सरकारको खर्च निराशाजनक

समाधान संवाददाता २०८१ माघ ८ गते १३:३२

पोखरा ।
आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनाको अवधिमा कास्कीमा खर्चको तुलनामा राजस्व निकै कम उठेको छ । कास्कीमा वार्षिक रुपमा ३७ दशमलव ४३ अर्ब संघीय बजेट आउने गरेकोमा संघीय इकाइ अन्तर्गत पुँजीगत खर्च १६ दशमलव ९८ प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय कास्कीका प्रमुख रमेश अर्यालले जानकारी दिए ।

Advertisement


जिल्ला समन्वय समिति कास्कीले विकास प्रशासनतर्फका कार्यालयको चालु आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा गोष्ठीमा प्रमुख अर्यालले कास्कीबाट मात्र ३ दशमलव शून्य ४ अर्ब राजस्व उठेको बताए । कास्कीमा चालुतर्फ २५ दशमलव ८९ अर्ब बजेट रहेकोमा चालु खर्च १० दशमलव ५१ खर्ब रहेको छ ।


पुँजीगत बजेट ११ दशमलव ५४ अर्ब रहेकोमा १ दशमलब ९६ अर्ब पुँजीगत खर्च भएको उनले उल्लेख गरे । चालुतर्फ ४० दशमलव ५९ प्रतिशत खर्च भएको उनले जानकारी दिए । अर्यालले ५ रुपैयाँको बजेट भएकोमा १५ रुपैयाँको योजना बाँडिएको टिप्पणी गरे ।


कार्यक्रममा प्रदेश कोष नियन्त्रक सुरेश सुवेदीले गण्डकी प्रदेश सरकारको पुँजीगत खर्च १६ प्रतिशत रहेको बताए । कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका १६ कार्यालयले सञ्चालित योजनाको अहिले योजनाको प्रगतिको अवस्था पेश गरेको जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।

कास्कीमा संघीय बजेट साढे ३७ अर्ब रहेकोमा ६ महिनामा पुँजीगत खर्च १६ दशमलव ९८ प्रतिशतमात्र भएको छ

Advertisement


पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख सिनियर डिभिजन इन्जिनियर सोभियत खड्काले पहिलो ६ महिनाको अवधिमा पूर्वाधार विकासतर्फ २५ प्रतिशत खर्च भएको बताए । पुँजीगततर्फ यो आर्थिक वर्षमा १ अर्ब ७६ करोड ९४ लाख बजेट विनियोजन भएको जानकारी दिदै उनले ६ महिनामा ४३ करोड ७६ लाख ६८ हजार रुपैयाँ खर्च भएको उल्लेख गरे ।


उनले कास्कीमा बहुवर्षीय क्रमागत आयोजना ४२ मध्ये ३ वटा सम्पन्न भएको बताए । उनले सडक पुल १० मध्ये ८ कार्यान्वयनमा गएको २ वटाका् स्रोत सुनिश्चितताको प्रक्रियामा रहेको जनाए । उनले ३ झोलुंगे पुलको स्रोत सुनिश्चितताको प्रक्रियामा रहेको उल्लेख गरे । उनले कास्कीमा समस्याग्रस्त र रुग्ण आयोजना समेत रहेको बताए ।


जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले समीक्षामा बजेटको अभावमा बहुवर्षिय योजना सम्पन्न हुने अवस्थामा रहेको पाइएको बताए । उनले बहुवर्षिय योजना सुरु गर्नुभन्दा अगाडि चालु र निर्माणाधीन योजना सम्पन्न गर्नुपर्ने जनाए । सार्वजनिक खर्च नतिजा र उत्पादनमुखी हुनुपर्ने उल्लेख गर्दै उनले आपतकालीन अवस्था र विपद्बाट क्षति भएका योजनाको तत्काल मर्मत गर्ने बजेटको व्यवस्था गर्न माग गरे ।


कार्यक्रममा खानेपानी तथा ढल निकास आयोजना पोखरा, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय कास्की, पुष्पलाल मध्य पहाडी सडक आयोजना, मुग्लिङ पोखरा सडक योजना पश्चिम खण्ड, नेपाल टेलिकम, माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका लगायतका कार्यालयले चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति विवरण पेस गरेका थिए ।


जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता माल, रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङ, माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी लगायतले कास्कीको विकास, निर्माणबारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया