स्वर्गवासी हजुरबाको फ्रेन्ड रिक्वेस्ट

महेश्वर आचार्य २०८१ माघ ८ गते १२:१४

हिन्दी सिरियल हेर्न मरिहत्ते गर्ने बहिनीको बानी मलाई मन परिरहेको थिएन । एक दिन रिसाएँ, ‘ह्या के हेरेको यो बेकारको कुरा ?’ त्यस्ता सिरियल हेर्नुभन्दा बरु राम्रा सिनेमा, संगीत, खेलकुद हेर्दा हुन्छ नि भन्ने मेरो मान्यता थियो । मेरो खण्डन गर्दै बहिनीले सिरियल नहेरे साथीहरूसँग दावँली नमिल्ने दुखेसो गरी ।

Advertisement


सबैले सिरियल हेरेका हुन्छन् र तिनले त्यसैको कुरा गर्दा आफू भने अक्क न बक्क परिने उसको कुरा ठिकै हो कि जस्तो पनि लाग्यो । सानो राम्रो भन्ने आहानले सबै कुरालाई लघु आकारमा ल्याइदिएको हामी सबैले देखेकै हौं । अहिले उ बेलाको जस्तो ढ्याब्रे टिभीको चलन छैन । टिभी पनि मोबाइल फोनमा अट्ने भइसक्यो । अनि हातैमा हुने मोबाइलमा टिभी मात्र होइन, संसारको सञ्जाल नै छ ।


जसरी बहिनीलाई सिरियल नहेरे साथीभाइमाझ ‘हाँसको झुन्डमा बकुल्ला’ भइएला भन्ने डर थियो, त्यसैगरी अहिले मानिसलाई सामाजिक सञ्जालका विभिन्न कित्तामा आफू नहुँदा सामाजिक वृत्तबाट बाहिरिएँ कि भन्ने डर देखिन्छ । त्यसैले पनि मान्छेहरूले विभिन्न एपमा आफ्ना खाता बनाएका हुँदा हुन् ।


दार्शनिक भन्छन्–मान्छे एकान्तसँग डराउँछ । त्यसैले मान्छेले सधैं साथ खोज्ने होला ! अनि अनेकथरी मान्छेले अनेकथरी सञ्जालमा आफ्नो खाता खोलेका होलान् । हाम्रै परिवारको कुरा गर्ने हो भने म एक्स (ट्वीटर) कम र फेसबुक बढी चलाउँछु । छोरी इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक, मेसेन्जर चलाउँछिन्; फेसबुकलाई खासै वास्ता गर्दिनन् ।


श्रीमतीजी फेसबुक र टिकटक चलाउनुहुन्छ । उहाँ आफ्नो कलाकारितालाई टिकटकमार्फत सार्वजनिक पनि गरिरहनुहुन्छ । छोराको उपर्युक्त उल्लिखित एपमा आफ्नै कुनै खाता नभए पनि यसको वा उसको मोबाइलमा यो वा त्यो हेरेर समय काट्छ । रोबल्क्स, माइनक्राफ्ट जस्ता भिडिओ गेम खेल्न उसको आफ्नै खाता भने छँदैछ । त्यहाँ ऊ आफ्ना साथीहरुसँग च्याट पनि गरिरहेकै हुन्छ ।

Advertisement

युवाको त कुरै रहेन, वृद्धा–वृद्धाका नाति–नातिनाले पनि आफ्ना हजुरबा, आमाको खाता खोलिदिएकै पाउँछु


यसरी सामाजिक सञ्जालमा विभिन्न प्रयोजनका लागि विभिन्न कित्तामा विभिन्न खाता हुनु अनौठो वा आश्चर्य होइन । नेपाली समाजमा अधिकांशमाझ लोकप्रिय सामाजिक सञ्जाल हो, फेसबुक । युवाहरूको त कुरै रहेन, वृद्धा–वृद्धाका नाति–नातिनाले पनि आफ्ना हजुरबा, आमाको खाता खोलिदिएकै पाउँछु ।


हालसालै मलाई केले आश्चर्य बनायो भने तीस वर्षअघि वैकुण्ठधाम प्रस्थान गरेका मेरा हजुरबाको नाममा उनको बहुप्रचलित र प्रसिद्ध फोटोसहितको फेसबुक खाता स्वीकार्ने प्रस्ताव आयो । म रनभुल्लमा परेँ । हजुरबाले वैकुण्ठबाटै खाता खोलेर पठाए त ! त्यसो त हुनै सक्दैन ।


पञ्चमहाभूतले बनेको शरीर हजुरबाले यहीँ बिसाएर गएकै हुन् । बाका कुनै नाति–नातिनाले उनको नाममा फेसबुक खाता बनाएका होलान् ? कसले बनायो, किन बनायो भन्ने कुरा कुनै पारिवारिक भेलामा स्पष्ट होला नै ! यसो विचार गरी ल्याउँदा जिउँदाहरूको फेसबुक खातालाई पनि त विचार्नुपर्ने स्थिति छ ! कसरी भन्नुहोला भने हालै एउटा साथीले बजारमा आएको नयाँ पुस्तकको आवरण तस्बिर बिदाका दिन फेसबुकमा हाले । दुई–चार दिनपछि चिया गफका बेला मित्रलाई त्यो पुस्तकबारे सोधेँ ।


‘त्यो त फेसबुकमा पो हालेको त सर … कहाँ पढेको हो र ?,’ भन्दै सेता दाँत देखाए । उनको हाँसो ’टम एन्ड जेरी’ को टम बिरालोले मुख च्यातेर सबै दाँत देखाउँदै ङिच्च हाँसेजस्तै भद्दा थियो । केही भनिनँ । भन्नु पनि के ? मनको कुरा मनमै रह्यो ।
उनको हँसाइमा ‘त्यति कुरा पनि नबुझ्ने के खालको मान्छे’ भन्ने भाव पाएँ । केही अघि अर्का एक मित्रसँग केही जानकारी बुझिमाग्न एक साँझ फोन गरेको थिएँ । उनले आफू साथीभाइसँग रमाइरहेको जानकारी दिँदै भने, ‘सर कति बाहिर मात्र स्यानिटाइजर लगाउनु भनेर यसो भित्री स्यानिटाइज गर्दैछु ।’


अन्यमनस्क हुँदै सोधेँ, ‘हैन तपाईंले मद्यपान त्यागियो भनेर घोषणा गर्नुभएको हैन र ?’‘सर पनि … फेसबुकमा पो छोड्या त,’ उनले हाँस्दै बोलेको सुनेँ । ‘ए,’ भनेँ । उनीसँगको वार्ता तुरिएपछि लाग्यो यो फेसबुके दुनियाँमा वास्तविकता देखिएजस्तो हुने रहेनछ । फेसबुके खाताहरू झुक्याउने झ्याङसरह रहेछन् । यस युगका मनुवाहरू ‘पेडाको खोल देखाएर पेडा खाएको धाक देखाउन’ फेसबुकमा झुम्मिएका हुन् कि भन्ने शंका प्रगाढ भयो ।


भूगोलका प्राध्यापक रामकुमार पाण्डेले आफ्नो अंग्रेजी पुस्तक ‘हिमालयन हाइट’ को निचोड खण्डमा पाँच प्रकारका मनुवाबारे लेखेका छन् । एक, जो गतिशील हुन्छन्; दुई, जसलाई गतिशील बनाउन सकिन्छ; तीन, जसलाई समाएरै हिँडाउनुपर्छ; चार, जसलाई घिर्सादा पनि हिँड्दैनन्; पाँच, जसले हिँडेकाहरूलाई पछिल्तिरबाट अंकुश लगाएर लडाउँछन् ।


सामाजिक सञ्जालको आतंक आउनुअघि पाण्डेले गरेको उक्त वर्गीकरणमा फेसबुकमा खिसिटियुरी गर्ने कुन प्रजातिका मनुवा हुन् खुट्याउन सजिलो नहोला भन्ने लाग्छ । हुन त सुकरात बाजेले उबेलामै ‘बलशाली दिमागले विचार विमर्श गर्छ, औसत दिमागले घटना विमर्श गर्छ, कमजोर दिमागले मानिसमाथि विमर्श गर्छ’ भन्ने उक्ति दिएका थिए ।


अब यो फेसबुक कुन दिमागी मनुवालाई बनेको होला भन्ने प्रश्न बरू यसका निर्माता जुकरबर्ग भाइलाई नै सोध्दा उपयुक्त होला कि ! यसो सोचिल्याउँदा लाग्छ, फेसबुक पनि आखिर बिजुली चौतारी न हो । चौतारीमा कसको गफ घतलाग्दो हुन्छ भनेर सुन्न गएझैं फेसबुकमा व्यक्तिको ओज र गाम्भीर्य हेरर साथी बन्नुपर्ने रहेछ ।


झन् अहिले त मान्छेहरूले फेसबुकलाई नै समाचार माध्यम ठान्दा रहेछन् । सेयरकास्ट नेपालले गरेको ‘नेपाल मिडिया सर्भे २०२४’ मा के देखिएछ भने १६ देखि २४ वर्षका युवा पुस्ता जो लेखापढा छन् र सहर बजारमा बस्छन्, तिनले सञ्चारमाध्यम भनेकै फेसबुक (१९.९ प्रतिशत) र युट्युब (१६.९ प्रतिशत) बुझ्दा रहेछन् ।


छापा माध्यम ओरालो लाग्दै जाँदा मोबाइल हुँदी हेर्ने डिजिटल माध्यमको प्रयोग भने बढ्दो देखाएको उक्त सर्वेक्षणले ४६.८ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने र तिनले मोबाइल वा कम्प्युटरमा समाचार हेर्ने गर्दा रहेछन् । सातै प्रदेशका ३ हजार नेपालीलाई सोधेर गरिएको उक्त सर्वेक्षणले १६ देखि २४ वर्ष उमेरका सहरी युवामा ६२ प्रतिशत फेसबुकमा र ४४ प्रतिशत युट्युबमा रत्तिएको देखाएछ । तीमध्ये ८२.६ प्रतिशतले समाचारका लागि फेसबुक र ५१.५ प्रतिशतले युट्युब हेर्दा रहेछन् ।


फेसबुक आफैंमा मिडिया होइन, यो त मिडियाको समाचार र सामग्री बोकिदिने हुलाकीमात्र हो । तैपनि धेरैले त्यसमै लेखिएका कुरालाई समाचार ठान्दा रहेछन् । सञ्चार संस्थाले आफ्ना समाचार फैल्याउन फेसबुकको उपयोग गर्दै जाँदा पनि मान्छेले ‘समाचार कहाँ आउँछ’ भन्दा फेसबुकमा भन्ने बुझेका होलान् । हाम्रो पालाको रेडियो नेपालको सात बजेको समाचार त लोककथा भइगयो ।


गाँठी कुरा के हो भने मिडियाले लाइक र भ्युजमार्फत ‘राजस्व असुल्ने’ हुँदा मिडियामा आएका सबै कुरा हामीलाई उपयोगी नहुन सक्छ भन्ने बुझ्न पनि मलाई विज्ञसँग सत्संग गर्नुपर्यो। त्यसैले फेसबुकमा आयो भन्दैमा त्यसैमा फस्न नहुने रहेछ। के आयो ? कल्ले ल्यायो भनेर कौवा दिमाग लगाउनुपर्दो रहेछ ।


मिडियाहरूका सामग्रीमाथि नै प्रश्न गर्नुपर्ने बेला विभिन्न आग्रह, पूर्वाग्रह राख्ने व्यक्तिले फेसबुकमा लेखेको कुरालाई समाचार बुझियो भने के गति होला ? नत्र त मरेका हजुरबाको फेसबुक खाताबाट मलाई आएको अनुरोधले पारेको जस्तै रनभुल्ल हुन्छ ।

तपाईको प्रतिक्रिया