मिस तामाङ पोखराको ट्यालेन्ट राउन्ड सकियो

पोखरा
मिस तामाङ पोखराको ट्यालेन्ट राउन्ड सकिएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखरामा सहभागी प्रतियोगीहरूले विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए ।
प्रतिभा प्रस्फुटन कार्यक्रममा आकृति तामाङले वुवाको बारेमा कविता, मञ्जिता पाख्रिनले आमाको बारेमा कविता प्रस्तुत गरेका थिए । प्रिन्सेस घिसिङ तामाङले कौरा नृत्य, पूर्णिमा थिङ तामाङले लिम्बू जातिले प्रयोग गर्ने सिलामसातमा बुनेर देखाएका थिए ।
यसैगरी अर्की प्रतियोगी सुनिता तामाङले आफूले धागोबाट तयार पारेका विभिन्न हस्तकलाका सामग्री प्रदर्शन गर्नुका साथै प्रत्यक्ष बुनेर देखाएका थिए । शिशा लामाले आफैँ गिटार बजाउँदै गीत गाएकी थिइन् भने सुप्रिया गोले तामाङले नृत्य प्रस्तुत गरेका थिए । यसैगरी अर्की प्रतियोगी पूर्णिमा लामाले कविता वाचन, सुमिना तामाङले नृत्य, जमुना लामाले सेल्फ मेकअप, र सोनिका तामाङले नृत्य प्रस्तुत गरेका थिए ।
यसअघि कार्यक्रमको उदघाटन गर्दै नेपाल तामाङ घेदुङ गण्डकीका उपाध्यक्ष रामबहादुर ब्लोन शिवुले तामाङ समुदायका चेलीहरूलाई भाषा, धर्म, संस्कार र संस्कृतिका बारेमा जानकारी गराउँदै व्यक्तित्व विकासका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापाले महिला सशक्तीकरण तथा युवा पुस्तामा संस्कार र संस्कृति हस्तान्तरणका लागि मिस तामाङ पोखरा लोकप्रिय रहेको बताइन् । गीतकार तीर्थ तामाङले कुनै पनि समुदायको पहिचान उसको भाषा र संस्कृति हुने भएकाले यसको जगेर्नामा युवा पुस्ताको चासो रहनुपर्नेमा जोड दिए ।
बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताका तालिम तथा मिडिया संयोजक सञ्जय मल्ल, राम लामा, मिस तामाङ पोखरा २०२४ की विजेता रोशिला ब्लोन तामाङ, कार्यक्रम संयोजक रोश्मा तामाङ, कोरियोग्राफर जिता तामाङले बोलेका थिए । प्रतिभा प्रस्फुटन कार्यक्रममा निर्णायकहरूमा गीतकार तीर्थ तामाङ, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष कञ्चन थापा, एसके डान्स स्कुलका सञ्चालक एवं सुपरमम २०७१ एपी विजेता माया लामा थिए ।
सोनाम ल्होसारको अवसरमा माघ १२ गते पोखरा सभागृहमा हुन लागेको प्रतियोगिताका लागि विभिन्न विषयमा तालिम प्रदान गरिएको छ । तालिममा पोखरेली युवा सांस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जय मल्ल, नेपाल जेसिजका पूर्व अध्यक्ष राजु केसी, भाषाविद् अमृत योञ्जन, पूर्व मिस तामाङ पोखरा कविता योञ्जन, नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिङमार तामाङ, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी, वैदेशिक अध्ययनका चुनौतीका बारेमा नैना थिङ लामा ताम्राकारले सहजीकरण गरेका थिए ।
यसैगरी अधिवक्ता जुना गुरुङ, गुरु लामा पाल्देन, फिटनेसका बारेमा आभ्या क्लब, तामाङ समुदायको रीतिरिवाजका बारेमा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङ, एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज कर्णिकार, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा, एसके डान्स स्कुलका सञ्चालक राम लामाले नृत्य कला सिकाएका थिए । यसैगरी विद्याज डाइटका सञ्चालक डाइटिसियन श्रीविद्या कायस्थले सन्तुलित आहार, गुरुङ ब्यूटी एकेडेमीका सौन्दर्यविद् चिनु गुरुङले सौन्दर्यकला, खोज मिडियाका सञ्चालक एवं फोटो पत्रकार गणेश ब्लोन लामाले फोटोग्राफी, र नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा एभरेस्ट रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले नेतृत्वका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
माघ १२ शनिबार हुने ग्रान्ड फिनालेमा विशाल काल्तानलगायतका कलाकारको प्रस्तुति रहनेछ । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेस्टिभल गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया