जिल्ला कफी उत्पादक संघ कास्कीको सभा

लेखनाथ ।
जिल्ला कफी उत्पादक संघ कास्कीको १७ औं वार्षिक साधारण सभा शनिबार भएको छ । पोखरा ३१ त्रिशुल डाँडामा भएको साधारण सभामा पोखरा महानगरपालिका वडा नं. ३१ वडा सदस्य देवेन्द्रराज अधिकारीले उपभोक्ता, सहकारी र उत्पादन संघ सबै मिलेर अगाडि बढेको आफूले महसुस गरेको बताए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय प्रमुख पवित्रा अधिकारीले जिल्ला कफी उत्पादक संघ, राष्ट्रिय चिया तथा कफी विकास कोर्ड, जिल्ला कफी सहकारी संघ, प्रदेश सरकार, महानगरपालिका र वडा कार्यालय सबै मिलेर अगाडि बढेमा कफी किसानहरुले न्याय पाउने बताइन् । बोर्डले गर्ने कार्यक्रमहरुको बारेमा जानकारी गराउँदै अधिकारीले सिमित साधन स्रोतबाट धेरै कार्य गर्नुपर्ने अवस्थाबारे दर्शाइन् ।
जिल्ला कफी सहकारी संघका अध्यक्ष आनन्द सुवेदीले जिल्ला कफी सहकारी संघ र जिल्ला कफी उत्पादक संघ बिचमा कुनै मतभेद नभएको स्पष्ट पार्दै हराएको जिल्ला कफी उत्पादक संघलाई खोजेर ब्युँत्याएको बताए । जिल्ला कफी सहकारी संघ र उत्पादक संघ मिलेर केही गर्न खोजिएको स्पष्ट पार्दै यसले सकारात्मक सन्देश दिएको उनको भनाइ थियो ।
कफी उत्पादनलाई दिगो रुपमा विकास गर्न राज्यले सामुदायिक बनमा कफी लगाउन पाउनुपर्ने वातावरण बनाउनु पर्ने बताउँदै सुवेदीले कफी उत्पादन किसानालई विमाको व्यवस्थाका साथै अनुदानको व्यवस्था गरेको खण्डमा कफीको उत्पादनमा बृद्धि गर्दै किसानको जीवनस्तरमा समेत बृद्धि हुने विश्वास व्यक्त गरे ।
जिल्ला कफी उत्पादक संघका अध्यक्ष तारामणि घिमिरेले संघको प्रगति प्रतिवेदन प्रस्तुत गरे । संघ विशुद्ध कफी कृषकहरुको संस्था भएको बताउँदै घिमिरेले विगत ६÷७ वर्षदेखि संघको निस्कृयताले कृषकहरुमा निरासा छाएको जनाए ।
जिल्ला कफी उत्पादक संघका संस्थापक अध्यक्ष सूर्यप्रसाद अधिकारले कृषि क्षेत्रमा कुनै राजनीतिक दलहरुले चासो नदिएको आरोप लगाए । कफी उत्पादन संघको ऐतिहासिक पृष्ठभुमिको बारेमा चर्चा गर्दै अधिकारीले कर्ममा विश्वास गर्नुपर्ने बताए ।
समाजसेवी गोकर्ण तिवारी, संघका सल्लाहकार विश्वबन्धु पोखरेल, उत्तम कफी उत्पादक समूहका अध्यक्ष कलाधर भुगाईं लगायतले सरोकारवाला सबै संगठित भएर कफी उत्पादक संघलाई एक नमूना र उदाहरणीय बनाउनुपर्नेमा जोड दिए ।
संघका कोषाध्यक्ष शर्मिला भण्डारी लामिछानेले स्वागत गरेको कार्यक्रम सञ्चालन संघका सचिव हरिराज घिमिरले गरेका थिए ।
तपाईको प्रतिक्रिया