टाइगर कप भलिबल : २ विदेशी टिम, सबैजसो टोलीमा विदेशी खेलाडी

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा हुँदै छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगितामा २ विदेशीसहित १२ टोलीले भाग लिने छन् ।
यो संस्करणमा विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाउने पक्का भएको छ ।
महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । यसपालि आयोजकले छुट्टै महिला टिम सहभागी बनाएको छ । पुरुषतर्फ गण्डकी र महिलातर्फ आयोजक टोलीमा ३–३ विदेशी खेलाडी समावेश गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा विभागीयबाहेक अन्य टोलीले पनि विदेशी खेलाडीलाई अनुबन्ध गर्ने भएकाले प्रतियोगिता झनै रोमाञ्चक हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।
प्रतियोगिताको फर्म्याटसमेत नयाँ रोमाञ्चक खालको बनाउन लागिएको संयोजक ज्ञवालीले सुनाए । पाँचौं संस्करणमा पुरुष र महिला दुवैतर्फका विजेताले समान ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेतालाई समान २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । तृतीय हुने टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिए ।
प्रतियोगितालाई डिजिटल प्रविधिमैत्री बनाउँदै एलइडी स्क्रिन डिजिटल बोर्डको व्यवस्था गरिएको ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगितालाई अर्न्तराष्ट्रिय स्तरकै बनाउने प्रयास भइरहेको उनको दाबी छ । प्रतियोगिताका खेलहरु एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
प्रतियोगिता पाचौं संस्करणसम्म आईपुग्दा विदेशी टिमले भाग लिनु नेपाली भलिबल प्रेमीका लागि सुखद भएको अध्यक्ष शर्माले बताए । प्रतियोगिताबाट भएको बचत विगतमा जस्तै स्वास्थ्य, खेलकुद, शिक्षा, सामाजिक क्षेत्रमा खर्च गर्ने आयोजकको तयारी छ । प्रतियोगिताका लागि प्यारापिट, कोर्ट बनाउने काम भइरहेको छ ।
२ हजार अट्ने प्यारापिट
पाँचौँ टाइगर कप भलिबलमा दर्शक क्षमता बढाएर २ हजार पुर्याइएको छ । यसअघि दर्शकको चाप धेरै हुने गरेकाले यसपालि दर्शक क्षमता बढाइएको प्रतियोगिताको संयोजक ज्ञवालीले जानकारी दिए । अघिल्ला संरकणमा दर्शकको चापलाई मध्यनजर गर्दै दर्शक क्षमता बढाइएको उनको भनाइ छ ।
यस संस्करणमा अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरिएको छ । खेल हेर्नका लागि इसेवामार्फत अनलाइनबाट काट्न सकिनेछ । ‘यसपालि अनलाइनबाटै टिकट काट्ने व्यवस्था गरेका छौं । यदि काटेर पनि सिट नहुने स्थिति नबनोस् भनेर अनलाइनबाट टिकट काट्नेका लागि छुट्टै सिटको व्यवस्था गरिएको छ,’ उनले भने ।
प्रतियोगितामा टिकट काटी प्रवेश गर्ने दर्शकमध्येबाट गोलाप्रथाबाट एक जनालाई एउटा टिसर्ट र फाइलनमा एक जनालाई सामसङ मोबाइल प्रदान गरिने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया