सिक्लेसमा माघे संक्रान्ति मेला जारी

समाधान संवाददाता २०८१ माघ ३ गते १९:२८

पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा माघे संक्रान्ति मेला भव्य रूपमा सञ्चालन भइरहेको छ । मादी गाउँपालिका–१ मा रहेको सिक्लेस युवा क्लबले आफ्नो ३० औं वार्षिकोत्सवको अवसर पारेर माघ १ गतेबाट मेला सुरु गरेको हो । ४ दिनसम्म चल्ने मेलाले सिक्लेसको सांस्कृतिक र पर्यटकीय महत्वलाई उजागर गर्ने लक्ष्य राखेको छ ।

Advertisement

मेलाको उदघाटन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । बुधबार साँझ नै सिक्लेस पुगेका मन्त्री गुरुङले बिहीबार बिहान स्थानीयहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको समस्या सुनेका थिए।

मेलामा खेलकुद प्रतियोगिता मुख्य आकर्षणका रूपमा छन् । खुला पुरुष भलिबल र बास्केटबल प्रतियोगिताका विजेताले समान १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, खुला महिला भलिबल प्रतियोगितामा विजेताले ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । गुरुङ भाषा नृत्य प्रतियोगितामा विजेताले ६० हजार रुपैयाँ, उपविजेताले ४५ हजार रुपैयाँ र तेस्रो हुनेले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

ठेलो प्रतियोगिता पनि मेलाको अर्को आकर्षण बनेको छ । बुधबार सम्पन्न प्रतियोगितामा स्याङ्जा टक्सारका नीरज गुरुङ विजेता बनेका छन् । उनले ४५ हजार रुपैयाँ जितेका छन् भने बागलुङ निसिखोलाका बालकुमार विरही दोस्रो स्थानमा रहे ।

मेलाका कारण सिक्लेसका होटल, होमस्टे भरिभराउ भएका छन् । स्थानीय कला, संस्कृति, खेलकुद र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यो मेला माघ ४ गतेसम्म सञ्चालन हुनेछ । सिक्लेस, पोखरादेखि ४० किलोमिटरको दूरीमा अवस्थित, पर्यटकीय गन्तव्यका रूपमा चर्चित छ । आयोजकले मेलाले स्थानीय पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया