साहित्य शृंखलाको २६८ औं शृंखला

पोखरा ।
साहित्य शृंखला पोखराको २६८ औं शृंखला शनिबार पश्चिमाञ्चल मावि, गैह्रापाटनमा भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै शृंखलाका पूर्वअध्यक्ष यादवराज उपाध्यायले शृंखलालाई मजबुत बनाउनका लागि संगीतकलाका साथ साहित्यलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गरे ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति जनगायक पदमराज ढकालले ‘नेपाली हौं हामी हजुर’ बोलको गीतसमेत गाए । गीताञ्जली साहित्य परिवारका वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’ ले ‘आजभोलि के देख्नु परेको – जिउँदो गरीब छ, आज मरेको’ गीतिलयमा वाचन गरे ।
गीता तिवारीले ‘लाज’ शीर्षकमा कविता सुनाइन् । छविलाल आचार्यले गजल बाचन गरे । छवि सुवेदी ‘विजयी’ ले कविता प्रस्तुत गरे । कलाकार यादवचन्द्र भुर्तेलले सत्य घटनामा आधारित कथा सुनाए । कार्यक्रममा संस्थापक अध्यक्ष स्ट्रगल रानाले ‘हाम्रो बस्तीमा जस्तै यो’ गीत सुनाए । आजीवन सदस्य लक्ष्मीप्रसाद पौडेल, गायिका तथा साहित्यकार चन्द्रावती वाग्ले लगायत झन्डै डेढ दर्जन स्रष्टाहरूले कविता, मुक्तक, गीत, कथा सुनाएका थिए । कर्खा लयमा लक्ष्मण गौतम हिमालीको शब्दको गीतले आम नेपाली किसानहरूको पीडा र व्यथा झल्काएको थियो ।
विकास लुंगेलीले स्वागत गरेको कार्यक्रमको अध्यक्षता संस्थाका कोषाध्यक्ष लक्ष्मण गौतम हिमालीले गरेका थिए । सञ्चालन काजी गाउँलेले गरे । अगामी कार्यक्रम फागुन महिनाको पहिलो शनिबार ३ गते शृंखलाको अधिवेशनसहित नियमित रचनावाचनको कार्यक्रम हुने काजी गाउँलेले जनाएका छन् ।
तपाईको प्रतिक्रिया