनका लागि सामान मिलाइ सकेछन् । म पनि सामान मिलाउन तिर लागे । त्यसपछि नृत्य पोसाकमा सजिएर रिर्हसलका लागि गयौं । भोलिको प्रस्तुति कस्तो हुने हो भन्ने चिन्ताले समयमै निदाउन सकिनँ ।

१४ मंसिर २०८१
शायद यो बिस दिनहरुका मध्ये सबैभन्दा जाँगरिलो भएर आज उठेँ । हाम्रो यतिका दिनको मिहिनेत आज नेपाली सेना पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी श्री सन्तोष बल्लभ पौडेलको विशेष उपस्थिति बिच औपचारिक प्रदर्शन गर्‍यौं । सकरात्मक पृष्ठपोषणले हौसला मिल्यो । आफ्नै घर जस्तो लाग्न थालेको यो ब्यारेक आज चटक्कै छाड्यौं । हात्तिखोर ब्यारेकमै खाना खाएर बाह्र नबज्दै हिँडेका हामी स्कुलको खर्चमा तनहुँमा खाजा खाई होस्टेल पुग्दा ७ बजेको थिएन ।

यथार्थ गण्डकी बोर्डिङ स्कुल, पोखरामा कक्षा ९ मा पढ्छन ।

तपाईको प्रतिक्रिया