चिया उमार्नेहरूको कथा भन्ने उपन्यास ‘उरमाल’ लिएर आए छुदेन

काठमाडौं । लेखक छुदेन काविमोको दोस्रो उपन्यास ‘उरमाल’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित विशेष कार्यक्रममा मानवशास्त्री सुरेश ढकाल एवम् लेखक छुदेनले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।
लोकार्पण कार्यक्रममा लेखक छुदेनसँग मानवशास्त्री ढकालले संवादसमेत गरे । संवादमा मानवशास्त्री ढकालले ‘उरमाल’ उपन्यासले चिया उमार्नेहरू कथा अर्थात् चिया टिप्ने श्रमिकहरूको जीवनका दुःख र सङ्घर्षको कथा पस्किएको जनाए । ‘मैले प्रत्येक दिन दुईतीन कप चिया पिउँछु, यस अर्थमा म चियाको पारखी हुँ भन्न मिल्ला । यसरी वर्षमा हजार कप चिया पिइरहे पनि मैले कहिल्यै चिया उमार्नेहरूबारे सोचेको रहेनछु । ‘उरमाल’ पढेपछि भने मलाई यसले झस्कायो,’ उनले भने ।
धेरैका आँखामा नपरेको तर लेखिनुपर्ने विषयलाई लेखक छुदेनले उपन्यासमा ल्याएको ढकालले जनाए । ‘तसर्थ यस दृष्टिले उहाँलाई धन्यवाद अनि यति सुन्दर उपन्यास नेपाली साहित्यलाई दिएकामा बधाई पनि,’ उनले भने ।
‘उरमाल’मा आफूले चिया श्रमिकहरूका सुस्केराको कथालाई समेटेको लेखक छुदेन काविमाले बताए । ‘जसका सङ्घर्ष त हजारौं छन् तर चैन थोरै पनि छैन । सपना त लाखौं छन् । तर सुख अलिकति पनि छैन । जहिल्यै दुःखको कथालाई छातीमा टाँसेर हिँड्ने कमानेहरूको जीवनको पीडालाई नै मैले उपन्यासमार्फत देखाउने कोसिस गरेको छु ।’
‘उरमाल’भित्र धेरै कथा छन् । तीमध्ये केही कथा दशकअघिका छन् । केही कथा ब्रिटिसकालीन समयका छन् । र केही कथा लोककथाबाट सापटी लिइएका पनि छन्, जसलाई बटुल्न डुवर्सका धेरैले आफूलार्ई साथ र सहयोग दिएको उनको भनाइ छ ।
चियाको बोटमा सुन फल्छ रे भन्ने सपना देखाएर पुस्तौंदेखि गरिरहेको शोषणको कथा पनि ‘उरमाल’ रहेको लेखक काविमाले जनाए । ‘र ती तमाम श्रमिकहरूको जीवन व्यथा हो, जसले उमारेको चियाले संसारका धेरैजसो मान्छेको दिनको सुरmवात गरिदिन्छ,’ उनले भने ।
छुदेनको पहिलो उपन्यास ‘फातसुङ’ अङ्ग्रेजीमा अनुवाद गरेका प्रकाशक फाइनप्रिन्टका अजित बरालले ‘उरमाल’ को कथा भन्ने तरिका फरक रहेको बताए । ‘उरमाल’को पाण्डुलिपि पढेपछि उत्साहित हुँदै छुदेनलाई मैले भनेको थिएँ— ‘उरमाल’ ‘फातसुङ’भन्दा बलियो बनेको छ । तपाईंलाई बधाई । यसको फराकिलो क्यानभास, गहिरो विषयवस्तु, भाषिक मिठास र प्रस्तुतिले ‘उरमाल’लाई वर्षौंसम्म पढिने पुस्तकका रुपमा स्थापित गर्नेछ,’ बरालले भने । नेपाली साहित्यका लालगि ‘उरमाल’ एउटा विशिष्ट उपलब्धि रहेको उनको भनाइ छ ।
के छ ‘उरमाल’मा ?
‘उरमाल’ झर्रा आदिवासी कथा हो । चियाको बोटसँग माया साटेर पुस्तौंदेखि धरमराइरहन विवश श्रमिकहरूको उच्छ्वासको कथा हो । खासमा यो ती कमानेहरूको सुस्केराहरूको कथा हो, जसका सङ्घर्ष त हजार छन् । तर जिन्दगीमा चैन थोरै पनि छैन । सपना त लाखौं छन् । तर सुख अलिकति पनि छैन ।
‘उरमाल’भित्र थुप्रै पात्र छन् । र छन्, तिनका आआफ्ना कथा र व्यथा, जसलाई उपन्यासमा यसरी उनिएको छ, जसरी मालामा फूलका थुङ्गा उनिन्छ । यी पात्रका कथाभित्र पनि अनेक कथा छन्, जो आफैंमा पूर्ण छन् । यीमध्ये केही कथा दशकअघिका छन् । केही ब्रिटिसकालीन समयका छन् । केही लोककथाबाट सापटी लिइएका छन् । यी कथामार्फत लेखकले चिया कमान र त्यहाँ हुने शोषणको अलिखित इतिहास भनेका छन् ।
कथा कोलाज झैं लाग्ने यो महत्त्वाकांक्षी उपन्यास हो । यसको गहिराइ, विस्तार, शिल्प र काव्यिक लयले तपाईंलाई चकित पार्नेछ । यो पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।
को हुन् छुदेन ?
भारतको कालेबुङमा जन्मिएका छुदेन काविमो नेपालीभाषी आख्यानकार हुन् । उनको कथासङ्ग्रह १९८६ ले सन् २०१८ को युवा साहित्य अकादमी पुरस्कार पाएको छ । उनको पहिलो उपन्यास ‘फातसुङ’ अङ्ग्रेजी, बाङ्ला, सिन्धी र हिन्दी भाषामा समेत अनूदित छ । नेपाल, भारत र बेलायतबाट प्रकाशित अङ्ग्रेजी संस्करण ‘सङ अफ द स्वयल’ भारतको प्रतिष्ठित जेसिबी पुरस्कार २०२२ का लागि सर्टलिस्ट भएको थियो ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया