पोयुसापको पुरस्कार राधेश्याम र रामभक्तलाई

राजा महेन्द्रको ५० रुपैयाँ बक्सिसबाट हौसिएका राधेश्याम

समाधान संवाददाता २०८१ माघ ५ गते १९:१६

पोखरा । रामकृष्ण टोलमा जन्मिएका राधेश्याम मुल्मी । कखरा सिक्न नजिकैको नवीन प्राविमा भर्ना भए । त्यसपछि उनी वाराही माविमा गए । ६ वर्षको हुँदादेखि नै कागजका टुक्राटाक्री बटुल्दै चित्र कोर्ने बानी थियो । वाराही स्कुलमा पढ्दै गर्दा उनले खुकुरीमा खोपेको कला सिर्जनाबाट प्रधानाध्यापक ध्रुवबहादुर श्रेष्ठ प्रभावित थिए । त्यतिबेला उनको चर्चा स्कुलमा हुन थालेको थियो ।

Advertisement

पोखरेली युवा सांस्कृति परिवारले प्रत्येक २ वर्षमा प्रदान गर्ने ललितकला पुरस्कार र सोम बज्राचार्य स्मृति संगीत पुरस्कार कलाकारद्वय राधेश्याम र रामभक्तलाई प्रदान गरिएको हो

तत्कालीन राजा महेन्द्र पोखरा भ्रमणका क्रममा बाराही माविमा पुग्दा त्यहाँ सजिएका थिए राधेश्यामले बनाएका चित्रहरु । विद्यालयका टाँगिएका शोभाचित्रबाट राजा महेन्द्र प्रभावित भएकै थिए । एक दिन हेडसर ध्रुवबहादुले राधेश्यामलाई भनेछन्, ‘तिमी राम्रो आर्ट बनाऊ, राजालाई चढाउनु पर्छ ।’ त्यो समय राजा महेन्द्र पोखराको रत्न मन्दिरमा बसेका थिए । राधेश्यामले राजा महेन्द्रको पोट्रेट बनाए । अञ्चालाधीशमार्फत् उक्त पोट्रेट राजालाई चढाइयो ।

केही दिनपछि अञ्चलाधीश स्कुलमै आए । उनले राधेश्यामलाई भने, ‘ए राधेश्याम तिम्लाई राजाले बक्सिस दिइबक्सेको छ ।’ एकछिन त राधेश्याम अक्क न बक्क भए । अञ्चलाधीशले उनको हातमा ५० रुपैयाँ थमाइदिए । कुरो २०२०/२१ सालतिरको हो । राधेश्याम सम्झिन्छन्, ‘त्यतिबेला ५० रुपैयाँ पाउनु नै ठूलो थियो, महत्वपूर्ण कुरा त मेरा लागि त्यो बक्सिस प्रेरणाको स्रोत नै बन्यो ।’

उनै मुल्मी पोखराबाट एसएलसी उत्तीर्ण भएपछि काठमाडौंको ललितकला क्याम्पसमा भर्ना भए । उक्त क्याम्पसबाट ललितकलामा आइए पास गर्ने उनी पहिलो विद्यार्थी बने । स्नातक पढ्न उनी पाकिस्तान गए । पछि पञ्जाब विश्वविद्यालयबाट ग्राफिक डिजाइनिङमा स्नातकोत्तर गरे । पाकिस्तानबाट फर्केर उनले आफैले पढेको ललिकला क्याम्पसमा पढाउन थाले । उनी त्यसै क्याम्पसको उपप्रमुखसमेत बने ।

Advertisement

१७ वर्षको उमेरमै गण्डकी अञ्चलस्तरीय कला प्रतियोगितामा प्रथम भएका मुल्मीले पाकिस्तानमा भएको पोस्टर प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । पाकिस्तानमै भएको पुस्तक आवरण प्रतियोगितामा पहिलो भए । २०३७ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले गरेको कार्टुन प्रतियोगितामा पनि उनी प्रथम भएका थिए ।
आफूमा छाप परेका र लुकेका विषयलाई क्यानभास र कागजमा रेखा रङको समिश्रण नै कला हो भन्छन्, राधेश्याम । कला र कलाकारितासम्बन्धी थुप्रै लेख लेखेका राधेश्यामले पत्रपत्रिका र पुस्तकका आवरणहरु बनाएका छन् । उच्चमावि र क्याम्पसस्तरका पुस्तकहरुमा उनले बनाएका विद्यार्थी केन्द्रित चित्रहरु बग्रेल्ती भेटिन्छन् । युवामञ्च, मुना लगायत पत्रपत्रिकामा समेत उनका व्यंग्यचित्र प्रकाशित छन् ।

उनै राधेश्यामलाई पोखरेली युवा सांस्कृतिक परिवारले शनिबार ललितकला पुरस्कार २०८० अर्पण गरेको छ । २/२ वर्षमा उक्त पुरस्कारका लागि वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरेका हुन् ।

सोही कार्यक्रममा सोम बज्राचार्य स्मृति संगीत पुरस्कार–२०८० गायक तथा संगीतकार रामभक्त जोजिजूलाई प्रदान गरिएको छ । गीतसंगीतमा क्रियाशील स्रष्टालाई हरेक २ वर्षमा प्रदान गर्ने यो पुरस्कार यसपालि जोजिजूले प्राप्त गरेका हुन् ।

पोखरामा जन्मिएर पोखरालाई नै कर्मक्षेत्र बनाई गीतसंगीतका क्षेत्रमा ३ दशकदेखि गायन क्षेत्रमा क्रियाशील जोजिजूले २०५१ सालमा रेडियो नेपालमा स्वरपरीक्षा उत्तीण गरी ‘सम्हाल ती पाइलाहरु’ बोलको गीत रेकर्ड गराएका थिए । २०५५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा ‘उडेर जुन छुन्छु भन्थेँ’ गीत गाएर उनी प्रथम भए । मञ्जुश्री संगीत महाविद्यालयमार्फत इलाहावादबाट संगीत शिक्षा लिएका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सांगीतिक कार्यक्रममा आफ्नो प्रतिभा देखाइसकेका छन् । निरन्तर लगाव र महत्वपूर्ण योगदान दिएका उनले थुप्रै अवार्ड र पुरस्कार पाइसकेका छन् । पुरस्कार अर्पण कार्यक्रममा रामभक्तले २ गीत प्रस्तुत गरे ।

वरिष्ठ कलाकार दुर्गा बरालले कलाकारद्वयलाई सम्मानपत्र प्रदान गरे । दुवै पुरस्कारको राशि १५/१५ हजार रुपैयाँ छ । गायक तथा संगीतकार सोम बज्राचार्यको स्मृतिमा उनकी पत्नी शान्ति बज्राचार्यले अक्षयकोष खडा गरी पोयुसाद्वारा सञ्चालन गर्ने गरी सो पुरस्कार स्थापना गरेकी हुन् ।

कार्यक्रममा अग्रज कलाकार दुर्गा बराल वात्स्यायन, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त, सोही प्रतिष्ठानका पूर्वसदस्य सचिव तीर्थ श्रेष्ठ, सम्मानितद्वय राधेश्याम र रामभक्त, सोम बज्राचार्यका पुत्र नीतिनले भनाइ राखेका थिए ।

ललितकला पुरस्कार छनोट समिति संयोजक बुद्धि गुरुङले शुभकामना व्यक्त गरेको कार्यक्रममा परिवारका पूर्वअध्यक्ष जीवनसागर भण्डारीले सम्मानित श्रष्टाका बारेमा जानकारी गराएका थिए । परिवारका अध्यक्ष रीता अधिकारी ऋतु, उपाध्यक्ष लक्ष्मण थापा, सचिव एमडी काफ्लेले संस्था र संस्थाका गतिविधिका बारेमा चर्चा गरे ।

तपाईको प्रतिक्रिया