पोखरा महानगरको बिग्रदो चाला: एमालेको बहिष्कार, कांग्रेसको ताला

धनबहादुर गुरुङ २०८१ माघ ७ गते २०:४८


पोखरा । विधायन सभा तथा हिउँदे अधिवेशनका रुपमा रहेको पोखरा महानगरपालिकाको १६ औं नगर सभा पुस २८ देखि सुरु भयो । त्यो बेला केही कार्यविधि र ऐन संशोधनका लागि सभामा पेस भएका थिए । सभामा पेस भएका कार्यविधि तथा ऐनको संशोधन प्रस्तावउपर माघ ७ गते दफाबार छलफल गरेर पारित गर्ने भन्दै सभाध्यक्ष धनराज आचार्यले सभा स्थगित गरेका थिए ।

Advertisement

उक्त छलफलका लागि सोमबार दिउँसो १ बजे सबै नगर सभा सदस्यहरुलाई डाकिएको थियो । अन्तिम समयमा आएर २ बजेलाई सारियो । अध्यक्ष आचार्यले हलमा पसेर सभा सुरु गर्ने लाग्दा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले उठेर विरोध जनाए । सभाध्यक्ष आचार्यले पटकपटक बस्न अनुरोध गर्दा समेत नमानेपछि उनीहरुलाई बोल्ने समय उपलब्ध गराइयो ।

उनीहरुले विशेष नगरसभामा भएका सहमति अक्षरश पालना नगरिएको भन्दै विरोध जनाइरहे । अन्ततः उनीहरुले नगरसभा बहिष्कार गरे । केही समयपछि बैठक हलबाट बाहिरिए । कांग्रेस तर्फका जनप्रतिनिधिहरुले बहुमत पुगेको भन्दै बैठक चलाउन दबाब दिएका थिए ।

एमाले जनप्रतिनिधि बाहिरिएपछि सभाध्यक्ष आचार्यले दिउँसो सवा ४ बजेसम्मका लागि सभा स्थगित गरे । बाहिर भने उनीहरुले नाराबाजी गरिरहेका थिए । उनीहरुले विशेष नगर सभामा भएका ९ वटा निर्णय कार्यान्वयन हुनुपर्ने आफूहरुको मुख्य माग रहेको नेकपा एमाले पोखरा महानगर संसदीय दलका नेता राधिकाकुमारी शाहीले बताइन् । ॅती ९ वटा बुँदामा केही कुराहरु कार्यान्वयन हुँदै आएका छन् । तर, विभेदकारी भयो भन्ने कुरा छ,’ उनले भनिन्, ॅत्यसमा दरबन्दी नभएको कामकाजीका कर्मचारीलाई फिर्ता पठाउने भन्ने थियो । त्यसमा केही विभेद गरियो भन्ने कुरा आएको छ ।’

त्यस्तै करारका कर्मचारीलाई ओएनएम स्वीकृत भएर आएपछि बिदा गर्ने सहमति भए पनि केहीलाई चिठी काटिसकिएकाले न्यायपूर्ण नभएको नेता शाहीले बताइन् । ॅयस विषयमा गए सबै करारका कर्मचारी जानुपर्‍यो । नत्र लोकसेवा आयोगबाट आएपछि यहाँको कार्य सम्पादनलाई ध्यान दिएर क्रमिक रुपले पठाउनुपर्‍यो,’ उनले भनिन्, ॅती ९ बुँदामा मै गौरवका योजनाहरुलाई आर्थिक दायित्व सिर्जन हुने गरी नगर्ने, आर्थिक सहायता वितरण र वार्षिक विकास कार्यक्रमबाट स्वीकृत भएका वाहेकका कार्यक्रम वितरण नगर्ने, पदाधिकारी र कर्मचारी वैदेशिक भ्रमणमा जाने कार्यविधिक मापदण्ड बनाउनुपर्ने कार्यविधि ल्याउनुपर्छ भन्ने थियो । त्यो पनि आएन ।’

Advertisement

कार्यपालिकाले निर्णय गर्ने अनि कार्यपालिकाले अनुमोदन गरेर जाँदा आफूहरुलाई अप्ठेरो पर्ने भएकाले नगरसभामा सबै जानकारी हुनुपर्ने माग गरिएको नेता शाहीले बताइन् । ॅआन्तरिक लेखा प्रणालीमा हिजो भोला थापादेखि अहिलेसम्म ६ अर्ब ३ करोड बेरुजु भयो भन्ने छ त्यो बेरुजु कसको पालामा कुन विषयमा भएको भन्ने हामीलाई पनि जानकारी हुनुपर्‍यो भन्ने हो,’ उनले भनिन्, ॅजहिले पनि केही पनि छैन भन्ने ल्याउने अनि पछि निर्णय थपेर हामीलाई विवादमा पार्ने ? यी कुराहरु पहिल्यै आउनुपर्‍यो । नगरसभाबाट निर्णय भयो भनेर अनुमोदन गरी पछि समावेश गर्ने चलनको अन्त्य हुनुपर्छ भन्ने कुरा हो ।’

बेरुजु असुली प्रक्रियालाई अगाडि बढाउनका लागि कार्य सञ्चालन विधि बनाउनुपर्छ भन्ने पनि माग रहेको नेता शाहीले सुनाइन् । महानगरको गौरवको आयोजनाबाहेक अन्यको डिपिआर महानगरकै प्राविधिकले गर्नुपर्छ, महानगरको राजस्व उठ्न बाँकी ठाउँहरुमा राजस्व बक्यौता असुली कार्ययोजना, महानगरको चालु खर्चलाई नियन्त्रण गर्न खर्च मापदण्डको निर्देशिका पनि नगरसभामा पेस हुनुपर्ने उनीहरुको माग छ । ॅनगरसभाका सदस्य ज्यूहरुले हाम्रो सधैं ताली बजाउने मात्र काम भयो ।

कार्यपालिकाको निर्णय कहिले खारेज गर्ने, कहिले विशेष नगरसभा बोलाउनु परेको छ,’ उनले भनिन्, ॅत्यसैले हामी सुसूचित पनि हुनुपर्‍यो । अनि महानगरलाई सुशासनसहितको बनाउनुपर्‍यो । निर्णय पारदर्शी हुनुपर्‍यो । भन्ने माग हो । यी सबै आयो भने नगर सभा नगर्ने भन्ने छैन ।’

विरोधबीच सभाध्यक्ष आचार्यले सवा ४ मा सभा सुरु गरे । तर केही समयमा नै आचार्यले माघ १० गते २ बजेसम्मका लागि स्थगित गरेर पोखरा महोत्सवको समापनतिर हिँडे । मेयर आचार्यले आफूहरुलाई भ्रममा पारेर पटकपटक नगरसभा स्थगित गरेको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु आक्रोशित बने । मेयरलाई अप्ठेरोमा परेका बेला साथ दिँदा पनि आफूहरुलाई नजरअन्दाज गरेको आरोप लगाउँदै पोखरा महानगरपालिकामा तालाबन्दी गरेका छन् ।

उनीहरूले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका हुन् । बहुमत सदस्य उपस्थित हुँदा पनि मेयरले नगर सभा स्थगित गरेको विरोधमा उनीहरूले ताला लगाएका हुन् । ‘बहुमतको हस्ताक्षर हुँदाहुँदै नगर सभाको बहुमतलाई छलेर ‘डिप्लोमेटिक’ पाराले नगरसभा सञ्चालन गर्छु भनेर हामीलाई भ्रममा पारेर १० गते २ बजेसम्मका लागि स्थगित गरिएको छ । यसमा हाम्रो घोर आपत्ति छ,’ वडाध्यक्ष देवकृष्ण पराजुलीले भने, ‘विकासका काम गर्ने बेलामा वडा वडामा सम्पूर्ण काम ठप्प भएका छन् । केही समय अघि २ महिना एमालेका साथीहरुले आन्दोलन गरेर नगरसभा ठप्प बनाउनुभयो । त्यसले गर्दा पनि विकास निर्माणका काम ठप्प भएका भएका छन् । महानगरलाई सुशासन कायम गर्नका निम्ती तालाबन्दी गरेका छौं ।’

नेपाली कांग्रेस पोखरा महानगर संसदीय दलका नेता दिवसमान प्रधानांग नगरसभामा विरोध गर्नु भनेको महानगरमा आर्थिक भार पार्न र विकास निर्माणका काम हुन नदिने प्रपञ्च भएको बताउँछन् । ॅनगरसभा निरन्तर चल्नुपर्छ भनेर नगर प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई भन्दा सुरु हुने भान गराएर स्थगित गर्नु नै खेदजनक र आपत्तिजनक छ,’ उनले भने, ॅयो गलत क्रियाकलापको हामी घोर भ्रत्र्सना गर्छौं । हामी यस्तो काम हुन दिदैनौं । आज हामीले बाध्य भएर ताला लगाएका छौं । जबसम्म वडाध्यक्ष, वडासदस्य र सम्पूर्ण महानगरबासीलाई सामूहिक राखेर छलफल हुँदैन यो ताला खोलिदैन ।’

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया