मिडिया मिसनको प्रतिवेदन
पत्रकार गोपाल दाहाललाई धम्की : प्रेस स्वतन्त्रमागिको आक्रमण

पोखरा । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययनको क्रममा प्रमुख हर्कराज राईका गतिविधिहरूले प्रेस स्वतन्त्रता र प्रशासनिक पारदर्शितामा गम्भीर चुनौती उत्पन्न भएको निष्कर्ष निकालेको छ ।
मेयर राईका गतिविधि समेटेर पत्रकार दाहालले खोज पत्रकारिता केन्द्रका लागि रिपोर्ट तयार गरेपछि उनीमाथि भौतिक आक्रमणको धम्कीसमेत आएको थियो । मिडिया मिसनका सदस्यद्वय कमल रिमाल र शंकर खरेल, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का, जिल्ला शाखा सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र वरिष्ठ पत्रकार हर्ष सुब्बाले यो प्रतिवेदन तयार पारेका हुन् ।
प्रतिवेदनमा प्रमुख राईले आफ्नो आलोचना गर्ने पत्रकारहरूलाई गाली बेइजती गर्दै, समाचार लेख्नेहरूलाई धम्की दिन र भौतिक आक्रमणसमेत गर्ने कार्य गरिरहेको उल्लेख गरिएको छ । उनले युट्युवरहरूलाई प्रयोग गरेर पत्रकारलाई लक्षित गर्दै समाचार लेख्न रोकेका छन् ।
यसका साथै, नगर प्रमुखले पत्रकारहरूसँग सम्पर्कमा आउन नचाहने र सामाजिक सञ्जालमार्फत चुनौतीपूर्ण लेख्ने कार्यले गोपाल दाहाललगायत पीडित पत्रकारका परिवारमा मानसिक तनाव सिर्जना गरिरहेको बताइएको छ ।
प्रतिवेदनमा निष्कर्ष निकालिएको छ कि प्रमुख राईका गतिविधिहरूले धरानका सञ्चारमाध्यम र प्रशासनिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको छ । यसले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूलाई गम्भीर रूपमा प्रभावित गरेको छ ।
‘पत्रकार गोपाल दाहाललाई ज्यान मार्नेसम्मको धम्की दिइएको घटनाले पत्रकारिता र पत्रकारको सुरक्षा तथा स्वतन्त्रता जोखिममा परेको प्रष्ट पार्दछ,’ प्रतिवेदनमा भनिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले गृहमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई भेटेर प्रतिवेदन हस्तान्तरण गर्ने छ । यसका साथै पत्रकारलाई सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गरिने महासचिव रामप्रसाद दाहालले बताए ।
तपाईको प्रतिक्रिया