पाताले छाँगोमात्र होइन प्राकृतिक सम्पदा सबै स्थानीय सरकारमातहत हुनुपर्छ


पोखरा । सुन्दर हिमालको काखमा अवस्थित पोखरा प्राकृतिक सौन्दर्य, प्राचीन संस्कृति र साहसिक गन्तव्यहरूले सुसज्जित छ । मुलुककै पर्यटन राजधानी पोखरा आकर्षक र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । साथै, पर्यटनमैत्री वातावरण, सहज आवागमन, आवास तथा न्यानो आतिथ्यता लगायतका विशेषता बोकेको पोखरा आन्तरिक तथा बाह्य पर्यटकहरूको उत्कृष्ट गन्तव्यको रूपमा स्थापित छ ।
पोखरा संसारकै उत्कृष्ट पर्यटकीय विशेषता भएको सहर हो । समुन्द्री सतहदेखि १ हजार मिटरभन्दा कम उचाइमा रहेर ८ हजार मिटरभन्दा अग्ला ३ वटा हिमाल अन्नपूर्ण प्रथम (८०९१ मिटर), मनास्लु (८१६३ मिटर) र धौलागिरि (८१६७ मिटर) नजिकबाट अवलोकन गरी अद्भुत आनन्द लिन सकिने एकमात्र ठाउँ हो, पोखरा । संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये ८ वटा हिमाल नेपालमा पर्दछन् । अत्यन्त सुन्दर कुमारी हिमाल माछापुच्छ«े, गंगापूर्ण, मर्दी लगायतका मनमोहक हिमशृङ्खलाको दृश्य पोखराबाट अवलोकन गर्न सकिन्छ ।
पोखरामा पर्यटकको रोजाइमा परेका दर्जनौँ लोकप्रिय सम्पदा छन् । समग्र पोखराको आर्थिक विकास, रोजगार सृजना गरी समृद्ध पोखरा निर्माण गर्न सहयोग पु¥याइरहेका पर्यटकीय गन्तव्यहरूको संरक्षण, विकास र प्रवद्र्धन आवश्यक छ । यिनै आकर्षक पर्यटकीय गन्तव्यहरूले पोखरालाई परिचित गराउनुका साथै पर्यटकको बसाई लम्ब्याउन सघाउ पु¥याइका छन् । पोखराको इतिहास, संस्कृति र जीवनशैलीसँग अन्योन्याश्रित सम्बन्ध रहेका यी गन्तव्य पोखरा र नेपालकै अमूल्य सम्पत्ति हुन् ।
डेविज फल्स (पाताले छाँगो), गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरे गुफा, शान्ति स्तूप, पुम्दीकोट महादेव, सेती खोंच, गुम्बा तथा मन्दिरहरू, फेवा, बेगनास लगायतका ताल पोखरामा पर्यटकका रोजाईका स्थलहरू हुन् ।
पोखराको हितमा प्राकृतिक स्रोत र साधन उपयोगको वातावरण निर्माणमा सबै पोखरेलीको सहयोग, साथ रहने अपेक्षा छ
पोखरा आउने पर्यटकको भ्रमण तालिकामा यी गन्तव्य प्राथमिकतामा पर्छन् । यी स्थल भ्रमण गर्ने क्रममा पर्यटकबाट संकलन हुने शुल्क तथा उनीहरूबाट हुने खर्चले समग्र पोखराको आर्थिक गतिविधि चलायमान हुनुका साथै विकास, निर्माणमा समेत महत्वपूर्ण टेवा पुग्दै आएको छ ।
पछिल्लो समय पोखरा महानगरपालिका वडा नं. १७ मा अवस्थित डेविज फल्स (पाताले छाँगो) सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा केही समस्या उत्पन्न भएका छन् । पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको डेविज फल्स (क्षेत्रफल ४२२६.०९ वर्ग मिटर) २०३४ चैत्र ३१ गते तत्कालीन नगर विकास समितिको निर्णय अनुसार स्थानीय छोरेपाटन माध्यमिक विद्यालयले रेखदेख तथा भोगचलन गर्दै आएको छ । यस क्षेत्रबाट संकलन हुने पर्यटन शुल्क बापतको राजस्वसमेत सोही विद्यालयले उपभोग गर्दै आएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी तथा पर्यटन शुल्क स्थानीय तहले संकलन गर्ने व्यवस्था छ । महालेखा परीक्षकको कार्यालयको आव २०७९÷८० को प्रतिवेदनले महानगरको कार्यक्षेत्रभित्र प्राकृतिक सम्पदाहरूबाट महानगरले मात्रै पर्यटन शुल्क संकलन गर्न पाउने व्यवस्था रहेकोतर्फ ध्यानाकर्षण गराएको छ ।
यद्यपि डेविज फल्स, महेन्द्र गुफा र चमेरे गुफाबाट संकलन हुने पर्यटन शुल्क क्षेत्राधिकारभित्र नपर्ने विद्यालयहरूले संकलन गरी आम्दानी गरेकाले उक्त आम्दानी महानगरपालिकामा दाखिला गर्नुपर्ने प्रस्ट तरिकाले उल्लेख गरेको छ । यसै तथ्यलाई आत्मसात् गरी पोखरा महानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रका सम्पदाबाट संकलित आम्दानी महानगरपालिकामा दाखिला हुने गरी महानगर कार्यपालिकाको बैठक निर्णय अनुसार सञ्चालन तथा व्यवस्थापन प्रक्रिया अगाडि बढाएको छ ।
हाम्रा पर्यटकीय सम्पदाहरू प्राकृतिक स्वरूपमा असर नपुग्ने गरी सौन्दर्यकरणसहित संरचनागत सुधार गर्दै लैजान जरुरी छ । पर्यटकीय स्थलहरूको समयानुकूल संरक्षण, विकास र प्रवद्र्धन आवश्यक छ । पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार डेविज फल्समा दिगो पर्यटन पूर्वाधार विकास आयोजनाअघि बढाएको छ । यस परियोजना कार्यान्वयन गर्ने क्रममा आकर्षक संरचनाहरूको निर्माणलाई सुनिश्चित गरिएको छ ।
उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले यस स्थानमा यस परियोजनाको अवधारणाअघि सारिएको हो । यसबाट हाल संकलन भइरहेको पर्यटन शुल्क (राजश्व)को परिमाण गुणात्मक रूपमा वृद्धि हुनेछ ।
सार्वजनिक निजी साझेदारीको अवधारणामा आयोजना सञ्चालन भएसँगै लामो समयदेखि यस क्षेत्रको भोगचलन गर्दै आएको छोरेपाटन माध्यमिक विद्यालयले प्राप्त गर्ने आम्दानीलाई समेत निरन्तरता दिने व्यवस्था गरिएको छ । पोखरा महानगरपालिकाले विद्यालय तथा विद्यालयसँग सम्बन्धित सरोकारवालासँग पटक पटक छलफल तथा बैठक आयोजना गरी यस विषयमा दुईपक्षीय सम्झौतासमेत भइसकेको छ ।
छोरेपाटन मावि र पोखरा महानगरपालिकाबिच २०८० साउन १० गते भएको सम्झौता बमोजिम विद्यालयलाई महानगरको नियमित अनुदानबाहेक महानगरले प्राप्त गर्ने राजस्व आम्दानीको अनुपातमा बढ्दै जाने गरी प्रारम्भमा वार्षिक ३ करोड १ लाख उपलब्ध गराउनेछ । साथै, हालको टिकट काउन्टरदेखि पश्चिम अन्तिम सीमा र पूर्वतर्फको अन्तिम सीमासम्म तथा दक्षिण पूर्व सिद्धार्थ राजमार्गतर्फका सटर कवलहरूबाट उठ्ने भाडा वापतको करिब १ करोडसमेत उक्त विद्यालयलाई दिने सहमति भएको छ ।
समग्र पोखराको दीर्घकालीन पर्यटन विकासलाई मध्यनजर गरी अगाडि बढाइएको योजना प्रक्रियाका सम्बन्धमा केही व्यक्ति र समूहबाट भइरहेका टिप्पणी तथा गतिविधिहरू पोखराको हितानुकूल छैनन् । वास्तविक तथ्यहरूलाई नजरअन्दाज गरी गरिएका व्यवहारले महानगरको समृद्धिलाई सहयोग पु¥याउन सक्दैनन् । निरन्तरको अवरोध, विरोध र असहमतिले विगतमा गरिएका सहमति तथा सम्झौता कार्यान्वयनमा बाधा उत्पन्न गराउन सक्नेतर्फ गम्भीर बन्न जरुरी छ ।
आफ्नो कार्यक्षेत्र भित्रका सम्पदाबाट पर्यटन शुल्क लगायतका राजस्व संकलन महानगरबाटै गर्नुपर्ने कानुनी प्रावधानप्रति महानगर पूर्ण प्रतिवद्ध छ । आगामी दिनमा सिंगो पोखराको हितमा हाम्रा प्राकृतिक स्रोत र साधनलाई साझा रूपमा उपयोगको वातावरण निर्माणमा सम्पूर्ण पोखरेलीको सहयोग र साथ रहने विश्वास छ ।
(तिम्सिना पोखरा महानगरका प्रवक्ता हुन् )
तपाईको प्रतिक्रिया