सम्पादकीयः क्यालिफोर्निया डढेलोको पाठ

समाधान संवाददाता २०८१ पुष २९ गते १०:३५

यसै साता अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलोले विश्वभरको ध्यान खिच्यो । यो डढेलो अत्यन्त दुखद विस्मयकारी रह्यो । डढेलोले दर्जनौं मानिसको ज्यान लिएको छ, हजारौं घर र संरचनाहरूलाई नष्ट गरेको छ, र लाखौं डलरको आर्थिक क्षति पुर्‍याएको छ । क्यालिफोर्निया जस्तो विकसित र समृद्ध राज्यका लागि पनि डढेलो नियन्त्रण बसको बात रहेन । यता शनिबार हङकङको जंगलमा पनि डढेलो लाग्यो, जसलाई निभाउन १७ घन्टा बितेको थियो । नेपाल, जसले बर्सेनि डढेलोको सामना गर्छ, त्यसको विनाशबाट बँच्नका लागि हङकङ र क्यालिफोर्नियाको अनुभव एउटा पाठ हुनसक्छ । हिउँद याम नेपालमा पनि डेढेलोको याम हो तसर्थ क्यालिफोर्नियाको डढेलाबाट सिक्नुपर्छ । सतर्क रहनुपर्छ ।

Advertisement


नेपालमा डढेलो सामान्यतया मानवीय कारणले लाग्छ । घाँस र झार सफा गर्न, खेतीका लागि बोटबोट्यान नष्ट गर्न वा बासस्थानका लागि वन डढेलो मानिसहरुले सल्काउने गरेका उदाहरण छन् । क्यालिफोर्नियामा पनि बर्सेनि डढेलो लाग्छ र त्यहाँ डढेलोको सम्भावना पहिचान गर्न अत्याधुनिक प्रविधिहरू जस्तै ड्रोन र उपग्रह प्रणाली प्रयोग गरिन्छ । हामीकहाँ पनि त्यसको सिको गर्न सकिन्छ । त्यसभन्दा अघिचाहिँ समुदायलाई नै डढेलो नियन्त्रणका लागि सचेत बनाउनुपर्छ । डढेलोको जोखिम बढ्दै गएकाले स्थानीय समुदायलाई डढेलोको कारण र प्रभावका बारेमा थप जानकारी र शिक्षा दिनुपर्ने अत्यावश्यकता छ । एउटा रुख काट्दा जेल पठाउने गरिन्छ नेपालमा तर, डढेलो सल्काउनेहरुलाई कारबाही भएका उदाहरण विरलै छन् । त्यसतर्फ पनि राज्यले कडाइ गर्नुपर्छ ।


नेपालमा डढेलो प्रायः पहाडी वनमा फैलिन्छ, जहाँ जैविक विविधता र वन्यजन्तुहरूको ठूलो मात्रामा बसोबास हुन्छ । डढेलोले वन्यजन्तु र जैविक विविधतामा गम्भीर असर पुर्‍याएको छ । क्यालिफोर्नियामा डढेलोको असर कम गर्न त्यहाँको राज्य सरकारले भौतिक र प्राविधिक स्रोतहरुमा ठूलो लगानी गरेको छ । तर, हेलिकोप्टर जस्ता उपकरणले पनि आगो निभाउन यसपालि मुस्किल भयो । नेपालमा भने डढेलो नियन्त्रणका लागि सरकारी लगानी र स्रोतहरु खासै छैन भन्दा पनि हुन्छ । यसलाई बाढी, पहिरो जस्तै अर्काे विपदका रुपमा लिएर नियन्त्रण र जोखिम न्यूनीकरणमा लगानी आवश्यक छ । जोखिमको पूर्वतयारी, प्रभावकारी व्यवस्थापन, र समुदायको सक्रिय सहभागिता नै डढेलो नियन्त्रणका उपाय हुन् । केवल सरकारी प्रयासहरूमा निर्भर रहनु पर्याप्त हुँदैन, स्थानीय समुदायको भूमिका पनि यति नै महत्वपूर्ण छ ।

Advertisement

तपाईको प्रतिक्रिया