कालीगण्डकी बचाउन नदी किनारमै ब्यानर प्रदर्शन

पर्वत । विगत चार दशकदेखिको अव्यवस्थित विकासे गतिविधि र प्रकृति दोहनको कारण कालीगण्डकी नदीको दुई तिहाइ भाग क्षय भएको छ । यसै सन्दर्भमा, माघे संक्रान्तिका दिन पर्वतको प्रसिद्ध मोदीवेणी धाममा ‘कालीगण्डकी बचाऔं अभियान’ले व्यानर प्रदर्शन गरेको छ ।
‘नदीको प्राकृतिक स्रोत, विशेष गरी ढुंगा, शिला, गिटी, बालुवाको अन्धाधुन्ध दोहनले कालीगण्डकीको दिगोपनलाई गम्भीर असर पारेको छ,’ कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदिप्त गिरीले बताए । उनका अनुसार, ‘नदीमाथि भइरहेका अनियमित उत्खनन र पर्यावरणीय विनाशलाई पूर्णतः रोक्न अब सबैले जोड दिनुपर्छ ।’
प्राकृतिक स्रोतको दोहन र संकट
कालीगण्डकी किनारैकिनार निर्माण गरिएका सडक र अव्यवस्थित शहरीकरण, साथै एकाध व्यक्तिको स्वार्थमा खोलिएका दर्जनौं क्रसर उद्योगहरूले नदी र आसपासको वातावरणीय प्रणालीलाई नष्ट गरिरहेका छन् । नदीमा मलमुत्र र फोहर विसर्जन, सार्वजनिक जग्गा अतिक्रमण, र वन फडानीजस्ता गतिविधिहरूले मानव तथा जैविक विविधतालाई गम्भीर जोखिममा पारेको छ ।
‘नदीजन्य पदार्थको अत्यधिक दोहनले नदीको जलप्रवाह गहिरिँदै गएको र नदी तटीय क्षेत्रहरूमा बाढी तथा कटानको समस्या विकराल बनेको छ । शालिग्राम शिलाको नाशले धार्मिक तथा सांस्कृतिक महत्वमा आँच पुर्याएको छ,’ गिरीले थपे ।
नियम उल्लंघन र कानुनी अराजकता
सर्वोच्च अदालतको आदेशको ठाडो अवहेलना गर्दै क्रसर उद्योगले मनपरी उत्खनन गरिरहेका छन् । कालीगण्डकी तटीय क्षेत्रमा करिब ८ सय १४ किमि क्षेत्रमा वैध–अवैध रूपमा सञ्चालित क्रसर उद्योग र फिरफिरे उद्योगको संख्या सयौं छ । यी उद्योगहरूले वातावरणीय प्रभाव मूल्याङ्कन विना नै नदीजन्य पदार्थ उत्खनन र प्रशोधन गर्दै आएका छन् ।
नेतृत्व र नियामक निकायको भूमिकामाथि प्रश्न
स्थानीय नेताहरू, कर्मचारी, र व्यवसायीहरूको संयुक्त लगानीमा सञ्चालित उद्योगहरूले कालीगण्डकी नदीमाथि क्रूर हस्तक्षेप गरिरहेका छन् । नियामक निकायहरू यो अवस्थाप्रति जानकार भए पनि मौन देखिएका छन् । पत्रकारिता पनि अवैध व्यवसायीहरूको छत्रछायामा रहेको आरोप लगाइएको छ ।
कालीगण्डकीको सांस्कृतिक र पर्यावरणीय महत्व
कालीगण्डकी हिन्दू र बौद्ध धर्मावलम्बीहरूको लागि पवित्र नदी हो । यस नदीको शिर मुक्तिनाथ र दामोदर कुण्डलाई विशेष धार्मिक आस्थासँग जोडिएको मानिन्छ । कालीगण्डकीको जलाधार क्षेत्रमा धवलागिरी, अन्नपूर्ण, र मनास्लुजस्ता हिमालय शृंखलाहरू र सयौँ प्रकारका वनस्पतिहरू रहेका छन् ।
आन्दोलन र आगामी कार्ययोजना
अभियानले विगतमा डेलिगेसन पठाउने, डोजर कब्जा गर्ने, र्याली निकाल्ने जस्ता गतिविधि सञ्चालन गरेको थियो । तर, यस्ता गतिविधिले राज्य तहका शासकसम्म आवाज पुर्याउन नसकेको ठहर गर्दै अभियानले अब विरोधको स्वरूप परिवर्तन गर्ने बताएको छ । आगामी दिनमा ‘कालीगण्डकी मार्च’ आयोजना गरिनेछ ।
‘प्राकृतिक, सांस्कृतिक तथा धार्मिक विशिष्टता बोकेको कालीगण्डकी बचाउनु हामी हाम्रो मानव सभ्यता बचाउनु पनि हो । प्रकृतिमाथिको हस्तक्षेप रोक्नु तिमी हाम्रै दायित्व हो,’ गिरीले अपिल गरे ।
तपाईको प्रतिक्रिया