‘उपशाखा सक्षम भए जिल्ला बलियो’

समाधान संवाददाता २०८१ माघ ६ गते ११:०८

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाको १९ औं वार्षिक साधारण सभा शनिबार भएको छ । सभाले सचिव चूडामणि बरालले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिवराम भण्डारीले पेश गरेको लेखा परीक्षणसहितको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ ।

Advertisement


नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा पौडेलले सभा उद्घाटन गर्दै पोखरा १७ कास्कीका ४८ उपशाखामध्ये भौतिक रुपमा समुन्नत र संस्थागत विकास भएको उपशाखा भएको बताए । ‘सेवा केन्द्रको रुपमा रहेका सबै उपशाखाहरु सबल र सक्षम भए जिल्ला शाखा बलियो हुन्छ,’ उनले भने, ‘पोखरा १७ उपशाखा सबैले हेर्ने खालको नमुना योग्य र अरु शाखालाई समेत सहयोग उपशाखा बनेको छ ।’


उनले उपशाखाले विधिवत र विधानसम्मत ढंगले काम गरेको जनाए । पोखरा महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष राधिकाकुमारी शाही योगीले विपद्को व्यवस्थापन र मानवीय सेवाको क्षेत्रमा काम गर्ने रेडक्रसका अभियन्ताहरुले एकमना एकताका साथ काम गर्नुपर्ने सुझाव दिइन् । उनले रेडक्रस कास्कीले सञ्चालन गरेको प्रादेशिक रक्त सञ्चार सेवालाई प्राविधिक रुपमा रहयोग गर्ने प्रतिबद्धता जनाइन् ।


नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य पार्वती कार्कीले जहाँ विपत, त्यहाँ रेडक्रसको कार्यक्षेत्र भएको जानकारी दिइन् । उनले पोखरा १७ उपशाखाको गतिविधिले जिल्ला शाखालाई ऊर्जा मिलेको बताइन् । गुप्तेश्वर महादेव वेद विज्ञान पाठशालाका प्राचार्य विजयराज आचार्यले स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउनका लागि समुदायमा आधारित अस्पताल निर्माण गर्न लागेको योजना सुनाए ।


‘मानवीय सेवालाई जिवित राखौं’ भन्ने नाराका साथ भएको कार्यक्रममा अग्रज पर्यटन व्यवसायी हरिध्वज तुलाचन, नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाका निवर्तमान सभापति झपिन्द्रराज रेग्मी, पूर्व सभापति तीर्थराज अधिकारी, सचिव चूडामणि बराल, कार्यसमितिका सदस्यहरु बिना लोहोनी, दीपेन्द्र बराल लगायतले रेडक्रसले गरेका गतिविधिबारे बोलेका थिए । कार्यक्रममा रेडक्रसका विशिष्ट सदस्य रीता सुवेदीलाई सम्मान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया