कसरी र किन मनोविमर्शकर्ता बन्ने ?

डाक्टर, नर्स, इन्जिनियर, शिक्षक, पत्रकार भने बितिकै उनीहरूको काम र कर्तव्य धेरैलाई थाहा छ । ‘मनोविमर्शकर्ता’ भन्ने पेसा भने कमैले सुनेको होला । मनोविमर्शकर्ता कस्तो पेसा हो, कसरी मनोविमर्शकर्ता बन्न सकिन्छ, मनोविमर्शकर्ता बनेपछि आफू र राज्यलाई के योगदान पुग्छ ? भन्ने बारे यस आलेखमा चर्चा गरिएको छ ।
नेपालमा मनोविमर्शकर्तालाई पेसाको रुपमा लिन थालिएको छ । मनोसामाजिक समस्यामा रहेका व्यक्तिहरुलाई मनोपरामर्श अर्थात् मनोविमर्श दिने गर्दछन् । मनोविमर्श भनेको मनमा समस्या भएको व्यक्ति र मनोविमर्शकर्ता बीच हुने योजनाबद्ध कुराकानी हो । जसले समस्यामा रहेको व्यक्तिलाई उपचारको काम गर्छ । यसलाई टकिङ थेरापी पनि भनिन्छ । ने
पालमा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत मनोविज्ञ, चिकित्सामनोविज्ञ, मनोचिकित्सकहरू थोरै छन् । भएका विशेषज्ञहरु शहर केन्द्रित छन् । पालिका, गाउँ स्तरमा गएर सेवा गर्ने अवस्था छैन । यो समस्या नेपालले मात्र नभई धेरै विकासोन्मुख राष्ट्रहरूले भोगिरहेका छन् । विशेषज्ञहरूको अभावलाई कम गर्न टास्क सिफिटिङ पद्धति अगाडि बढाइएको पाइन्छ । जसमा विशेषज्ञका आधारभूत सीपहरु मनोविमर्शकर्ताले अंगिकार गर्दछन् र नियमित सुपरिवेक्षणमा रहन्छन् भने उनीहरूले दिने मनोविमर्शमा गुणस्तर आउने विश्वास गरिएको छ ।
फलस्वरुप थोरै लगानीमा धेरै जनशक्ति उत्पादन गर्न र परिचालन गर्न सकिन्छ । नेपालमा बेलाबेला आउने विनाशकारी भूकम्प, कोभिड जस्ता महामारीले मनोविमर्शकर्ताको नियुक्ति र परिचालनले अझै बढी महत्त्व बढाएको छ । त्यसैगरी प्रहरी प्रतिवेदनलाई मात्र आधार मान्दा हरेक दिन नेपालमा १६/१७ जनाले आत्महत्या गरेर ज्यान गुमाइरहेका छन् । १ जनाले आत्महत्या गर्दा झनै १३५ जनालाई प्रत्यक्ष असर गर्ने अनुसन्धानले देखाएको छ । सोही तथ्यलाई आधार मान्दा नेपालमा हरेक दिन झण्डै २२ सय जनालाई प्राथमिक मनोवैज्ञानिक सहयोगको आवश्यकता छ ।
कसरी मनोविमर्शकर्ता बन्न पाइन्छ ?
सामान्यतया ७८० घण्टा अर्थात् ६ महिनाको तालिम लिएर पछि मनोविमर्शकर्ताको प्रमाणपत्र प्राप्त गर्न सकिन्छ । ७८० घण्टाको कोर्सलाई सन् २०१० मा एक विज्ञ टोलीले तयार गरेको थियो । जसलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले छोटो अवधिको तालिम भनी आफ्नो पाठ्यक्रममा समावेश गरेको छ ।
सोही पाठ्यक्रमलाई आधार मानी देशभरिका विभिन्न गैरसरकारी संस्था, तालिम प्रदान गर्ने संस्थाहरूले परिषदबाट सम्बन्धन लिएर कक्षाहरू संचालन गर्ने गरेको पाइन्छ । यसमा २८४ घण्टाको सैद्धान्तिक कक्षा र ४९८ घण्टाको अभ्यास रहन्छ । प्रायः हरेक दिन २ देखि ३ घण्टाको दरले कक्षा संचालन हुन्छ । उक्त तालिम पोखरामा पहिलो पटक हाट माइन्ड कन्सल्टेन्सी प्रा.लि.ले सुरु गरेको छ ।
पछिल्लो समय राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले पनि मोड्युल ६ भनी ७८० घण्टाको मनोविमर्शकर्ताहरूको तालिम पाठ्यक्रम विकास गरेको छ । तालिम केन्द्रले स्वास्थ्यकर्मीलाई मात्र यस्ता तालिमहरु संचालन गर्ने गरेको छ । तालिम केन्द्रले स्वास्थ्यकर्मी बाहेकका व्यक्तिहरूलाई भने लक्षित गरेको पाइदैन । विश्वविद्यालयहरूबाट सम्बन्धन लिएर काठमाडौँमा केही कलेजहरुले पनि यस प्याकेजलाई संचालन गरेको पाइन्छ । तालिममा सहभागी हुन न्यूनतम कक्षा १२ पास गरेको हुनु पर्छ । मनोविज्ञानमा बीए र मास्टर अध्ययन गरे पनि व्यवहारिक ज्ञान र सीप बढी सिक्ने हुँदा आफ्नो पेशागत जीवनलाई थप टेवा दिन विद्यार्थीहरू यस्ता कोर्सहरू पढ्न रुचि राख्छन् ।
आत्महत्याको दर घटाउन, मानसिक रूपमा स्वस्थ समाजको निर्माण गर्न मनोविमर्शकर्ताले महत्वपूर्ण भूमिका खेल्न सक्छन्
मनोविमर्शकर्ता भएपछी कहाँ काम गर्न पाइन्छ?
नेपालमा प्रायः जसो गैरसरकारी संस्थाहरू जसले मनोसामाजिक र मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दछ, उनीहरूले मनोविमर्शकर्ताहरू नियुक्त गर्ने गर्दछन् । साथै बाल संरक्षण गृह, लागू औषध तथा दुव्र्यसनी सम्बन्धी समस्यामा कार्यरत सुधार गृहहरूले पनि मनोविमर्शकर्ताहरू राख्ने गर्दछन् । निजी विद्यालय र केही सरकारी विद्यालयहरूले पनि राख्ने गरेको पाइन्छ । जिल्ला अस्पताल, ओसीएमसी तथा निजी अस्पतालहरूले पनि पाँचौं तहमा मनोविमर्शकर्ताहरू राख्ने गर्दछन् ।
गण्डकी प्रदेशका १० वटा जिल्ला अस्पतालहरूमा यसै वर्षदेखि स्वास्थ्य निर्देशनालयले मनोविमर्शकर्ताहरू नियुक्त गरी परिचालन गर्न थालेको छ । साथै नेपाल सरकारको सामी परियोजनाले गण्डकी प्रदेशका ६ जिल्लाहरू कास्की, बाग्लुङ, स्याङजा, तनहुँ, गोरखा, नवलपरासी पूर्वका ४/४ वटा पालिकाहरूमा मनोविमर्शकर्ताहरू परिचालन भइरहेका छन् । सामी परियोजना मार्फत वैदेशिक रोजगारीका कारण सिर्जना भएको मनोसामाजिक समस्याहरूलाई समाधान वा न्यूनिकरण गर्न सक्षम बनाउन आप्रवासी एवं उनीका परिवारलाई मनोसामाजिक सहयोग प्रदान गरिरहेको छ ।
देशभरि सामी परियोजना अन्तर्गत १५६ जना मनोविमर्शकर्ताहरू समुदायस्तर र घरघरमा गएर मनोविमर्श सेवाहरू उपलब्ध गराइरहेका छन् । यही क्रम बढ्दै गएमा देशभरिका सबै पालिकाहरूमा एक मनोविमर्शकर्ता हुने सम्भावना रहन्छ । साथै विभिन्न राष्ट्रिय, प्रदेश र स्थानीय स्तरमा कार्यरत गैर सरकारी र निजी संस्थाहरूले पनि मनोविमर्शकर्ताको परिचालनलाई उत्तिकै प्राथमिकता दिएको पाइन्छ ।
मनोविमर्शकर्ताहरूको काम के हो?
मनोविमर्शकर्ताहरूलाई सामुदायिक मनोविमर्शकर्ताको रूपमा चिनिन्छ किनकि उनीहरूलाई बढी समुदायमै परिचालन गरिन्छ । समुदायमा विभिन्न विपत्तिजन्य घटनाहरू जस्तै कोभिड, भूकम्पमा व्यक्तिहरूको मन आत्तिन्छ । त्यस्तो बेला मनोविमर्शकर्ताहरूले प्राथमिक मनोवैज्ञानिक सहयोग गर्ने गर्दछन् । साथै व्यक्तिमा रहेका मनका समस्याहरू र सामान्य खालका मानसिक स्वास्थ्य समस्याहरूको पहिचान गर्न, व्यक्तिगत मनोविमर्श, पारिवारिक मनोविमर्श, समूह मनोविमर्श र जोडा मनोविमर्श गर्न सक्ने क्षमता उनीहरूमा हुन्छ ।
४५ मिनेटका विभिन्न सत्रहरूमा उनीहरूले समस्याको पहिचान गर्ने, भावनात्मक सहयोग गर्ने र समस्या व्यवस्थापनमा काम गर्ने गर्दछन् । थप मानसिक स्वास्थ्य समस्या भएमा मनोविज्ञ वा मनोचिकित्सकका लागि सिफारिस गर्ने गर्छन् । जोखिममा रहेका व्यक्तिहरूको पहिचान गर्न गृह भेट गरी मनोसामाजिक स्वास्थ्यको अवस्था, मानसिक समस्या भएमा औषधिको व्यवस्था कस्तो छ, परिवारका सदस्यहरूको सहयोग प्रक्रिया, मानव अधिकार, संरक्षण र सुरक्षा लगायतका विषयहरूमा बढी चासो राख्ने गर्दछन् । जसले गर्दा समस्यामा रहेका व्यक्तिहरूमा समस्या पुनः बल्झिने सम्झना कम हुन्छ । अपांगता अधिकार ऐन बमोजिम मनोविमर्शकर्ताहरूले अपांगता कार्डका लागि पनि सहकार्य र समन्वय गर्ने गर्दछन् ।
औषधि नियमित होस् भनेर स्वास्थ्य बिमाका लागि समन्वय गर्ने अर्को महत्वपूर्ण काम छ । आमा समूह, टोल सुधार समिति, क्लब, विद्यालयहरूमा मनोसामाजिक स्वास्थ्य सम्बन्धी मनोशिक्षा कार्यक्रम संचालन गर्दा व्यक्तिहरूमा सचेतना बढ्नुका साथै समस्याको पहिचान हुन्छ । उपचारका लागि समयमै सही स्थानमा पुग्न सहयोग मिल्नेछ ।
साथै मनोसामाजिक स्वास्थ्य, तनाव व्यवस्थापन सम्बन्धी तालिम, गोष्ठीले व्यक्तिहरूमा थप ज्ञान र सीपको विकास गराउँछ । पालिका र प्रदेशका शिक्षा, स्वास्थ्य, सामाजिक विकास शाखाहरू संग समन्वय गरी काम गर्नु उनीहरूको जिम्मेवारी हो । त्यस बाहेक थप प्राविधिक र सहयोगका लागि अनुभवी मनोविमर्शकर्ता वा मनोविज्ञहरूसँग सुपरभिजनमा बस्नु अर्को महत्वपूर्ण जिम्मेवारी अन्तर्गत पर्दछ ।
मनोविमर्शकर्ता भएर राज्यलाई कसरी योगदान दिन सकिन्छ?
नेपालको संविधानले हरेक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने र सबै प्रकारका स्वास्थ्य सेवामा पहुँच हुने अधिकारको व्यवस्था गरेको छ । त्यसैगरी जनस्वास्थ्य सेवा ऐन २०७५ ले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवाको सूचीमा समावेश गरेको छ । अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले मानसिक र मनोसामाजिक अपांगतालाई व्यक्तिको अधिकार हो भनी स्वीकार गरेको छ, तर यस्ता सेवा र अधिकारहरू जनताले राम्रोसँग उपयोग गर्न पाएका छैनन् । मनोविमर्शकर्ताले नागरिकको पक्षमा आवाज बुलन्द पार्न सक्नु हुनेछ ।
त्यस बाहेक, समुदायका धेरै व्यक्तिहरू मनोसामाजिक समस्याबाट गुज्रिरहेका पाइन्छ । प्रत्येक वयस्क व्यक्तिले आफ्नो जीवन अवधिमा तनावको अनुभव गरेको हुन्छ । त्यसैले जोकोही व्यक्ति पनि मानसिक समस्यामा पर्न सक्ने जोखिमपूर्ण अवस्थामा हुन्छन् । उनीहरूलाई जोखिममा पर्नबाट बचाउन सकिन्छ ।
विश्वमा सामाजिक, आर्थिक र प्रकृति परिवर्तनहरू भैरहेका पाइन्छ । यस अवस्थामा मानिसहरूले धेरै चुनौतीहरू भोग्नु परेको छ जस्तैः भीडभाड, बसाईसराई, असमान आयश्रोत, बेरोजगारी, लडाइँझगडा, युद्ध, प्राकृतिक प्रकोप आदि । यी सबै कुराले मानिसमा मनोसामाजिक समस्या बढ्दै गएको पाइन्छ । व्यक्तिले आफ्नो क्षमता भन्दा ठूलो योजना बनाउँदा ती योजनाहरू असफल हुँदा जीवनप्रति निराशाका भावनाहरू बढ्न सक्छ । त्यसबाट बचाउन हरेक व्यक्तिका भावनाहरू बुझ्न जरुरी छ ।
त्यसै गरी हाम्रा स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य परीक्षणमा आउने अधिकांश व्यक्तिहरूमा शारीरिक समस्या देखिन्छ । तर पछाडि उनीहरू कुनै न कुनै रूपमा मनोसामाजिक समस्याबाट ग्रसित हुन्छन्, जसलाई शारीरिक सिकायतको रूपमा लिइन्छ । यस्ता समस्यालाई बिना औषधि उपचार गर्न सम्भव छ । त्यसका लागि राज्यले शारीरिक स्वास्थ्यजस्तै मनोसामाजिक स्वास्थ्यलाई पनि ख्याल गरेको खण्डमा धेरै मनका समस्याहरू मनोविमर्शबाटै समाधान हुन सक्छ ।
समुदायका व्यक्तिहरू शारीरिक रोगभन्दा मनोसामाजिक समस्यालाई समस्याको रूपमा लिँदैनन्, तर मनोसामाजिक समस्याले व्यक्तिलाई हदसम्मको असक्षम बनाइरहेको हुन्छ । मनोसामाजिक समस्याले गर्दा रोग लागेको अवस्थामा व्यक्तिले रोगको उपचार नगरी रोग जटिल भइ मृत्यु हुने, आत्महत्या गर्ने, विभिन्न किसिमको लागूऔषध र रक्सीको प्रयोग गर्ने सम्भावनाहरूबाट जोगाउन मद्दत पुर्याउन सक्छ ।
मानसिक स्वास्थ्यसँग काम गर्ने विज्ञहरू जस्तै, मनोचिकित्सक, मनोविज्ञ वा अन्य मानसिक स्वास्थ्यमा काम गर्ने मानव स्रोतहरू पर्याप्त रूपमा छैनन् । जति मानव स्रोतहरू छन् ती सबै जटिल मानसिक रोगसँग मात्र काम गरिरहेका पाइन्छ । मनोसामाजिक एवं मानसिक रोगसँग सम्बन्धित समस्या जस्तै, उदासीनता, मनोसामाजिक समस्या, रक्सी र लागूऔषधसँग सम्बन्धित समस्याहरू भएता पनि बिरामीहरू सामान्य चिकित्सकहरूसँग सम्बन्ध राख्छन् र उपयुक्त उपचारबाट बंचित हुन्छन् ।
समाजमा मनोसामाजिक समस्यालाई लुकाएर राखिन्छ । मनोसामाजिक समस्या पहिचान भएता पनि परिवार र समाजले नराम्रो दृष्टिकोणले हेर्ने गर्छन्, किनकि यो समस्यालाई घरपरिवार र समाजले कलंक र दाग लागेको रूपमा लिन्छन् । त्यसकारणले मनोसामाजिक समस्यालाई लुकाएर राखिन्छ र गम्भीर किसिमको मानसिक रोग ल्याउँछ । समुदायमा सचेतना फैलाउन, आत्महत्याको दर घटाउन, मानसिक रूपमा स्वस्थ समाजको निर्माण गर्न मनोविमर्शकर्ताले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
चुनौतीहरु
हरेक विद्यालय, अस्पताल, नगरपालिकाहरूमा मनोविमर्शकर्ताहरू राख्नु पर्छ भन्ने आवाज उठिरहेको छ, तर राज्यले चाहे जति बजेट बिनियोजन गर्न सकिरहेको छैन । मनोविमर्शकर्ताहरूको उत्पादन, क्षमता विकास, सुपरिवेक्षण, नियमन र अनुगमनमा ध्यान दिन सकेको पाइँदैन । स्वास्थ्य, शिक्षा, सामाजिक विकास कुन क्षेत्रमार्फत मनोविमर्शकर्ताहरूको परिचालन गर्ने भन्ने विषयमा राज्य नै अन्योलमा छ । मनोविमर्शकर्ताहरूको नियमनमा राज्यका निकायहरू बीच नै आपसी समन्वय र सहकार्यको अभाव छ ।
लेखक हाट माइन्ड कन्सल्टेन्सी प्रालि पोखराका निर्देशक हुन् ।
तपाईको प्रतिक्रिया