
पोखरा ।
कोदोको रक्सी, जसले नेपाली सांस्कृतिक धरोहरलाई झल्काउँछ । अहिले धेरै ठाउँमा कोदोको रक्सीलाई व्यावसायीकरण र ब्रान्डिङ गर्ने प्रयास भइरहेका छन् । सरकार र स्थानीय समुदायहरुको संयुक्त पहलमा संरक्षण र प्रवद्र्धन गर्ने प्रयासले तीव्रता पाएको छ ।
गोरखाको गण्डकी गाउँपालिकाको वडा नम्बर ५ रानीस्वाँरा मगरात सामुदायिक होमस्टे र वडा नम्बर २ मा पाथीस्वाँरा मनमोहक होमस्टेका महिलाहरुले रक्सी उत्पादन सुरु गरेका छन् । घरेलु मदिरा उत्पादन गर्न महिलाहरु सक्रिय रुपमा लागेका छन् । यसले महिलाहरुको आर्थिक स्तरमा सुधार ल्याउनका साथै उनीहरुको सामाजिक स्थिति सशक्त बनाउने लक्ष्य राखेको छ । गण्डकी ब्रान्ड नाम दिएर त्यहाँका स्थानीयले कोसेली स्वरुप कोदोको रक्सी बिक्री गरेका छन् ।
कोदोको रक्सी उत्पादनले महिलाको आर्थिक स्थितिमा राम्रो प्रभाव पारेको रानीस्वाँरा मगरात सामुदायिक होमस्टेका अध्यक्ष यमबहादुर आलेले बताए । यसले जीवनस्तरमा सुधार ल्याउनुका साथै रोजगारी सिर्जना गरी घरखर्चमा मद्दत पु¥याएको उनले बताए । बाजेजिजुको पालादेखि नै घरमा रक्सी बनाइँदै आएको उनले सुनाए ।
कोदोबाट फाइबर, प्रोटीन, र खनिज पाइने हुँदा कोदोको रक्सीमा पनि जैविक तत्वहरु प्राप्त हुने उनले जानकारी दिए । यसले पाचनमा मद्दत पुर्याउने तथा थोरै मात्रामा सेवन गर्दा स्वास्थ्यलाई केही लाभ प्राप्त हुने विभिन्न अध्ययनले देखाएको आले बताउँछन् ।
रक्सीको सेवनलाई नियन्त्रण गर्न, यसको उत्पादन र वितरणमा कडाइका साथ कानुनी प्रावधान राख्न आवश्यक रहेको उनले औंल्याए । रक्सी बिक्रीका लागि उमेर सीमा र नियमहरु कडाइका साथ लागु गर्नुपर्ने उनको माग छ । पर्व र उत्सवहरुमा रक्सीको विशेष स्थान रहेको हुन्छ । रक्सीले पारिवारिक र सामाजिक व्यवस्थालाई मजबुत बनाउने विश्वास छ ।
होमस्टेमा आएका पाहुनाले खाने र १/२ बोतल कोसेली लैजानमात्र प्रयोग भइरहेको आलेले जानकारी दिए । कोसेली लगेको रक्सी प्रहरीले फाल्दिन्छ कि भन्ने डर भएको तथा सरकारले मदिरा बिक्री गर्ने मान्यता नदिँदा समस्या परेको उनको गुनासो छ । जडिबुटीबाट मर्चा बनाउने र कोदोको मात्र रक्सी बनाइने बताउँदै उनले आधा लिटर रक्सीलाई ११० रुपैयाँ र ९०० एमएललाई २१० रुपैयाँ पर्ने जानकारी दिए ।
गण्डकी गाउँपालिकाको रानीस्वाँरा होमस्टेले पाहुनालाई कोसेली स्वरुप रक्सी पनि बेच्छ
‘रक्सी हाम्रो संस्कार हो यसलाई जोगाउनु हाम्रो कर्तव्य हो । रक्सीको बारेमा कुरा गर्दा नकरात्मक पक्ष मात्र सोचिन्छ । यसका सकारात्मक पक्षलाई पनि बुझ्न आवश्यक छ,’ उनले भने, ‘अत्यधिक र अव्यवस्थित प्रयोगले स्वास्थ्यमा गम्भीर समस्याहरु ल्याउन सक्छ तर थोरै मात्रामा प्रयोग गर्दा फाइदा हुने वैज्ञानिक पुष्टी भएका छन् । रक्सी उत्पादनले आर्थिक अवसर सिर्जनाका साथै आत्मनिर्भर र सामूहिक सहकार्यलाई पनि प्रवद्र्धन गरेको छ ।’
गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले शुद्ध कोदो र जडीबुटी मिसाएर वैज्ञानिक ढंगले रक्सी उत्पादन प्रक्रिया व्यवस्थित गरिएको बताए । रक्सीको अल्कोहल मात्रा मापन गरी अल्कोहल स्तर सही पाएपछि मात्र त्यसलाई स्थानीय बजारमा बिक्रीका लागि पठाइने उनको भनाइ छ । रक्सीको अत्यधिक सेवनले स्वास्थ्य र मानसिक अवस्थामा पार्ने असरका बारेमा जानकारी दिएर सही तरिकाले प्रयोग गर्न सकिने उनको तर्क छ ।
घरेलु मदिरा उत्पादनका लागि महिला समूहलाई तालिम र आवश्यक सामग्री उपलब्ध गराइएको तिमिल्सिनाले जानकारी दिए । कोदो र रैथाने बाली प्रबद्र्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादनका तालिम र रक्सी उत्पादनका लागि आवश्यक भाँडाकुडा, बोतल, र स्टीकर दिइएको उनले बताए ।
‘स्थानीय उत्पादनलाई ब्रान्डिङ गरी, आर्थिक दृष्टिकोणबाट महिलाहरुलाई सशक्त बनाउने तथा कृषक समुदायमा समृद्धि ल्याउने उद्देश्य छ । यसले रोजगारीको अवसर प्रदान गरेको छ । परम्परागत कृषिमा आधारित उत्पादनलाई नयाँ ढंगले प्रस्तुत गरिएको छ,’ उनले भने ।
कोदोको रक्सीको व्यावसायीकरण र ब्रान्डिङले आर्थिक विकास र रोजगारीका अवसरहरु सिर्जना गरेको तिमिल्सिनाको धारणा छ । यो परम्परागत उत्पादनले नेपाली पहिचान र सांस्कृतिक मूल्यलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने राम्रो मौका भएको साथै व्यावसायिक रुपले प्रोत्साहन गर्दा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेर पर्यटन र स्थानीय उत्पादनको प्रवद्र्धन हुने उनले उल्लेख गरे ।
स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने र महिलाको आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले रक्सी उत्पादन सुरु गरिएको वडा नम्बर २ का वडाध्यक्ष पहलमान बयलकोटीले बताए । सरकारले यसलाई वैधनिकता नदिएकाले गाउँ बाहिर बिक्री गर्न समस्या भएको उनको गुनासो छ ।
सरकारले मान्यता दिएमा रक्सीको उत्पादनको व्यवस्थापन र संरक्षणमा ठूलो योगदान पुग्ने उनले बताए । उनले घरेलु मदिरा उद्योगलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याए । सरकारले स्थानीय उत्पादनलाई अनुदान र प्रोत्साहन दिएमा स्थानीय बजारका साथै अन्तर्राष्ट्रिय स्तरमा यसको ब्रान्डिङ गर्न सकिने बयलकोटीको भनाइ छ ।
‘कोदोको रक्सीलाई मर्यादित रुपमा संरक्षण र प्रवद्र्धन गर्ने, गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिँदै स्थानीय ब्रान्डका रुपमा विकास गर्ने लक्ष्य छ । सीमित मात्रामा र गुणस्तरयुक्त उत्पादन, बजारीकरणमा सरकार र स्थानीय निकायले ध्यान दिनुपर्छ साथै स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्न पहल गरिरहेका छौं,’ उनले भने ।
कोदोको रक्सी नेपालको सांस्कृतिक र सामाजिक जीवनमा महत्वपूर्ण भूमिका रहेको छ । कोदोको रक्सी प्राचीन समयदेखि गाउँ–घरमा विशेष पर्व र सांस्कृतिक अवसरमा प्रयोगमा आइरहेको छ । रक्सीको उत्पादनलाई एक सांस्कृतिक र व्यावसायिक पहलका रुपमा अगाडि बढाउन हाल गण्डकी विश्वविद्यालयले क्षेत्रीय अध्ययन गरिसेकको छ ।
अत्यधिक र नियमित सेवनले मदिरा सम्बन्धी रोगहरु जस्तै लिभर ड्यामेज, हृदय रोग लगायतका समस्या आउन सक्छन् । धेरै सेवनले ब्लड प्रेसर बढ्न सक्छ । परम्परागत तरिकाले उत्पादन गरिने हुँदा गुणस्तरमा ध्यान नदिँदा विषाक्त पदार्थहरु (जस्तै मिथानोल) उत्पन्न हुने जोखिम रहन्छ । सरकारले कानूनी रुपमा यसलाई व्यावसायिक बनाउन प्रयास गरे पनि अझै कार्यान्वयन भने भएको छैन जसले यसको उत्पादन अवैध मान्न सकिन्छ र गलत उपयोगका कारण समस्या हुन सक्छ ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया