प्रधानमन्त्री केपी ओली पोखरामा, सुरक्षा व्यवस्था कडा

समाधान संवाददाता २०८१ माघ ३ गते १३:०८

पोखरा ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आएका छन् । उनी केहीबेरअघि मात्रै पोखरा विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरु, पोखराका मेयर धनराज आचार्य लगायतले स्वागत गरेका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहका प्रमुख अतिथि बनेर प्रधानमन्त्री ओली पोखरा आएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार हुन लागेको हो । प्रधानमन्त्री प्रतिष्ठानका कुलपति रहने प्रावधान छ । समारोहमा पहिलो र दोस्रो ब्याचका ४३ विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका डिन डा श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।
मेडिकल विज्ञान संकाय पोस्टग्राजुएट (चिकित्सा डाक्टर र शल्यचिकित्सा स्नातकोत्तर, एमडी/एमएस) का प्रथम र दोस्रो ब्याचका क्रमश १७ र २६ विद्यार्थीलाई दीक्षा दिइनेछ । कार्यक्रम पोखरा नर्सिङ क्याम्पसको प्रांगणमा गरिने प्रतिष्ठानका शाखा अधिकृत सुशीलकुमार अर्यालले जानकारी दिए ।

प्रतिष्ठानले २०७६ फागुनबाट शैक्षिक कार्यक्रम सुरु गरेको हो । स्नातकोत्तर तहमा शल्यचिकित्सा, मेडिसिन, बालस्वास्थ्य, स्त्री तथा प्रसुतिरोग, हाडजोर्नी र एनेस्थेसिया गरी ६ विधाका १७ विद्यार्थीबाट पढाइ सुरु गरेको हो । प्रतिष्ठानले दोस्रो शैक्षिक सत्रमा अघिल्ला शैक्षिक सत्रमा सञ्चालित ६ कार्यक्रमका साथै रेडियोलोजी गरी ७ वटा विधाका २६ जना विद्यार्थी लिएर पढाएको थियो ।
चिकित्सा शिक्षाका विभिन्न विधाका तेस्रो वर्षमा ३२, चौथो र पाँचौं वर्षमा ३०/३० जना रेजिडेन्ट चिकित्सकहरु स्नातकोत्तर तहमा अध्ययनरत छन् । प्रतिष्ठानले बिएस्सी नर्सिङ र बिएनएसको पढाइ पनि थालेको छ । जसमा पहिलो र दोस्रो वर्षमा गरी १ सय २१ विद्यार्थी अध्ययनरत छन् । यसै वर्षदेखि प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्चालनमा आएको छ । जसमा ५० सिट क्षमतामा ४६ विद्यार्थी भर्ना भएका छन् ।

Advertisement

प्रतिष्ठान साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना र स्वास्थ्य सेवाको सुदृढ आधारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम स्थापना भएको हो । प्रतिष्ठान चिकित्सा शिक्षासम्बन्धी जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी बनाउन प्रयत्नशील रहेको प्रशासनको दाबी छ ।

स्नातकोत्तरतर्फ एमडी/एमएस तथा बिएस्सी कार्यक्रमतर्फ ७ जना प्राध्यापक, ४१ जना सह—प्राध्यापक र ४८ जना उप—प्राध्यापकको टिम छ । बिएस्सी नर्सिङ कार्यक्रमका लागि ८ जना सह–प्राध्यापक र २ जना उप–प्राध्यापकको टिम छ ।
विसं २०७२ मा व्यवस्थापिका संसदबाट पारित भएको ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२’ मार्फत तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्नती गरेर स्वायत्त शिक्षण तथा स्वास्थ्य संस्थाका रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका माध्यमबाट सिंगो मुलुकलाई नै टेवा पुर्‍याएको दाबी अस्पताल प्रशासनको छ ।

स्वास्थ्य विज्ञानका क्षेत्रमा उच्च स्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधारणलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य राखेर प्रतिष्ठान स्थापना गरिएको डिन डा श्रीकृष्ण श्रेष्ठले बताए । उनका अनुसार प्रतिष्ठानले स्नातक तहका जनस्वास्थ्य, एलाइड हेल्थ साइन्सेज एवं डिएम/एमसिएच जस्ता विशेषज्ञ कार्यक्रम सञ्चालन गर्न पूर्वाधार तयार गर्ने कार्य अगाडि बढाइरहेको छ ।

तपाईको प्रतिक्रिया