भारत इभीको विश्व उत्पादन केन्द्र बन्ने
सुजुकी मोटरले भारतमा २०३१ सम्म वार्षिक ४० लाख गाडी उत्पादन गर्ने

दिल्ली ।
सुजुकी मोटरका अध्यक्ष तोशिहिरो सुजुकीले सुजुकी मोटरका विद्युतीय गाडीहरूका लागि भारत विश्वव्यापी उत्पादन केन्द्र बन्ने बताएका छन् । कम्पनीले यी गाडीहरू जापानसहित युरोपजस्ता अन्य बजारमा पनि निर्यात गर्ने योजना बनाएको पनि उनले सुनाए ।
सुजुकी मोटरका लागि भारत बिक्री र राजस्वको हिसाबले सबैभन्दा ठूलो बजार हो । कम्पनीले यहाँ बजारको अग्रणी मारुति सुजुकीमा बहुमत सेयरमार्फत उपस्थिति जनाएको छ ।
शुक्रबार, मारुतीले भारतमा आफ्नो पहिलो विद्युतीय सवारी ‘ई भिटारा’ मझौला आकारको एसयूभी लञ्च गरेको छ । यसलाई विश्वव्यापी रूपमा निर्यात गरिनेछ र सुजुकीको साझेदार टोयोटा मोटर कर्पलाई पनि आपूर्ति गरिनेछ ।
‘सुजुकीका लागि भारतको उत्पादित हाम्रो बलियो पक्ष हो, र हामी यस फाइदाको पूरा उपयोग गर्दै युरोप, जापान, मध्यपूर्व, अफ्रिका, मध्य र दक्षिण अमेरिकाजस्ता विभिन्न बजारमा उच्च–गुणस्तरीय र आकर्षक उत्पादनहरू आपूर्ति गर्नेछौं,’ सुजुकी मोटरका अध्यक्ष तोसिहिरो सुजुकीले नयाँ दिल्लीमा पत्रकारहरूसँग भने ।
‘विश्वव्यापी रूपमा ईभी बजार सुस्त छ तर मलाई लाग्छ, भारतमा ईभी बिक्रीको सम्भावना छिटो बढ्नेछ,’ उनले थपे । भारतमा इभी बिक्री वृद्धि गत वर्ष २० प्रतिशतमा झरेको थियो, जुन २०२३ मा करिब ११५ प्रतिशत थियो । तर यो अझै पनि समग्र गाडी बजारको ४ प्रतिशत वृद्धिभन्दा तीव्र छ । सरकारको २०३० सम्म ईभीको बजार हिस्सा ३० प्रतिशतमा पु¥याउने महत्वाकांक्षी लक्ष्य छ, जुन गत वर्ष बिक्री भएका ४३ लाख गाडीमध्ये लगभग २.५ प्रतिशत थियो ।
सवारी साधनको दूरी र चार्जिङ नेटवर्कबारेका चिन्ताहरूलाई सम्बोधन गर्दै, सुजुकीले आफ्ना सेवा केन्द्रहरुमा चार्जर स्थापना गरिरहेको छ र प्रविधि र उत्पादन परिपूर्ण भएपछि साना ईभीमा पनि विस्तार गर्ने योजना बनाएको छ ।
सुजुकीले हाइब्रिड, ग्यास र हाइड्रोजनजस्ता अन्य हरित प्रविधिहरू पनि विकास गर्नेछ । सुजुकी मोटरले भारतमा २०३१ सम्म वार्षिक ४० लाख गाडी उत्पादन गर्ने क्षमता दोब्बर बनाउन, नयाँ मोडेलहरू लन्च गर्न र आफ्नो बजार हिस्सा जोगाउन ४ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने योजना बनाएको छ ।
मारुतीले लामो समयदेखि भारतको गाडी बजारमा आफ्ना साना र किफायती गाडीहरूद्वारा नेतृत्व गरेको छ । तर, यसको हिस्सा २०२० मा ५० प्रतिशतभन्दा माथिबाट आज लगभग ४० प्रतिशतमा झरेको छ ।
यसको कारण हुन्डाई मोटर र टाटा मोटर्सजस्ता प्रतिस्पर्धीहरूले फिचर–सम्पन्न, प्रिमियम एसयूभी बजारमा ल्याएका हुन् । ‘भारत तेस्रो ठूलो गाडी बजार बनिसकेको छ, त्यसैले यो सारा विश्वको ध्यान केन्द्रित भएको छ,’ सुजुकीले भने । उनले मारुतीले पुनः आफ्नो ५० प्रतिशत हिस्सा फिर्ता ल्याउने लक्ष्य राखेको बताए तर समयसीमा उल्लेख गरेनन् ।
तपाईको प्रतिक्रिया