डाक्टरले खोजिरहेका रोगहरुबाहेक एआईले अरु कसरी पत्ता लगाउँछ

जोए कोर्बिन २०८१ माघ ४ गते १२:४८

२०२३ मा ५८ वर्षीय विल स्टडहोल्म आक्सफोर्डस्थित एनएचएस अस्पतालको आकस्मिक कक्षमा पेटको समस्या लिएर पुगेका बेला उनलाई हाडखुट्टा कमजोर हुने रोग (अस्टियोपोरोसिस) हुने अपेक्षा थिएन । यो रोग, जुन प्रायः उमेरसँग सम्बन्धित हुन्छ, हड्डीलाई कमजोर र नाजुक बनाउँदै भाँचिने जोखिम बढाउँछ । स्टडहोल्मलाई गम्भीर फुड पोइजनिङ भएको पुष्टि भयो । तर, उनको स्वास्थ्य समस्या पत्ता लगाउने प्रक्रियाको सुरुवातमै उनको पेटको सीटी स्क्यान गरिएको थियो ।

Advertisement


त्यो स्क्यानलाई पछि कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट परीक्षण गर्दा उनको मेरुदण्डमा एउटा हड्डी बसेको (कोलैप्स्ड भर्टिब्रा) पत्ता लाग्यो, जुन अस्टियोपोरोसिसको प्रारम्भिक संकेत हो । पछिका परीक्षणपछि स्टडहोल्मले आफ्नो रोगको निदान मात्र होइन, उपचार पनि पाए – अस्टियोपोरोसिसको औषधिको वार्षिक सुई, जसले उनको हड्डीको घनत्व सुधार्ने अपेक्षा गरिएको छ । ‘म आफूलाई एकदम भाग्यमानी महसुस गर्छु,’ स्टडहोल्म भन्छन्, ‘यो एआई प्रविधिबिना पत्ता लाग्ने थिएन होला ।’ यस्तो नयाँ होइन कि रेडियोलोजिस्टले बिरामीको स्क्यान गर्दा जाँच गरिएको कुरा बाहेक अन्य कुनै समस्या – जस्तै, अदेखिएको ट्युमर वा कुनै अंकमा समस्या – औंल्याउँछन् ।


एआईको यो प्रयोगलाई अवसरवादी स्क्रिनिङ वा अवसरवादी इमेजिङ भनिन्छ, जसको ‘सुरुवात मात्र भएको छ,’ विस्टकोन्सिन–म्याडिसन विश्वविद्यालयका रेडियोलोजी र मेडिकल फिजिक्सका प्राध्यापक पेरी पिकहाड्र्ट भन्छन् । पेरीले यो प्रविधि विकास गरिरहेका छन् ।


यसलाई अवसरवादी भनिनुको कारण यो हो कि यसले पहिल्यै गरिएको स्क्यानलाई उपयोग गरेर त्यसमा भएको समस्याको खोजी गर्छ – चाहे त्यो क्यान्सर, छातीको संक्रमण, अपेन्डिसाइटिस वा पेटको दुखाइको आशंका होस् ।


यसले सुरुका लक्षण देखा पर्नुअघि नै पहिल्यै नपत्ता लगाइएका रोगहरूलाई प्रारम्भिक चरणमै पत्ता लगाउन सक्छ, जुन बेला उपचार गर्न वा बढ्न नदिने सहज हुन्छ । ‘हामीले विगतमा गुमाएको रोकथामको अभावलाई धेरै हदसम्म टार्न सक्छौं,’ प्राध्यापक पिकहाड्र्ट भन्छन् ।

Advertisement


नियमित स्वास्थ्य परीक्षण वा रगत परीक्षणले यी रोगहरू पत्ता लगाउन अक्सर असफल हुन्छन्, उनी थप्छन् । एनवाइयू लांगोनकी रेडियोलोजिस्ट मिरियम ब्रेडेल्ला, जो यस क्षेत्रमा एल्गोरिदम विकास गरिरहेकी छिन्, भन्छिन् कि सीटी स्क्यानहरूमा शरीरका तन्तु र अंगहरूको सम्बन्धमा धेरै डेटा हुन्छ, जसलाई हामीले वास्तवमा प्रयोग गर्दैनौं ।

यस्तो डेटा विश्लेषण सैद्धान्तिक रूपमा रेडियोलोजिस्टहरूले मापन गरेर बिना एआई गर्न सकिन्छ, तर यो निकै समय खपत गर्ने काम हुने उनले औंल्याइन् । यस प्रविधिले पूर्वाग्रह न्यूनीकरण गर्ने हिसाबले पनि फाइदा पुर्‍याउँछ ।

प्रविधिले व्यक्तिलाई फाइदा पर्‍याउन सक्छ भने पनि यसले ल्याउने फराकिलो असरहरुको विचार गर्न आवश्यक छ


उदाहरणका लागि, अस्टियोपोरोसिसलाई प्रायः पातला, वृद्ध गोरा महिलाहरूलाई असर गर्ने रोगका रूपमा हेरिन्छ – जसले गर्दा डाक्टरहरूले उक्त समूहबाहेक अन्यमा यो रोग हुनसक्ने सम्भावनालाई सोच्दैनन् । तर, अवसरवादी इमेजिङले यस्तो विभेद गर्दैन ।


स्टडहोल्मको केस यसको राम्रो उदाहरण हो । अस्टियोपोरोसिसका लागि तुलनात्मक रूपमा जवान, पुरुष र हड्डी भाँचिएको इतिहास नभएको हुँदा, एआई बिना उनलाई यो रोग भएको निदान गरिनुपर्ने सम्भावना निकै कम थियो ।


अस्टियोपोरोसिसबाहेक, एआईलाई अवसरवादी रूपमा मुटुरोग, बोसोयुक्त कलेजो रोग, उमेरसँग सम्बन्धित मांसपेशी क्षय र मधुमेह जस्ता रोगहरू पत्ता लगाउन तालिम दिइँदैछ । मुख्य ध्यान पेट वा छातीको सीटी स्क्यानमा केन्द्रित भए पनि, अन्य प्रकारका इमेजिङ, जस्तै छातीको एक्स–रे र मेमोग्रामबाट पनि जानकारी प्राप्त गर्ने प्रयास भइरहेको छ ।


एल्गोरिदमहरूलाई हजारौं ट्याग गरिएको पुराना स्क्यानहरूमा आधारित गरेर तालिम दिइन्छ । तर, यो प्रविधि विभिन्न जातीय समूहहरूमा प्रयोग गर्न सकिने बनाउनका लागि तालिम डेटा व्यापक समूहको स्क्यानहरू समेट्नुपर्छ भन्नेमा विशेषज्ञहरू जोड दिन्छन् ।


एआईले कुनै शंका लाग्दो कुरा भेट्टाएमा, त्यसलाई रिपोर्ट डाक्टरहरूलाई पठाउनुअघि रेडियोलोजिस्टहरूले पुष्टि गर्ने मानवीय समीक्षा हुने अपेक्षा पनि गरिन्छ । स्टडहोल्मको स्क्यान परीक्षण गर्न प्रयोग गरिएको एआई प्रविधि इजरायली कम्पनी नानोक्स डट एआईको हो, जुन अवसरवादी स्क्रिनिङका लागि एआईमा काम गर्ने थोरै कम्पनीहरूमध्ये एक हो । अधिकांश कम्पनीहरू भने स्क्यानहरू विशेषतः गरिएका अवस्थाहरूको तीव्र र सटीक निदानमा एआई प्रयोग गर्न केन्द्रित छन् ।


नानोक्स डट एआईले नियमित सीटी स्क्यानबाट अस्टियोपोरोसिस, मुटुरोग र बोसोयुक्त कलेजो रोग पत्ता लगाउन सहयोग गर्ने गरी तीनवटा अवसरवादी स्क्रिनिङ उत्पादनहरू प्रदान गर्दछ । अक्सफोर्ड एनएचएस अस्पतालहरूले नानोक्स डट एआईको अस्टियोपोरोसिस केन्द्रित उत्पादनलाई २०१८ मा परीक्षण गर्न थालेका थिए र २०२० मा औपचारिक रूपमा प्रयोगमा ल्याए ।


अक्सफोर्ड अस्पतालहरूको नतिजाले एनएचएसको औसतभन्दा छ गुणासम्म बढी बिरामीहरूमा मेरुदण्डको भाँचिएका हड्डी (भर्टिब्रल फ्र्याक्चर) पहिचान गरेको देखाएको छ । ती बिरामीलाई पछि अस्टियोपोरोसिसको परीक्षण र उपचार सुरु गर्न मिल्छ, भन्छन् अक्सफोर्ड विश्वविद्यालयका अस्टियोपोरोसिस र दुर्लभ हड्डी रोगका प्राध्यापक कासिम जावेद, जसले यो एल्गोरिदमको प्रयोगमा नेतृत्व गरेका छन् ।


यो एल्गोरिदमको थप परीक्षण अहिले क्याम्ब्रिज, कार्डिफ, नटिंघम र साउथह्याम्प्टनका अस्पतालहरूमा पनि भइरहेको छ । ‘हामी यसलाई एनएचएसभरि प्रयोग गर्न प्रमाण संकलन गर्न चाहन्छौं,’ प्राध्यापक जावेद भन्छन् ।


तर, यो प्रविधिले व्यक्तिलाई फाइदा पु¥याउन सक्छ भने पनि यसले ल्याउने फराकिलो असरहरूको विचार गर्न आवश्यक छ, भन्छन् किंग्स कलेज लन्डनका स्वास्थ्य इन्जिनियरिङका प्राध्यापक सेबास्टियन और्सेलिन, जो एआई सेन्टर फर भ्यालु बेस्ड हेल्थकेयरका प्रमुख हुन् । ‘यो प्रविधिको प्रयोगले स्वास्थ्य प्रणालीमा माग बढाइरहेको छ, घटाइरहेको छैन,’ उनी भन्छन् ।
पहिलो समस्या भनेको यो हो कि अवसरवादी स्क्रिनिङले कुनै रोग भएको हुनसक्ने संकेत गरेका व्यक्तिहरूलाई थप पुष्टि परीक्षण आवश्यक पर्न सक्छ, जसले स्रोतहरू माग्छ । र, यदि एआई गलत भएमा वा धेरै संवेदनशील भएमा, धेरै अनावश्यक परीक्षण गर्नुपर्ने हुन सक्छ ।


त्यसपछि ती अतिरिक्त व्यक्तिहरूलाई सेवा दिनका लागि व्यवस्था आवश्यक हुन्छ, जसले अन्ततः रोग भएको प्रमाणित गर्छ । यो प्रविधिसँग आउने अतिरिक्त चाप एउटा चुनौती हो भन्ने स्वीकार्छन् प्राध्यापक जावेद – तर समाधानहरू पनि छन् ।
अक्सफोर्डमा फ्याक्चर भएको पुष्टि भएका बिरामीहरूलाई मुख्यतः नर्सहरूद्वारा सञ्चालित फ्याक्चर रोकथाम सेवामा रूट गरिन्छ, जसले गर्दा डाक्टरहरूमा चाप नपरोस् । ‘एआईले तिमीलाई प्रक्रियालाई परिवर्तन गर्न बाध्य बनाउँछ,’ उनी भन्छन् । र दीर्घकालमा, प्राध्यापक जावेद विश्वास गर्छन् कि प्रारम्भिक चरणको अस्टियोपोरोसिस भएको धेरै मानिसहरूलाई पत्ता लगाएर उनीहरूलाई आवश्यक रोकथाम उपचार दिनुले एनएचएसलाई पैसा बचत गराउनेछ । ‘हड्डी भाँचिनु मानिसहरू अस्पताल भर्ना हुने शीर्ष कारणहरूमध्ये एक हो,’ उनी भन्छन् ।


स्टडहोल्मले अस्टियोपोरोसिसको विनाशकारी प्रभाव आफ्नै आँखाले देखेका छन्ः यसकै कारण उनकी आमाको दुवै नितम्ब भाँचिएको थियो । यो पहिले केवल वृद्ध व्यक्तिको रोगका रूपमा मानिन्थ्यो, जसको केही गर्न नसकिने ठानिन्थ्यो, उनी भन्छन् । ‘म आफ्ना हड्डी चक बन्नु अघि केही गर्न पाएकोमा आफूलाई निकै सौभाग्यशाली महसुस गर्छु,’ उनी भन्छन् ।

जोए कोर्बिन अमेरिकाको सान फ्रान्सिस्कोमा बसेर स्वतन्त्र पत्रकारिता गर्छिन् । विज्ञान, प्रविधि, अनुसन्धान, वातावरण र उच्च शिक्षाकाबारेमा उनको लेखन नियमित रूपमा द गार्डियन/अब्जर्भर र बीबीसी न्युजको वेबसाइटमा प्रकाशित हुन्छ, यो आलेख बिबिसीबाट अनुवाद गरिएको हो

तपाईको प्रतिक्रिया