ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन पोखराको सभा

पोखरा । ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन (टेसा) पोखराले सोमबार २६ औं वार्षिक साधारणसभा आयोजना गरेको छ । सभामा पोखरा महानगरपालिका वडा नं ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पर्यटकीय स्थानमा पर्यटन सम्बद्ध संस्थाले कार्यक्रम गरी यस क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुुर्याएको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनका क्षेत्रमा प्रयोग हुने सामग्रीको बिक्री गरी पर्यटन क्षेत्रमा टेसाले महत्वपूर्ण योगदान गरेको सुनाए । पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा संस्थाले गरेको योगदान प्रशंसनीय भएको उनको भनाइ छ ।
टेसा पोखरा अध्यक्ष प्रमोद भण्डारीले संस्थाले पोखराको पर्यटन प्रवद्र्धनका हरेक कार्यक्रममा सक्रियताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएको बताए । व्यावसायिक एकतासँगै एकापसमा आपसी सद्भाव अभिबृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनले सुनाए ।
टेसा पोखराका पूर्व अध्यक्ष नारायणप्रसाद सुवेदीले टेसामा आवद्ध व्यवसायी संस्थागत रुपमा एकतावद्ध हुँदै पर्यटन प्रवद्र्धन, सामाजिक उत्तरदायित्वका कार्यक्रममा लागेको बताए । कार्यक्रममा टेसा सचिव महेन्द्रबहादुर जिसी र प्रथम उपाध्यक्ष टीकाबहादुर लम्सालले पनि बोेलेका थिए ।
सो अवसरमा सहभागीले पोखरा ३१ पचभैयामा हालै सञ्चालनमा आएको हिमालयन फरेस्ट रिसोर्टको स्थलगत अवलोकनसँगै त्यहाँबाट प्रवाह भइरहेका सेवाबारे जानकारी दिइएको थियो । करिब १२ करोड लागतमा निर्मित उक्त रिसोर्टबाट लेखनाथका बेगनास ताल, रुपाताल, माछापुच्छ्रे सहितको हिमाली दृश्य एक साथ अवलोकन गर्न सकिन्छ । पर्यटकस्तरीय सुविधासम्पन्न २२ कोठाका साथै सभाहलसमेत रहेको रिसोर्टबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका साथै पोखराको रमणीय दृश्य पनि अवलोकन गर्न सकिन्छ ।
तपाईको प्रतिक्रिया