कोरी–क्हफुचेमा टेलिकम नेटवर्क विस्तार माग

पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा माघे संक्रान्ति मेला जारी छ । मेलाका कारण यहाँको होटल, होमस्टे भरिभराउ छन् । मादी गाउँपालिका १ मा रहेको सिक्लेस युवा क्लबको आयोजनामा माघ १ बाट सुरु भएको क्लबको ३० औं वार्षिकोत्सव तथा मेलाको औपचारिक सुरुआत बिहीबारका लागि तय थियो । उद्घाटनका क्लबले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई निम्त्याएका थिए ।
बुधबार साँझ नै सिक्लेस पुगेका मन्त्रीले बिहीबार बिहानदेखि नै स्थानीयको गुनासो सुन्दै गाउँ डुलेका थिए । बाटो, नाला, इन्टरनेट, नेटवर्किङ, व्यवस्थित पदमार्गका समस्या समाधानका लागि मन्त्रीलाई गाउँलेले सुनाएका थिए । यत्तिले मन्त्रीको ध्यानाकर्षणमा कमी हुने डरले सिक्लेसीले मन्त्री गुरुङलाई मागपत्र नै थमाए ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङलाई कास्की क्षेत्र नम्बर १ का सांसद मनबहादुर गुरुङ, मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, मादी १ का वडाध्यक्ष देवीजंग गुरुङ र क्लबका अध्यक्ष भोलामान गुरुङले संयुक्त रुपमा माग पत्र बुझाएका हुन् । उनीहरुले मुख्य गरी ५ वटा समस्याका पहल परिदिन माग गरेका छन् ।
मागपत्रमा पोखरा काँहुखोलादेखि सिक्लेससम्मको सडक कालोपत्रे छिटो गरिदिन आग्रह गरेका छन् । संघ र गण्डकी प्रदेश सरकारले २० किलोमिटर सडक कालोपत्रे गरिसकेको अवस्थामा बाँकी १९ किलोमिटर सडक पीच गर्न माग गरेका हुन् । पछिल्लो समय चर्चामा रहेको र पर्यटकको रोजाइमा परेको कोरी–क्हफुचेमा नेटवर्क विस्तारका लागि पनि उनीहरुको माग छ । सिक्लेस, कोरी, ठुल्ने हुँदै मनाङसम्मको पदमार्ग प्रवद्र्धन, सिक्लेस साँस्कृतिक ग्रामको योजनाको निरन्तरता, सिक्लेसमा रहेको अन्नपूर्ण माविमा इन्टरनेटसहितको कम्प्युटर ल्याब र ट्रस्ट निर्माणको पनि माग गरेका हुन् ।
कार्यक्रमको उद्घाटपछि मागपत्र लिएपछि मन्त्री गुरुङले सिक्लेसको पर्यटन प्रवद्र्धनमा माघे संक्रान्ति मेलाले ठूलो टेवा पुग्ने बताए । मेलामा मात्र नभएर अन्य समयमा सिक्लेस पुग्नका लागि बाटो अति आवश्यक भएकाले त्यसमा आफूले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । ॅएक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत अहिलेका प्रतिनिधि सभा सदस्य त्यो बेलाको प्रदेश सभा सदस्य मनबहादुर गुरुङको सिफारिसमा हामीले सिक्लेस पुग्ने बाटो बनाउन सुरु गरेका हौं,’ उनले भने । पछिल्लो केही समय विविध कारणले ढिला भएपनि यसको काम छिटो सुरु गरिने उनले सुनाए ।
मन्त्रालयले यो वर्ष भित्रमा नेपालका सबै घरघरमा इन्टरनेट सेवा उपलब्ध गराउने योजना बनाएको उनले मन्त्री गुरुङले सुनाए । ॅनेपालको पर्यटकीय गाउँ र क्षेत्रमा प्रत्येक घरघरमा इन्टरनेट र टेलिफोन चल्ने प्रवन्ध भयो भने त्यहाँका आर्थिक उन्नतिमा त्यसले पनि टेवा पुग्छ,’ उनले भने, ॅआज तपाईहरुले पनि कोरी–क्हफुचे क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क विस्तारको माग गर्नुभएको छ । यहाँबाट फर्केपछि कहाँ कहाँ टावर आउनदैन सर्वे गर्न पठाउँछु । सिक्लेसको सबै ठाउँमा यो वर्षभित्रमा टेलिफोन सबै ठाउँमा आउँछ यति कुराको ग्यारेन्टी गर्छु ।’
पछिल्लो समय गाउँका विद्यालयमा विद्यार्थी संख्या घटिरहेको अवस्थामा सिक्लेसको अन्नपूर्णमा माविमा ३ सय विद्यार्थी अध्ययन गर्नु खुसी विषय रहेको मन्त्री गुरुङले बताए । यस विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनका लागि इन्टरनेटसहितको कम्प्युटर ल्याबसँगै भौतिक विकास लागि पहल गर्ने उनको भनाइ थियो । सिक्लेस हुँदै मनाङसम्म पुग्ने पदमार्गसहित अन्य पदमार्गका लागि पनि स्थानीयसँगै अन्य पर्यटन व्यवसायीको सहकार्यमा अघि बढ्न सकिनेतर्फ उनले ध्यान दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले छिट्टै सिक्लेसबाट कोरीसम्मको केवलकारको योजना अघि बढ्ने बताए । यसका लागि कानुनी प्रक्रिया सकिएको र नेपाल सरकारबाट जग्गा भोगाधिकारको प्रक्रिया बाँकी रहेको उनले सुनाए । ॅसिक्सेलबाट केवलकार चलेपछि अहिले आउनेभन्दा १० गुणा बढी पर्यटक सिक्लेस आउनुहुनछ,’ उनले भने, ॅयसले गर्दा सिक्लेस, मादी गाउँपालिका, कास्की जिल्ला, गण्डकी प्रदेश हुँदै सिंगो देशको पर्यटन विकासमा धेरै ठूलो योगदान दिनेछ ।’
मेला उद्घाटन सत्रमा मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, उपाध्यक्ष कल्पना गुरुङ, वडाध्यक्ष देवीजंग गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) आयोजना प्रमुख डा. रविन कडरियालगायतले सिक्लेसको पर्यटन प्रवद्र्धनमा सबै एकजुट हुनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया