मानव अधिकार एलाइन्समा मधु पन्थी

समाधान संवाददाता २०८१ माघ ३ गते १९:४६

पोखरा । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) जिल्ला शाखा कास्कीको सातौं अधिवेशन तथा साधारण सभा बिहीबार भएको छ । अधिवेशनले अध्यक्ष मधु पन्थीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

Advertisement

उपाध्यक्ष बिमला केसी, सचिव रमेश सुवेदी, उपसचिव कल्पना घिमिरे सापकोटा र कोषाध्यक्ष सवनम शर्मा छन् । कार्यसमिति सदस्यमा बिमला गुरुङ, तुलबहादुर रानाभाट, कृष्णमाया गुरुङ, अच्यूत पौडेल, आश्मा पहारी र सुशीला नेपाली छन् ।
कार्यक्रममा मानव अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरेलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।

मानव अधिकार एलाइन्सका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज रामचन्द्र पौडेलले अधिवेशनको उद्घाटन गर्दै नागरिक संस्थालाई सचेत र संगठित गरी मानव अधिकार आन्दोलनलाई अगाडि बढाएको बताए ।

‘नागरिकको अभियान तथा आन्दोलनलाई कसरी अगाडी बढाउने तथा पार्टीले मानव अधिकारको मुद्दालाई कसरी हेर्ने भन्नेमा एलाइन्सले वहस चलाएको छ,’ उनले भने, ‘राजनीतिक रुपमा भएका मानव अधिकार उल्लघंनका सवाललाई एलाइन्सले सशक्त ढंगले उठाउँछ ।’

उनले राजनीतिभन्दा माथि उठेर मानव अधिकारको मुद्दालाई निश्पक्ष रुपमा उठाउने जानकारी दिए । उनले वातावरणको सन्तुलन र दिगो विकासको लागि मानव अधिकारमैत्री विकास पद्धतीलाई अबलम्बन गर्नुपर्ने बताए । उनले एलाइन्सले पालिकादेखि टोलसम्म संगठन विस्तारको अवधारणा ल्याएको जानकारी दिए । उनले यही फागुन १९, २० र २१ गते काठमार्डौमा मानव अधिकार एलाइन्सको छैटौं राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिए ।

Advertisement

नेकपा(एमाले) जिल्ला कमिटी कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले नागरिक समाजको सकारात्मक आलोचनालाई ग्रहण गरेर पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । समतामूलक समाजको निर्माणदेखि समाजिक न्याय र मानव अधिकारको सवाललाइ पार्टीले सही ढंगले अगाडि बढाउने जानकारी दिँदै उनले सीमान्तकृत अल्पसंख्यकलाई राज्यको मुल प्रवाहमा ल्याउन ध्यान दिने बताए ।
कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य शिवप्रसाद खकुरेल, गण्डकी प्रदेशका अध्यक्ष शिवराज शर्मा, वरिष्ठ अधिवक्ता घिमिरे, राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद बाग्ले, नेकपा (एमाले) पोखरा महानगर कमिटी उपाध्यक्ष नरेन्द्रनाथ ढुंगाना, गैसस महासंघ नेपाल कास्की अध्यक्ष बुद्धिबहादुर थापा, नेपाल बुद्धिजीवी परिषद् कास्की अध्यक्ष डा विश्व अधिकारी, पत्रकार श्याम कुँवर, महिला अपांगता सशक्तीकरण केन्द्रका अध्यक्ष लोचना अधिकारी, चिल्डे्रन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्मा, मानव अधिकार एलाइन्स कास्कीका अध्यक्ष पदमराज पहारी, उपाध्यक्ष बिमला केसी लगायतले मानव अधिकारकर्मीले सुशासन प्रवद्र्धन, जनजीविका र राष्ट्रियताको रक्षाको लागि ध्यान दिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया