सम्पादकीयः कोदोको रक्सी ब्रान्डिङमा अग्रसरता

समाधान संवाददाता २०८१ माघ ७ गते १०:३७

नेपालको सांस्कृतिक धरोहरको एक अभिन्न अंश, कोदोको रक्सी, अहिले ब्रान्डिङ र व्यावसायीकरणको चरणमा छ । गोरखाको गण्डकी गाउँपालिकामा स्थानीय समुदायले यसलाई ‘गण्डकी’ ब्रान्ड अन्तर्गत उत्पादन र बिक्री सुरु गरेका छन् । यो पहलले परम्परागत घरेलु मदिरा उत्पादनलाई संरक्षण गर्दै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । गण्डकी गाउँपालिकाको रानीस्वाँरा र पाथीस्वाँरा होमस्टेका महिलाहरू कोदोको रक्सी उत्पादनमा सक्रिय छन् । यसले महिलाको आर्थिक स्थिति सुधार्नुका साथै उनीहरूको सामाजिक भूमिकालाई सशक्त बनाउन सहयोग गरेको छ । उत्पादित रक्सी पाहुनाका लागि कोसेलीको रूपमा बिक्री गरिन्छ, जसको मूल्य आधा लिटरको १ सय १० रुपैयाँ र ९ सय एमएलको २ सय १० रुपैयाँ रहेको छ । यसले स्थानीय महिलाहरूलाई आर्थिक आत्मनिर्भरता प्रदान गरेको छ ।

Advertisement


कोदोको रक्सीमा फाइबर, प्रोटिन, र खनिज तत्व पाइने हुँदा यसले पाचनमा सहयोग पुर्‍याउने वैज्ञानिक तथ्यहरू रहेको उल्लेख गरिएको छ । यद्यपि अत्यधिक सेवनले स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गर्न सक्ने भएकाले यसको प्रयोगमा सचेतना आवश्यक छ । स्थानीय उत्पादनलाई गुणस्तरीय बनाउन र बजारमा प्रतिस्पर्धी बनाउँन घरेलु मदिरा उत्पादन प्रक्रियामा वैज्ञानिक विधिहरू अपनाइएका छन् । सरकारले घरेलु मदिरा उत्पादनलाई कानुनी मान्यता नदिँदा यसको उत्पादन र बिक्रीमा कठिनाइ भइरहेको छ । स्थानीय निकायले महिला समूहलाई तालिम, सामग्री, र बजारीकरणको उपायहरू उपलब्ध गराए पनि कानुनी संरचनाको अभावले यसको सम्भावनालाई पूर्ण उपयोग गर्न सकिएको छैन ।

वडाध्यक्ष पहलमान बयलकोटीले उत्पादनलाई मर्यादित रुपमा संरक्षण र प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने आवश्यकता औंल्याएका छन् । त्यसो संघीय र प्रादेशिक सरकारको नेतृत्व गर्नेहरुले बेलाबेलामा यसका बारेमा चर्चा गरिरहन्छन् । तर ठोस उपलब्धि भने हुन सकेको छैन । कोदोको रक्सी परम्परागत रूपमा नेपाली सामाजिक र सांस्कृतिक जीवनको महत्वपूर्ण हिस्सा रहँदै आएको छ । यो विशेष पर्व, उत्सव, र पारिवारिक समारोहमा प्रयोग हुने वस्तु हो । यसको उत्पादन र उपभोगलाई व्यवस्थित गर्ने हो भने यो सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन र स्थानीय उत्पादन प्रवद्र्धनका लागि प्रभावकारी हुन सक्छ ।


कोदोको रक्सी उत्पादनमा विविध सकारात्मक पक्ष भए पनि गुणस्तर नियन्त्रण र जिम्मेवार उपभोगलाई प्राथमिकता दिनु आवश्यक छ । सरकार र स्थानीय निकायले यो क्षेत्रलाई प्रोत्साहन गर्न कानुनी संरचना विकास गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने योजना बनाउनु पर्छ । कोदोको रक्सीले नेपाली संस्कृति र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मात्र होइन, परम्परागत उत्पादनलाई आधुनिक व्यवसायसँग जोड्न उदाहरणीय भूमिका निर्वाह गर्न सक्छ ।

Advertisement

तपाईको प्रतिक्रिया