पुछारसिटमा घिउ, चाकुसँगै केशुका कविता

पोखरा । मंगलबार पोखरेली साहित्यका र साहित्यप्रेमीले पृथक तवरले माघ संक्रान्ति मनाए । कवि केशु शर्माले घिउ, चाकु, तरुल, सखरखण्ड, खुदो, तिलको लड्डु, चिउरासँग रोज्जा कविता सुनाइन् ।
पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलले ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा केशु शर्मा विशेष कार्यक्रम गरिएको बताए । अभियानले आयोजना गर्ने एकल कविता वाचनको दशौँ शृंखलामा कविता वाचकका रूपमा उभिएकी थिइन् कवि शर्मा ।
च्याउ उम्रेझैँ
उम्रिरहन्छन् राजनेताहरू
अरबौँ खरबौँ बगिरहन्छन्
हर्के, साहिँला र माहिलाका सपनाहरू
दुखिरहन्छन् कमली, बाटुली र चमेलीका जिन्दगीहरू
साँच्चै मृत्युअघि
मान्द्राभरि आश्वासनका बिस्कुन नसुकाउनेहरूले
कसैको मनमुटु नदुखाउनेहरूले
यो देश हाँकेको हेर्ने रहर छ ।
यो कविताबाट वाचन सुरु गरेकी उनले बिचबिचमा आफ्नो जीवनयात्राका अनेक मोड र घुम्ती सम्झिइन् । सम्झँदा सम्झँदै उनले घर सम्झिन्, परिवार सम्झिन्, साथीभाइ सम्झिन् र सम्झिन् विद्यार्थीहरू ।
२०५० को पूर्वाद्र्धमा पोखरामा हुने हरेकजसो साहित्यिक कार्यक्रममा भाग लिँदै लेखनलाई अगाडि बढाएकी उनी विवाहपश्चात् भने कार्यक्रममा पातलिइन् । यो बिच पनि लेखनमा भने निरन्तरता दिई नै रहिन् । यसै क्रममा पोखराको मदरल्यान्ड माविमा २०५४ देखि शिक्षक छिन् ।
२०७० को उत्तरार्धसम्म साहित्यिक माहोलमा पातलो उपस्थिति देखाएकी शर्माले त्यसपछि भने उपस्थिति बाक्लो बनाउँदै लगेकी छन् । गीत, कविता, गजल लगायतका विविध साहित्यिक सिर्जनामा कलम चलाउँदै आएकी उनी हालै पोखराको वाङ्मयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारकी साहित्य संयोजक बनेकी छन् ।
उनका कवितामा सरल शब्दमा गहन भाव प्रकट हुन्छन् । उनका कवितामा सहरभित्रको ग्रामीण जनजीवनको यथार्थ चित्रण, देशको राजनीतिक एवं सामाजिक विकृति विसंगतिमाथिको विद्रोह, प्रकृतिप्रेम, मानवतावाद, देशप्रेमको भाव ओतप्रोत भएर आएको पाइन्छ । नेपाली नारीका दुःख एवम् संघर्षका अनुभूतिहरू उनका कविता एवम् गीतका मुख्य विशेषता बनेर आएका छन् ।
यस्तै गीत र कविता वाचन गर्दैगर्दा उनले शुभकामना मन्तव्यका लागि कलाकार प्रकाश घिमिरेलाई आग्रह गरिन् । घिमिरेले केशुको लेखनका विविध आयामका साथै पुछारसिटे अभियानका कार्यक्रम गर्ने विशेषताबारे प्रकाश पारे ।
लगत्तै आफ्ना दुई कविता वाचन गरी शर्माले एकल वाचनको मैजारो गरिन् । पुछारसिटे अभियानले पोखरामा २०७४ मा स्थापना भएदेखि नै विविध साहित्यिक, सामाजिक एवम् पर्यटकीय गतिविधि गर्दै आएको छ । आगामी समयमा शिक्षा, स्वास्थ्यलाई पनि केन्द्रमा राखेर संस्थाले विविध क्षेत्रमा प्रतिभा भएका सहरदेखि गाउँसम्मका व्यक्तिलाई मूलधारको मञ्चमा जोड्ने योजना रहेको संस्थाका अभियन्ता वसन्त विनोद बताउँछन् ।
यसअघि प्रकट पँगेनी ‘शिव’, अल्पज्ञानी, अर्जुन ढकाल, लक्ष्मण थापा, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ ‘सरू’, इन्द्र राना ‘प्रतीक’, डा वसन्त गौतम र डा ईश्वरमणि अधिकारीलाई संस्थाले एकल वाचकका उभ्याइसकेको छ ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया