लेखनाथको बौद्ध विहार गुम्बाको पुनर्निर्माण

समाधान संवाददाता २०८१ पुष २९ गते ११:५७

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २९ को भण्डारढिकस्थित सैनिक बस्तीमा रहेको ४३ वर्ष पुरानो कर्म त्रियाना धर्मचक्र बौद्ध विहार गुम्बाको पुनर्निर्माण गरिएको छ । २०३९ सालमा स्थानीय समाजसेवी सुवेदार मेजर हनरी क्याप्टेन स्व. तीर्थबहादुर गुरुङको नेतृत्वमा करिब पाँच रोपनी क्षेत्रफलभित्र स्थापना गरिएको गुम्बा २०७२ सालको भूकम्पले जीर्ण भएपछि उक्त गुम्बालाई आधुनिक तरिकाले कलात्मक रूपमा पुनर्निर्माण गरी आइतबार उदघाटन गरिएको हो ।

Advertisement


२०७१ सालदेखि उक्त गुम्बाको जिम्मेवारी प्रमुख लामा गुरुका रूपमा छिरिङ गुरुङ र तप्के गुरुङले लिएपछि गुम्बाको पुनर्निर्माणको आवश्यकतालाई जोडदार रूपमा अघि बढाएपछि १० वर्षको अन्तरालमा कास्की जिल्लाकै नमुना र व्यवस्थित गुम्बा तयार गरी आइतबार क्याब्जे मनिवाश्री शेरब ग्याल्छेन रिन्पोछेले विधिवत रूपमा पूजा–पाठसहित बौद्ध धर्म परम्परा अनुसार सञ्चालनमा ल्याइएको हो ।


स्थानीय श्रद्धालु भक्तजनहरूको सक्रियता र देश–विदेशमा रहेका अनुयायीहरू, विभिन्न जिल्लाका गुम्बा धर्म गुरुहरूको आर्थिक, नैतिक तथा भौतिक सहयोगमा २ वर्ष २ महिना ११ दिनमा करिब ३ करोडको लागतमा पुनर्निर्माण गरिएको तीन तले गुम्बाको बीचको भागमा सभाहलसहित भगवान गौतम बुद्धको कलात्मक मूर्ति, पूजा–पाठ कक्ष, तल्लो तलामा अफिस तथा अतिथिकक्ष र माथिल्लो तलामा विशिष्ट अतिथि सत्कार कक्ष निर्माण गरिएको छ ।

२ वर्ष २ महिना ११ दिनमा करिब ३ करोडको लागतमा गुम्बा पुनर्निर्माण भएको


नवनिर्मित भवनको उदघाटन गर्दै प्रमुख गुरु क्याब्जेश्री मनिवा शेरब ग्याल्छेन रिन्पोछेले सबै धर्मले मानव सेवाकै काम गर्ने र सकारात्मक कुराको मात्र बिजारोपण गर्ने उद्देश्य राख्ने भएकाले बौद्ध धर्मले समग्र विश्व शान्तिको कामना गर्ने बताए । समाज परिवर्तनका लागि पहिलो सुरुआत आफैँबाट गर्नुपर्नेमा उनले जोड दिए ।

Advertisement


सोही अवसरमा ढुप्सेङ रिन्पोछे, ङेदेन रिन्पोछे, बोटुल रिन्पोछे र डुब्वोइन रिन्पोछेले विधिपूर्वक पूजा–पाठ तथा आराधना गरी बौद्ध मूर्तिको प्राण प्रतिष्ठा गराएका थिए । कार्यक्रमका दौरान गुम्बाका वरिष्ठ सल्लाहकार जंगबहादुर गुरुङ, वडा नम्बर २९ का वडा सदस्य क्षेत्रबहादुर गुरुङ र गुम्बाका विद्यार्थी लामा कर्मा नोर्बु गुरुङले भगवान गौतम बुद्धले प्रतिपादन गरेका सिद्धान्तका बारेमा जानकारी गराए ।


कर्म त्रियाना धर्मचक्र बौद्ध विहार गुम्बाका प्रमुख लामा गुरु छिरिङले गुम्बाको ऐतिहासिक पक्ष, यस क्षेत्रमा धार्मिक पर्यटनको विकास, तथा बुद्ध दर्शनका बारेमा जानकारी गराए । गुम्बाका सञ्चालक समितिका अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङले सम्पूर्ण भक्तजनहरूको मन, वचन, र कर्मले गुम्बा निर्माण गर्न सकिएको भन्दै सबैलाई स्वागतसहित धन्यवाद ज्ञापन गरे ।

कार्यक्रम सञ्चालन सञ्चारकर्मी कविता घर्ती मगरले गरिन् । माघ २ गतेसम्म चल्ने पूजा–पाठ कार्यक्रममा मनाङ, चितवन, भक्तपुरलगायत विभिन्न जिल्लाका गुम्बा प्रतिनिधि तथा भक्तजनहरूको उल्लेखनीय सहभागिता छ । समापन समारोहमा आशीर्वाद वचनसहित सहयोगी भक्तजनलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।

तपाईको प्रतिक्रिया