नेपाल टेलिकमले प्रति शेयर ३० रुपैयाँ लाभांश वितरण दिने

पोखरा ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रति सेयर ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
साधारण सभामा करिब ९१.६२ प्रतिशत शेयरधनीहरूको उपस्थिति थियो । कम्पनीका अध्यक्ष राधिका अर्यालले भनिन्, ‘हामीले २ करोड ३० लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा दिँदै रु ४२ अर्ब ११ करोड आम्दानी र रु ६ अर्ब २३ करोड मुनाफा आर्जन गर्न सफल भएका छौं ।’
उनले आगामी दिनहरूमा कम्पनीले डिजिटल नेपालको अवधारणामा सहयोग पुर्याउन दुर्गम क्षेत्रहरूमा फोरजी/एलटिई सेवा विस्तार गर्दै, साथै, उच्च गतिको एफटिटिएच (फाइबर टु द होम) सेवाको विस्तार गर्ने योजना बनाएको पनि जानकारी गराइन् ।
साथै, उनले परम्परागत सेवाहरूमा आधारित प्रविधि प्रतिस्थापन गर्न अनुसन्धान र विकासलाई प्रोत्साहन गर्दै कम्पनीले शेयरधनी र ग्राहकहरूको सुझाव र प्रतिकृयालाई ध्यानमा राखेर सेवामा सुधार गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
सभाले आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरिसकेको छ । आ.व. २०८१/८२ का लागि चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र प्रकाशजंग थापालाई लेखापरीक्षकको रुपमा नियुक्त गरिएको छ ।
कम्पनीले लाभांश रकम एनएमबी बैंकमार्फत शेयरधनीहरूलाई वितरण गर्ने व्यवस्था मिलाएको छ नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया