गण्डकीमा एक लाख १८ हजार किशोरीलाई एचपिभी खोप लगाइने

समाधान संवाददाता २०८१ पुष २९ गते १७:१०

गण्डकी । गण्डकी प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका एक लाख १८ हजार सात सय ७४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ। खोप अभियान अन्तर्गत प्रदेशका ११ वटै जिल्लाका तोकिएको उमेर समूहका किशोरीलाई आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप प्रदान गरिनेछ।

Advertisement

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काका अनुसार खोप अभियान सञ्चालनका लागि अहिले जिल्ला र स्थानीय तहमा पूर्वतयारीका काम भइरहेका छन्। “खोप प्रदान गर्ने स्वास्थ्यकर्मीसहित अन्य सरोकार भएका पक्षलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको छ,” उनले भने, “किशोरीहरू बञ्चित नहुन् भनेर समुदायस्तरमा प्रचारप्रसार र सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ।”

सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘एचपिभी’ खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरी नियमित खोप सेवाका रूपमा प्रदान गर्ने नीति लिएको छ। कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षका किशोरीलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो।

महानिर्देशक खड्काका अनुसार यो अभियान सम्पन्न भएपछि कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्षका किशोरीलाई नियमित खोपका रूपमा यो खोप प्रदान गरिनेछ।

बागलुङमा ११ हजार ५५५ किशोरीलाई खोप
जिल्ला स्वास्थ्य कार्यालय, बागलुङका प्रमुख घनश्याम सापकोटाका अनुसार खोप अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई दुई दिनको अभिमुखीकरण तालिम दिइएको छ। बागलुङमा ११ हजार पाँच सय ५५ किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य छ।

Advertisement

नेपालमा पाठेघरको मुखको क्यान्सरबाट हरेक वर्ष धेरै महिलाको मृत्यु हुने गरेकोले यो खोप अभियानले ठूलो योगदान दिने विश्वास प्रमुख सापकोटाले व्यक्त गरे।

९८ प्रतिशत जोखिम कम गर्ने
धवलागिरि अस्पतालका स्त्री रोग विशेषज्ञ डा. विजय ओझाका अनुसार ‘एचपिभी’ खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिम ९८ प्रतिशतले घटाउनेछ। उनले भने, “समयमै रोगको निदान र उपचार नभए महिलाहरूले मृत्युवरण गर्नुपरेका छन्। यो दोहोर्न नदिन किशोरीहरूलाई खोपको पहुँचमा ल्याउन आवश्यक छ।”

डा. ओझाका अनुसार पाठेघरको मुखको क्यान्सर नेपालमा महिलालाई हुने क्यान्सरमध्ये दोस्रो स्थानमा छ। तर, क्यान्सरका कारण महिलाको मृत्यु हुने प्रमुख कारण यही रोग हो।

नमूना कार्यक्रम र तथ्याङ्क
सरकारले आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ मा चितवन र कास्कीमा नमूना कार्यक्रम सञ्चालन गरेको थियो। पछिल्लो आवमा सातवटै प्रदेशका एक/एक अस्पतालमा १४ वर्षका किशोरीलाई छ महिनाको फरकमा दुई मात्रा खोप प्रदान गरिएको थियो।

चिकित्सकका अनुसार यो रोग ‘ह्यूमन प्यापिलोमा’ भाइरसबाट सर्ने हो, जसले २० वर्षसम्म शरीरमा रहँदा पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउँछ। नेपालमा हरेक वर्ष करिब २,१६९ महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ, जसमध्ये १,३१३ जनाको मृत्यु हुने अनुमान छ।

यस खोप अभियानले किशोरीहरूलाई क्यान्सरको जोखिमबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। रासस

तपाईको प्रतिक्रिया