सम्पादकीय—फेवातालको क्षेत्रफलः विवाद र चुनौती

फेवाताल नेपालको प्राकृतिक सौन्दर्यका प्रतीकहरूमध्ये एक हो, जसको संरक्षण र व्यवस्थापनको विषयले बारम्बार राष्ट्रिय चासोको रूप लिएको छ । तथापि, यस तालको वास्तविक क्षेत्रफल कति हो भन्ने प्रश्नले आजसम्म एकमात्र उत्तर पाउन सकेको छैन । समय–समयमा तयार गरिएका प्रतिवेदन—पुराना नक्सादेखि नयाँ अध्ययनसम्म—फेवातालको क्षेत्रफल फरक देखाउँदै आएका छन् । यसले व्यवस्थापनको ठोस योजना निर्माणमा जटिलता उत्पन्न गरेको छ ।
सन् १९२५/२६ को ब्रिटिस सर्भे अफ इन्डियाले तालको क्षेत्रफल ३.४६ वर्ग किलोमिटर भनेकोमा सन् १९५७/५८ को सर्भेले यो क्षेत्रफल ४.३९ वर्ग किलोमिटर रहेको उल्लेख गरेको छ । विसं २०१८ मा नेपाल–भारत सहयोग मिसनले यो क्षेत्रफल १०.३६ वर्ग किलोमिटर रहेको दाबी गरेको छ । यस्तै, पछिल्लो समय गण्डकी प्रदेश सरकारद्वारा गठित समितिले तालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर रहेको प्रतिवेदन दिएको छ । यी सबै अध्ययनले फेवातालको क्षेत्रफलको विषयमा एकरूपता र स्थायित्वको कमीलाई उजागर गरेको छ ।
हालसालै पोखरा महानगरपालिकाले फेवातालको क्षेत्रफलमा १.२५ वर्ग किलोमिटर वृद्धि भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । यस प्रतिवेदनले सर्वोच्च अदालतको परमादेश कार्यान्वयनका क्रममा नयाँ तरंग ल्याएको छ । प्रारम्भिक मापन अनुसार, सिमांकनका लागि ६५ मिटरको मापदण्ड अपनाइएको छ, जसले तालको संरचना, लालपुर्जा, र सिमसार क्षेत्रको पुनःव्याख्या आवश्यक बनाएको छ । तर, यो प्रक्रिया अझै प्रारम्भिक चरणमै छ, र अन्तिम प्रतिवेदन आउन बाँकी रहेको बताइएको छ ।
फेवातालको क्षेत्रफल निर्धारणमा भइरहेका यी भिन्नताले समग्र व्यवस्थापनलाई थप चुनौतीपूर्ण बनाएको छ । तालको उच्च बहाव भएका बर्खाका समयमा गरिने नापजाँचले हरेकपटक नयाँ क्षेत्रफल प्रस्तुत गर्दै आएको छ । यसले केवल प्राविधिक असहमति मात्र होइन, प्रशासनिक र कानुनी जटिलतालाई पनि उजागर गरेको छ । फेवा किनारमा बसोबास भएकाहरुलाई यसले अर्को तनाव थपिदिएको छ । सर्वोच्च अदालतको परमादेशले यस विषयमा स्पष्ट निर्देशन दिएको भए पनि व्यावहारिक कार्यान्वयनमा आइपरेका समस्याले यसलाई चुनौतीपूर्ण बनाएको छ । डिमार्केसन प्रक्रियामा स्थानीय सरोकारवाला, लालपुर्जा भएका व्यक्तिहरू, र सिमसार क्षेत्रसँग जोडिएका संरचनाहरूको संरक्षणसम्बन्धी मागले अझै अन्योलता थपेको छ ।
फेवातालको संरक्षण र व्यवस्थापन केवककल क्षेत्रफल निर्धारणमा सीमित हुन सक्दैन । ताल वरपरको सिमसार क्षेत्र, जैविक विविधता, पर्यटन, र स्थानीय समुदायका मागलाई सन्तुलनमा राखेर दीर्घकालीन योजना तयार गर्न आवश्यक छ । तालको वास्तविक क्षेत्रफल यकिन गर्न वैज्ञानिक मापन र आधुनिक प्रविधिको प्रयोग अपरिहार्य छ । साथै, यसले मात्र फेवातालको वातावरणीय महत्त्वलाई सुरक्षित राख्न र कानुनी विवादलाई अन्त्य गर्न सक्नेछ ।
फेवातालको क्षेत्रफलसम्बन्धी विवाद समाधानका लागि एकीकृत र पारदर्शी प्रक्रिया अनिवार्य छ । यसका लागि स्थानीय, प्रादेशिक, र केन्द्रीय निकायबीच सहकार्य हुनुपर्छ । समग्रतामा, तालको संरक्षण र यसको मापदण्ड निर्धारण कुनै एक निकायको मात्र जिम्मेवारी नभएर समग्र समाजको दायित्व हो । यसका लागि सम्पूर्ण पक्षहरूले एकजुट भई वैज्ञानिक, पारदर्शी, र न्यायोचित दृष्टिकोण अपनाउनुपर्छ ।
तपाईको प्रतिक्रिया