फेदीखोला ८७ महिलाको पाठेघरको क्यान्सर सम्बन्धी जाँच

पोखरा । फेदीखोला गाउँपालिका वडा नं. ३ को सहकार्य तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा शनिबार फेदीखोला गाउँपालिका वडा नं. ३ भाटखोलाका भिआइए जाँच गरिएको छ । शिविरमा ८७ महिलाको पाठेघरको क्यान्सर सम्बन्धी जाँच (भिआइए) परीक्षण गरिएको हो ।
तीमध्ये ६ जनाको भिआइए पोजिटिभ देखिएकाले उनिहरुलाई थप परीक्षणका लागि गण्डकी मेडिकल कलेज रिफर गरिएको छ । रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति, रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दीपेन्द्र शर्माले सन् २०२४/२५ मा कास्की, स्याङजा, तनहुँ लगायतका जिल्लामा १ हजार ५ सयभन्दा बढी महिलाको पाठेघरको भिआइए परीक्षण गर्ने लक्ष्य लिइएको सुनाए । यसअघि पोखरा महानगरपालिका वडा नं. १६ र ७ नं वडामा कार्यक्रम गरिसकिएको छ ।
फेदीखोला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष कृष्णबहादुर रानाभाटले आफ्नो वडामा कार्यक्रम ल्याएर सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए । कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्व अध्यक्ष प्रेम शर्मा, रोटरी क्लब अफ पोखरा क्यापिटलका संस्थापक अध्यक्ष सन्तोष सेन, भाटखोला स्वास्थ्य चौकी प्रमुख कविता गौतम, गण्डकी मेडिकल कलेज नयाँबजारकी स्त्री रोग विषेशज्ञ डा बालकुमारी साह, स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष कृष्ण रानाभाट लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया