देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला

समाधान संवाददाता २०८१ माघ १ गते ५:२०
फाइल तस्बिर

तनहुँ । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अपेक्षा गरिएको देवघाट क्षेत्र विकास समितिले जानकारी दिएको छ।

Advertisement

समितिका कार्यकारी निर्देशक सदन बरालले पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। उनले भने अनुसार, मेला अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट, रामनगर–ठिमुरा हुँदै देवघाट, वा दासढुङ्गा भएर देवघाटमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ।

मुग्लीनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र सोही रुटबाट फर्कने व्यवस्था गरिएको छ। चिवनतर्फका साना सवारीसाधनका लागि पार्किङ सीताराम संस्कृत माविको कम्पाउण्डमा गरिएको छ। ठूला सवारीसाधन (बस, मिनिबस, माइक्रो) का लागि पार्किङ दाहसंस्कारस्थलको प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार)बाट उत्तरपूर्व क्षेत्रमा प्रबन्ध गरिएको छ।

“त्रिशूली नदीको झोलुङ्गे पुलमा एकपटकमा एक सय यात्रुमात्र हिँड्न पाउने व्यवस्था गरिएको छ। वैकल्पिक मार्गको रूपमा बेणीमा पर्याप्त डुङ्गाहरूको व्यवस्था गरिएको छ,” उनले जानकारी दिए।

डुङ्गा र र्याफ्टिङका क्रममा लाइफ ज्याकेट अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको छ भने डुङ्गा र र्याफ्टिङबाट एकतर्फी भाडा रु ५० कायम गरिएको अध्यक्ष भीमबहादुर रानाले जानकारी दिए। पद्मम पुराणका अनुसार, सूर्य मकर राशिमा गएका बेला माघ महिनाभर देवघाटधाममा स्नान गर्दा ठूलो पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ।

Advertisement

पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन भएको दिन मकर सङ्क्रान्तिको दिन मानिन्छ। यस कारण माघे सङ्क्रान्तिमा देवघाटमा स्नान गर्न आउने भक्तजनको ठूलो घुइँचो लाग्ने गर्दछ।

तीर्थस्थलमा धुम्रपान, मदिरा र सुर्तीजन्य पदार्थहरू निषेध गरिएको छ। ती वस्तुहरू बिक्री, ओसारपसार र सेवन नगरी सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको कार्यकारी निर्देशक बरालले जानकारी दिए।

“बेणीमा नुहाउने स्नान क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ। सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ। नुहाउँदा हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर देवघाट क्षेत्र विकास समितिबाट दुई वटा काठका स्थानीय डुङ्गामा रेडक्रसको झण्डा राखेर उद्धारको व्यवस्था गरिएको छ,” उनले जानकारी दिए। सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट उद्धारका लागि दुई/दुई वटा र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ।

सवारी पार्किङ शुल्कमा मेला अवधिभर साइकललाई रु १०, मोटरसाइकल रु २०, कार/जिप, भ्यान र हल्का सवारीका लागि रु ५० र बस, ट्रक र भारी सवारीसाधनका लागि रु १०० निर्धारण गरिएको समितिले जनाएको छ। देवघाट गाउँपालिका– ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले विगतका कमीकमजोरी सच्याउँदै यसपटक मेलालाई व्यवस्थित बनाइएको जानकारी दिए। रासस

तपाईको प्रतिक्रिया