गण्डकीमा स्वास्थ्य मन्त्रालय मातहतका ३७ कार्यालयको नाम फेरियो

पोखरा । गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय मातहतका ३७ कार्यालयको नाम फेरेको छ । पुस ९ गतेको मन्त्रिपरिषको निर्णय अनुसार ती कार्यालयहरुको नाम फेरिएको स्वास्थ्य मन्त्री कृष्ण पाठकले बताए । उनका अनुसार संघीयताकाे मर्म अनुसारका नाम नभएकाले अहिले कार्यालयहरुको नाम फेर्नु परेको हो ।
मन्त्री पाठकले पदवहालीका बेला गरेको नीतिगत, संरचनागत र कानुनी सुधारको प्रतिबद्धता अनुसार संरचनागत सुधारमा यो काम गरिएको जानकारी दिए । आयुर्वेद अस्पतालको नाम आयुर्वेद कार्यालय थियो । जसका कारण उपचार गर्न आउनेहरुलाई पनि अलमल हुने गरेको मन्त्री पाठकले बताए ।
सचिव विनोदबिन्दु शर्माले प्रदेशस्तरका ६, ११ वटै जिल्लाका स्वास्थ्य कार्यालय, ११ वटै जिल्ला अस्पताल र ९ वटा जिल्ला आयुर्वेद कार्यालयको नाम फेरिएको बताए ।
स्वास्थ्य निर्देशनालयको नाम फेरेर प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखरा राखिएको छ । यसैगरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नाममा अगाडिको प्रदेशको ठाउँमा प्रादेशिक राखिएको छ । क्षयरोग उपचार केन्द्रलाई प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र बनाइएको छ । कोरोनाका बेला स्थापना गरिएको संक्रामक तथा सरुवा रोग अस्पतालको नाम फेरेर प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल राखिएको छ ।
खासगरी संक्रामक रोगलाई लक्ष्य गरी यो अस्पताल स्थापना गरिएको भए पनि पछिल्लो सरकारले यसलाई जनरल अस्पतालमा परिणत गरेको हुन् ।
११ वटै स्वास्थ्य कार्यालयहरुको नाम समेत फेरिएको छ । जस्तै, स्वास्थ्य कार्यालय, मुस्ताङ रहेकामा प्रदेश जनस्वास्थ्य कार्यालय, जोमसोम, मुस्ताङ बनाइएको छ ।
अरु बाँकी जिल्लाका हकमा पनि त्यसैगरी नाम फेरिएको हो । यसैगरी ११ वटै जिल्ला अस्पतालको नाम समेत फेरिएको छ । जस्तो कि जिल्ला अस्पताल मुस्ताङ रहेकामा अहिले नाम फेरेर प्रदेश अस्पताल, जोमसोम, मुस्ताङ राखिएको छ । अरु जिल्ला अस्पतालमा पनि यसै गरिएको छ । धौलागिरी अस्पतालको नाम धौलागिरी प्रादेशिक अस्पताल राखिएको छ । पोखराको मातृशिशु मितेरी अस्पतालको नाम मातृशिशु मितेरी प्रादेशिक अस्पताल, पोखरा, कास्की बनाइएको छ ।
प्रदेशका ९ जिल्लामा रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको नाम समेत फेरिएको स्वास्थ्य सचिव विनोदविन्दु शर्माले बताए । जस्तो कि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मुस्ताङको नाम प्रदेश आयुर्वेद चिकित्सालय, जोमसोम, मुस्ताङ बनाइएको छ । अरु जिल्लाका हकमा समेत त्यसै गरी नाम राखिएको छ । प्रदेशका लमजुङ र म्याग्दी जिल्लमा आर्युर्वेद चिकित्सालय छैनन् ।
संघीयता लागु हुनुअघि जिल्ला तहका स्वास्थ्य कार्यालयहरुको नाम जिल्ला जनस्वास्थ्य कार्यालय नै थियो । केही कार्यालय र अस्पतालसँगै भएको जिल्लामा भने जिल्ला स्वास्थ्य कार्यालय भनिने गरिन्थ्यो ।
स्वास्थ्य मन्त्रालयकी उपसचिव गीता घिमिरेले मन्त्रिपरिषदको निर्णय अनुसार कार्यालयहरुको नाम संशोधन भएकाले त्यहि नाम, छाप र लेटरप्याड लगायत कार्यालउको पहिचानसँग सम्बन्धित विषय संशोधनका लागि परिपत्र गरिएको बताइन् ।
तपाईको प्रतिक्रिया